६ वैशाख २०८१ बिहीबार
राजनीति

कर्णाली प्रदेश : उधारोमा मन्त्रालय सञ्चालन

सुर्खेत– अख्तियार प्राप्त सचिव समयमै नआउँदा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय विगत चार महिनादेखि उधारोमा चलिरहेको छ। सचिव गिरिजा शर्मा नआउँदा दैनिक कार्य सञ्चालन, मन्त्रालय व्यवस्थापनलगायतका कामहरु उधारोमा गर्नुपर्ने बाध्यता मन्त्रालयसँग छ।

कर्मचारीहरुले तलव सरुवा भएर आएकै ठाउँबाट खाइरहेका छन्। ‘अख्तियार प्राप्त कार्यालय प्रमुख नआउँदा मन्त्रालयलाई आवश्यक पर्ने टेबुल, कुर्सीदेखि कम्प्युटर सामाग्रीसम्म उधारोमा ल्याएर चलाइरहेका छौं’ लेखा अधिकृत कुमारप्रसाद उपाध्यायले भने, ‘बजारमा अहिलेसम्म आठ–नौं लाख रुपियाँ उधारो पुगिसक्यो।’

संघीय सरकारको अर्थ मन्त्रालयले प्रदेशका सबै मन्त्रालयहरुलाई पाँच–पाँच करोड रुपियाँ अख्तियारीसहित पठाएको छ। कर्णाली प्रदेशमा रहेका अन्य मन्त्रालयले चालू र पुँजीगत गरेर डेढ करोड रुपियाँबढी खर्च गरिसक्दा अख्तियार प्राप्त अधिकारी (सचिव) समयमै नआउँदा सामाजिक विकास मन्त्रालयले एक रुपियाँ पनि खर्च गर्न पाएको छैन्।
‘यहाँ कार्यरत स्थानीय कर्मचारी भएकाले हामीलाई सजलो भएको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘चिनेजानेका आधारमा उधारोमा सामान ल्याएर मन्त्रालय चलाइरहेका छौं।’ 

परराष्ट्र सेवामा कार्यरत शर्मालाई स्थानीय विकास मन्त्रालयले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा सरुवा गरेर पठाएको थियो। उनी एक साताअघि सुर्खेत आएर पाँच दिन मन्त्रालयमा हाजिर भएर फेरि काठमाडौं फर्केकी छन्। मन्त्रालयका सहसचिव भक्त ढकालले शिक्षा र स्वास्थ्य मन्त्रालयले बोलाएकाले सचिव शर्मा र सामाजिक विकास मन्त्री दल रावल काठमाडौं गएको बताए।

प्रकाशित: २७ चैत्र २०७४ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App