८ वैशाख २०८१ शनिबार
शिक्षा

करिअर तथा व्यक्तित्व बनाउन ए लेभल

ब्रिटिस काउन्सिलले शुक्रबार काठमाडौंमा गरेकाे कार्यक्रममा सम्मानित भएका ए लेभल उत्कृष्ट विद्यार्थी लगायत।तस्विर : नागरिक

काठमाडौं - शुक्रबार ब्रिटिस काउन्सिलले आयोजना गरेको ए लेभल उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा भेटिएका सर्वोत्कृष्ट विद्यार्थीहरूले क्याम्ब्रिजको ए लेभललाई करिअर र व्यक्तित्व निर्माण गर्ने विषयकारूपमा बुझेका छन्।

उनीहरूले एलेभल अध्ययनकै क्रममा आफ्नो करिअर कसरी बनाउनेभन्ने स्पस्ट भइसक्ने बताए।क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत सन् २०१७को जुन र नोभेम्बर महिनामा सञ्चालित क्याम्ब्रिज इन्टरनेसनल परीक्षामा नेपालका ३८ विद्यार्थीले उत्कृष्टक्याम्ब्रिज अवार्ड जितेका छन् । सो परीक्षामा नेपालका चार विद्यार्थीले विश्वभरमै शीर्ष स्थान हासिल गरी सम्मानित भए।

चार शीर्ष स्थानमा नेपाली विद्यार्थीले अंग्रेजी भाषा, साहित्य, गणित र अन्तर्राष्ट्रिय जेनरल पेपरमा सर्वोत्कृष्टता प्रदर्शन गरी सम्मानित भएका हुन् । २९ विद्यार्थीले नेपालभरि शीर्ष स्थान हासिल गरेका छन् भने १० विद्यार्थीले उच्च उपलब्धि पुरस्कार हासिल गरेका छन् । यसैगरी ३ विद्यार्थीले क्याम्ब्रिज इन्टरनेसनको ‘ए’लेभलको सर्वोत्कृष्ट ३ मा र ‘एएस’ लेभलको सर्वोत्कृष्ट ४ मा स्थान हासिल गर्न सफल भएका हुन् ।

स्वदेशमै सूचना तथा प्रविधि क्षेत्रमा काम गर्नेछु
शशांक सिलवाल

रातो बंगलामा एएस लेभलमा अध्ययन गरिरहेका शशांक सिलवाल क्याम्ब्रिज एसएस लेभलको जुन २०१७ मा लिइएको गणित विषयको परीक्षामा विश्वभरिबाटै शीर्ष स्थान हासिल गरी सर्वोत्कृष्ट भएका छन् । उनी गणित विषयलाई निकैनै अप्ठ्यारो मान्नेले यो विषयलाई रमाइलो गरी अध्ययन गर्दा सहज हुने सुझाउँछन्।

‘मैले गणितलाई कहिल्यै बोझ र अप्ठ्यारो विषयकारूपमा लिइनँ,’१८ वर्षीय शशांक भन्छन्, ‘गणितलाई पजलकारूपमा लिएर अंक मिलाएर रमाइलो गरी अध्ययन गर्दा निकै सजिलो विषय बन्छ ।’उनले थपे, ‘एलेभल अध्ययन गर्दा पहिलो वर्षमै विद्यार्थीहरू आफू कुन विषय र कहाँ पढ्ने अर्थात् आफ्नो करिअरका बारेमा प्रस्ट हुन्छन्।’

कोटेश्वरका शशांकले कक्षा ४ सम्मको शिक्षा धापाखेलस्थित जेम्स स्कुलबाट हासिल गरेका हुन् भने कक्षा ५देखि कक्षा १०सम्मको शिक्षा बुढानीलकन्ठ स्कुलबाट पूरा गरेका हुन् । सानैदेखि अध्ययनशील उनको मनपर्ने विषयनै गणित रहेको उनी बताउँछन् ।  उनले ए लेभल अध्ययनबाट विद्यार्थीमा विभिन्न शैक्षिक स्रोत खोजेर अध्ययन गर्ने बानी विकास गर्ने आफ्नो अनुभव सुनाए । ‘ए लेभल अध्ययनले रटन्ते पढाइको प्रवृत्तिलाई निरुत्साहित गर्छ,’ उनले प्रस्ट्याए।

अमेरिकाको विश्वविद्यालयमा छात्रवृत्तिमा उच्च शिक्षाका लागि प्रयास गरिरहेका उनले अध्यनपछि स्वदेशमै आइटी क्षेत्रमा काम गर्ने बताउँछन् । ‘नेपालमा भएको आइटी पार्कले कुनै नयाँसोचका साथ काम गर्न सकेको छैन,’कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य लिएका उनी भन्छन्, ‘विदेशमा हासिल गरेको ज्ञान र सीप स्वदेशकै सूचना तथा प्रविधि क्षेत्रमा लगाउने मेरो योजना छ ।’
छोरोकै रुचिअनुसार अघि बढे
शशांकका बुवा शंकर सिलवाल हाल धनगढीमा कार्यरत नेपाल प्रहरीका सिभिल इन्जिनियर हुन् भने आमा सरला सिलवाल गृहिणी । सरला शिक्षण पेसामा संलग्न थिइन् । तर, छोराको अध्ययनको वातावरण मिलाउनकै लागि जागिर छाडेर गृहिणी भइन्।

श्रीमान् प्रहरीमा जागिरको सिलसिलामा विभिन्न जिल्ला हिँड्नुपर्ने र बच्चालाई घरमा एक्लै छाडे कुबाटोमा लाग्ने त्रासले उनी ११ वर्षको शिक्षण पेसा छाडेर छोरालाई अध्ययनमा सघाउन थालिन् । दुई छोराकी आमा सरला भन्छिन्, ‘असल पारिवारिक वातावरण र आफ्नो लगनशीलाताले बाबु सर्वोत्कृष्ट भएकाहुन् । म यसैमा गर्व महसुस गरिरहेकी छु।’

आमा सरलामात्र होइनन्, बुवा शंकर पनि छोराकै रुचिअनुसार उसको अध्ययनमा साथ दिएको खुसीसाथ सुनाउँछन् । छोराले सानैदेखि विदेशमा उच्च शिक्षा हासिल गर्ने सोचरहेको सुनाइरहन्थ्यो,’ बुवा शंकरले नागरिकसँग भने, ‘एलेभल क्याम्ब्रिज कोर्स भएकाले बाबुलाई विदेशमा उच्च शिक्षा हासिल गर्न सहज हुने भनेर साथ दिए।’एलेभलले बच्चामासिर्जनात्मक क्षमताको विकास गर्ने बाबु शंकरको बुझाइ छ । उनले भने, ‘बाबुका लागि अध्ययनको स्रोत इन्टरनेटबन्यो र उनमा खोजीखोजी अध्ययन गर्ने बानी बस्यो ।’

उच्च शिक्षा हासिंल गर्न सहज
विश्रुत भट्टराई

चेल्सी इन्टरनेसनल एकेडेमीका विश्रुत भट्टराई एएस लेभलमा अंग्रेजी भाषामा विश्वमै सर्वोत्कृट भएका हुन् । १९ वर्षीय विश्रुत कक्षा ३ सम्म नेपालमा अध्ययन गरेपनि कक्षा ४–१० सम्मको अध्ययन अस्ट्रेलियामा पूरा गरेका हुन् । आमा डा. व्यञ्जना शर्माले विद्यावारिधिकालागि १० वर्षअघि अस्ट्रेलिया जाँदा छोरा विश्रुतलाईपनि लिएर गइन्। र, विश्रुतले कक्षा १०सम्मको पढाइ अस्ट्रेलियामै पूरा गरे।

कक्षा १० पास भएपछि नेपाल आउँदा विदेशी पाठ्यक्रमसँग मिल्ने विषयवस्तु ए लेभलमा नै भएकाले उनले यो शिक्षा छनोट गरेका हुन् । ‘एलेभल अध्ययन गर्दागर्दै विदेशी विश्वविद्यालयमा उच्च शिक्षाको राम्रो अवसर हुन्छ,’विश्रुतले नागरिकसँग भने, ‘मैले एसएस लेभल पूरा गर्दानै अमेरिकाको युनिभर्सिटी अफ टेक्सस एटटेलरमा पूर्ण छात्रवृत्तिमै कम्प्युटर साइन्स अध्ययनका लागि अवसरसमेत प्राप्त गरिसकेको छु ।’उनी थप्छन्, ‘एलेभलले विद्यार्थीलाई अध्ययन गरेका विषयवस्तु बुझेर व्यवहारमा उतार्न सिकाउँछ। त्यसैले यसको अध्ययनपछि विद्यार्थीको व्यक्तित्व विकसितहुन्छ।’

एलेभलमा २ वर्षको अध्ययन अवधिसम्म विद्यार्थीमा विषयवस्तुमाथि आलोचनात्मक र विश्लेषनात्मक सोचको विकास गर्छ । उनले आजको युगनै प्रविधिको भए पनि यसमा नेपाल निकै पछाडि रहेकाले नेपालमै आफ्नो ज्ञान प्रयोग गरी प्रविधि क्षेत्रमा  क्रान्ति ल्याउने बताए । हाल उनको अमेरिकामा कम्प्युटर साइन्स अध्ययन गर्ने योजना छ ।

उनले एलेभल अध्ययनमा किताबी ज्ञानले मात्र नपुग्ने बताउँदै विभिन्न विषयमा ज्ञानका लागि अनुसन्धानसमेत गर्नुपर्ने जनाए । ‘अध्ययनक्रममा मैले बुझें कि मेरो मनपर्ने विषय अर्थशास्त्र हो ,’उनले भने, ‘त्यो विषयवस्तु मैले कक्षामा मात्र बुझिनँ । त्यसका लागि अर्थ समाचार तथा बिबिसी समाचार हेर्नैपर्छ ।’

बच्चालाईपढाइको तनाव नदिऊ
विश्रुतकी आमा डा. व्यञ्जना शर्मा पेसाले अध्यापन गर्छिन् । उनले छोराले विदेशमै उच्च शिक्षा हासिल गर्नेबारे पहिल्यै थाहा पाएकाले समय खेर नफाली विदेशी विश्वविद्यालयमा सहज अध्ययनका लागि एलेभेल पढाएको सुनाइन् ।

उनले बच्चालाई दबाब होइन, तनावमुक्तवातावरणमा पठनपाठन गराउन हरेक आमाबुवालाई आग्रह गरिन् ।‘आफ्नैै रुचिका आधारमा विषय पढ्न दिए बच्चाहरू सफल हुन्छन्,’व्यञ्जनाले भनिन्, ‘बरू उनीहरूले बनाएको रुटिङअनुसार आमाबुवाले समय मिलाएर सहयोग गर्नुपर्छ।

’उनले सुझाइन्, ‘तनावमा नभएर स्वतन्त्र भएर अध्ययन गर्ने चाँजोपाँजो मिलाउने काम अभिभावकको हो ।’उनले एलेभलले विषयवस्तु बुझ्न र व्यवहारमा उतार्नसिकाउने भएकाले नानीहरूको व्यक्तित्व विकास हुने उनको अनुभव छ । ‘नेपाली पाठ्यक्रम शिक्षक केन्द्रित छ,’ उनले भनिन्, ‘तर एलेभल कोर्स प्रोजेक्ट कार्यमा आधारित भएकाले बच्चालाई विषयवस्तुबारे गहिरो ज्ञान दिन्छ।’
वैज्ञानिक बन्न एलेभल
सिमेल आङ्देम्बे लिम्बु
काष्ठमण्डप एलेभल एकेडमीबाट जेनलर पेपरमा सर्वोत्कृष्ट स्थान हासिल गरेका सिमेल वैज्ञानिक बन्न ए लेभल अध्ययन गरेको सुनाउँछन् । वैज्ञानिकका रूपमा नेपालमै विकास गर्ने लक्ष्य लिएका उनी अमेरिकाको विश्वविद्यालयमा अध्ययन गरी आफ्नोसीप स्वदेशमै उपयोग गर्ने योजनामा छन् ।सिमेलले जेनलर पेपरका साथै भौतिकशास्त्र र जीवविज्ञानमा समेत नेपालबाटै उत्कृष्ट स्थान हासिल गरेका हुन्।

कक्षा ७ मा मात्र देवनागिरी लिपि चिनेका उनले कक्षा ८ मा जिल्लास्तरीय परीक्षामा ७३ प्रतिशत अंक ल्याएर सबैलाई चकित पारे । बुवा सिंगापुर प्रहरीमा कार्यरत रहेकाले उनको कक्षा ६ सम्मको शिक्षा उतै पूरा भएको हो।नेपाली भाषा बोल्नमात्र जान्ने तर लेख्न र त्यसलाई बुझ्न उनलाई निकै कठिन थियो । तर, उनी  कक्षा ७मा भर्ना भएकै बखत राम्ररी कखग बुझ्न थाले । त्यही भएर कक्षा १०मा पनि उनले उत्कृष्ट स्थान हासिल गर्न सफल  भए।

सिंगापुरमै प्राथमिक शिक्षा हासिल गरेका उनलाई सुरुमा कक्षाकोठामा किताबमात्र पढ्दा नियास्रो लाथ्यो ।‘सिंगापुरमा कक्षा १देखि नै हामीले ल्याब वर्क बढी गर्नुपथ्र्यो,’सिमेलले नागरिकसँग भने, ‘कक्षा ७ को आधी पढाइ पनि मैले सिंगापुरमा गरिसकेको थिएँ । तर, त्यही पढाइ नेपालमा गर्दा मलाई विषयवस्तु सिक्ने मौकानै नपाएको जस्तो महसुस भयो ।’उनले थपे, ‘तर, एलेभल पढ्दा ६० प्रतिशत कोर्स व्यवहारिक र प्रोजेक्ट वर्कमै आधारित भएकाले विद्यार्थीलाई अध्ययनशील र राम्रो लर्नर बनाउँछ।

’काष्ठमण्डप ए लेभल एकेडेमीमा प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएर पूर्ण छात्रवृत्तिमै एलेभल अधययन गरिरहेका सिमेलले कुनै पनि विद्यार्थीले परीक्षाका लागि नभएर सिक्ने उद्देश्यले पढ्नुपर्ने सुझाए ।उनले भने, ‘एलेभलमा रटेर काम लाग्दैन किनकि नेपालको जस्तो ओल्ड इन गोल्ड पाइँदैन । हरेक वर्ष प्रश्नपत्र फरक हुन्छ।’


भविष्य निर्माण गर्ने विषय
सिमेलका बुवा देवीप्रसाद आङ्देम्बे सिंगापुर प्रहरीका अवकासप्राप्त कर्मचारी हुन्  । सिंगापुर प्रहरीको पल्टन नम्बर १४५६७का कर्मचारी रहेका उनी छोराको भविष्य निर्माण गर्ने विषयकारूपमा एलेभललाई लिएका छन् । उनलाई छोराले कक्षा १० उतीर्ण गरेपछि कुन विषय र कहाँ पढाउने भन्ने निश्चित गर्न मुस्किल थियो ।

‘तर, जब मैले छोरालाई एलेभलका लागि काष्ठमण्डप ए लेभल एकेडमीमा भर्ना गरे तब उनले आफ्नो भविष्य आफै खोज्ने भए,’उनले ढुक्क हँुदै भने, ‘एएस तहमा पढिरहँदै छोरालेवैज्ञानिक बन्ने निश्चत गरेको छ ।’उनले थपे, ‘मलाई पनि सहज भयो।

अब छोराको पाइलामा साथ दिनेछु ।’आमा सम्झना भने प्लसटुपछि गृहिणीको जीवन बिताइरहेकी छिन् । उनले छोरालाई परीक्षाका लागि भन्दा पनि रमाइलो गरी बुझेरै पढ्ने शिक्षा लिन सघाइरहेकी छिन् । ‘छोरालाई परीक्षाका लागि पढेको कहिल्यै देखेकी छैन,’उनले भनिन्, ‘छोरो सिक्नमै रमाइलो मान्छ ।’
विश्लेषणात्मक क्षमता विकास गर्न एलेभल
सौदामिनी सिग्देल

बालुवाटारकी सौदामिनी एएस लेभलमा अंग्रेजी भाषा तथा साहित्यतर्फ सर्वोत्कृष्ट स्थान हासिल गरेकीछिन् । रातो बंगलाबाट कक्षा १० पास गरेकी उनी एलेभलमा रातोबंगलाबाटै एएस लेभलमा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएकी हुन् । उनी विद्यालयमा भयरहित वातावरणमा पठनपाठन हुने भएकाले अध्ययनमा राम्रो गरेकी सुनाइन् । ए लेभलमा विज्ञान,मानविकी,अर्थशास्त्र, व्यवस्थापनलगायत बहुआयामिक कोर्स अध्ययन गराइने भएकाले अध्ययनपछि विद्यार्थीलाई बहुआयामिक बनाउने अनुभव सुनाइन्।

‘एलेभलमा हाम्रो नेपाली पाठ्यक्रमजस्तो एउटैमात्र विषय हुँदैन, त्यहाँ सबै विषयवस्तुको प्राक्टिकल अध्ययन गराइन्छ,’ सौदामिनीले भनिन्, ‘विद्यार्थीलाई शिक्षकले नोट लेखाउँदैनन् बरू अध्ययनका विभिन्न स्रोत प्रयोग गरी विश्लेषणात्मक तरिकाले प्रोजेक्ट वर्क तयार पार्न लगाउँछन् ।’उनले थपिन्, ‘यसले विद्यार्थीमासिर्जनात्मक क्षमताको विकास गराउँछ।’

बेलायती विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरी नेपालमै सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्य लिएकीउनले एलेभलको पहिलो वर्षमै करिअर छनोट गर्न सहयोग पुगेको बताइन् । ‘आर्ट्सलाई अभिभावकले नकरात्मक ढंगले हेर्ने परम्परामा परिवर्तन गर्नुपर्छ,’ १९ वर्षीया सौदामिनिले सुझाइन्, ‘छोराछोरीको रुचिअनुसार पढाइने विषय ए लेभलमा पाइन्छ । छनोटको अवसर धेरै भएकाले पनि यसलाई भविष्य निर्माण र व्यक्तित्व बनाउने विषय मान्न सकिन्छ ।’
अन्य विषयमा पनि भविष्य राम्रो छ
आमा डा. वन्दना सत्याल
सौदामिनीकी आमा डा.वन्दना सत्याल पेसाले प्याथोलोजिस्ट हुन् । एक छोरा र एक छोरीकी आमा वन्दनाले छोरीलाई सानैदेखि घरमा स्वतन्त्र रूपमा अध्ययन गर्ने वातावरण मिलाइदिएकै कारण सौदामिनीको अध्ययन पनि राम्रो हुँदै गएको हो।

उनी पेसाले डाक्टर भएपनि छोरीलाई विषय छनोटमा कुनै दबाब दिइनन् । छोरीकै रुचिअनुसार भाषा तथा साहित्य पढ्न उत्प्रेरित गरिन् । ‘सानैदेखि छोरीलाई विदेशी लेखकको पुस्तक अध्ययन गर्न निकै रुचि भएकाले अस्पतालको जागिर सकिनासाथ छोरीसँगै किताब पसलमा पस्थें,’डा. वन्दनाले विगत सम्झिइन्, ‘उमेर सानै भए पनि छोरीले ठूला लेखकको कथा,उपन्यास किन्न भन्थिन् । मैले किनिदिन्थें ।’उनले थपिन्, ‘आज त्यही ज्ञानले छोरीलाई पठनपाठनमा राम्रो गर्न सहयोग गरेको हो।

’ उनले घरमा आमा शिक्षित भएमात्र सन्तानले राम्रो अनुशासन ,आचरण र व्यवहार सिक्न सक्ने अवगत गराउँदै सरकारले छात्रा शिक्षामा जोड दिनुपर्ने सुझाइन् । ‘आमाबाबुको गर्व नै छोराछोरीहुन्,’ वन्दनाले भनिन्, ‘डाक्टरको सन्तान डाक्टर नै बन्नुपर्ने जरुरी छैन । आफ्नो बच्चालाई अरूसँग त कहिल्यै तुलना गर्नु हुँदैन । यसले नकरात्मक असर पार्छ।’

उनले एलेभलले छोरीलाई बहुविषयबारे जानकार बनाएको सुनाइन् ।कार्यक्रममा क्याम्ब्रिज इन्टरनेसनलको दक्षिण एसिया क्षेत्र हेर्ने निर्देशक रुचिरा घोषले नेपालमा विद्यार्थीले सिकाइप्रति देखाएको इच्छा  र लक्ष्य प्राप्तितर्फको उनीहरूको अग्रसरता देखेर आफू उत्साहित भएको जनाइन्।

‘शिक्षकको अथक प्रयास, लगन र विद्यार्थीका घरपरिवारको निरन्तर सहयोगबिना क्याम्ब्रिज परीक्षामा यस्तो उत्कृष्ट नतिजा हासिल गर्न सक्दैनथ्यौं,’निर्दैशक घोषले भनिन्, ‘हामी उत्कृष्ट विद्यार्थीलाई बधाई दिन्छौं । उज्जवल भविष्यका लागि शुभकामना दिन्छौं।’

ब्रिटिस काउन्सिल नेपालको परीक्षा हेर्ने कन्ट्री एक्जाम्स म्यानेजर जिमओनेलले यस वर्ष प्राप्त सफलताको श्रेय विद्यार्थी,अभिभावक,स्कुल र शिक्षकलाई दिँदै स्वास्थ्य शिक्षा क्षेत्रमा स्थानीय र विदेशी दुवै पाठ्यक्रममा आधारित शिक्षा प्रदान गर्ने अवसर शैक्षिक संस्थालाई रहेको जनाए ।साथै उनले विद्यार्थीलाई पनि अध्ययन विकल्प  छनोटका लागि  पनि पर्याप्त अवसर रहेको जनाए । ‘ब्रिटिस काउन्सिलले नेपालमा आफनो ६० औं वर्ष पूरा गर्दैछ,’उनले भने, ‘सधैंझैं बेलायतकै विशिष्ट शैक्षिक योग्यताको ढोका खोल्ने हाम्रो स्पस्ट प्रमुख कार्य रहनेछ ।’

उत्कृष्ट हुने पाँच उपाय
परीक्षाको लागि होइन सिक्नको लागि अध्ययन गर्नू पर्छ ।
किताब र शिक्षकमा मात्र भर नपरौं, विषयबस्तुको ज्ञानकालागि सम्बन्धित विषयमा अनुसन्धान गर्ने बानी बसालौं ।
समाचार तथा पत्रपत्रिका पढ्ने बानी बसालौं।
बोझका रूपमा होइन, रमाइलो गरी अध्ययन गर्ने बानी बसालौं
रुटिङ बनाएर अध्ययन गरौं।

क्याम्ब्रिज एसेस्मेन्ट इन्टरनेसनल एजुकेसनले क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय शिक्षा मूल्यांकन प्रणाली÷पद्धतिको रूपमा कार्य गर्छ .।  हामी विद्यालय अध्ययन गर्ने विद्यार्थीलाई जीवनका अवसर प्राप्त गर्न र चुनौतीहरूको सामना गर्न तयार गर्दछौं .।  यसका लागि हामी उनीहरूलाई सुसूचित उत्सुकता र सिकाइप्रतिको अनन्त लगावको विकासमा सहयोग गर्दछौं .। हामी क्याम्ब्रिज विश्वविद्यालयकै एक अंग हौं।

हाम्रो क्याम्ब्रिज पदमार्गले ५ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई शैक्षिक प्रगति एवं सफलताका लागि स्पस्ट मार्ग प्रदान गर्छ । विद्यालय आफ्नो विद्यार्थीको सिकाइलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा पाठ्यक्रमको स्वरूप निर्धारण गर्न स्वतन्त्र हुन्छन् – यसका लागि विविध विधाका विषय र त्यसको सिकाइका लागि लचकदार तरिकाहरू विद्यार्थीलाई प्रदान गर्न सक्छन् ।

यसले विद्यार्थीलाई नयाँ सक्षमता एवं वृहत्तर विश्वको खोजी गर्न सहयोग गर्छ ।.उनीहरूको जीवनमा आवश्यक पर्ने सीप विकास गर्छ । यसबाट उनीहरूलाई विद्यालय, विश्वविद्यालय र पेसागत कार्यमा उपलब्धि हासिल गर्न सहज हुनेछ . । क्याम्ब्रिज एसेस्मेन्ट इन्टरनेसनल एजुकेसनको संक्षिप्त नाम क्याम्ब्रिज इन्टरनेसनल हो।

प्रकाशित: २८ चैत्र २०७४ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App