७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसद साहले गरे एकै दिन एघार योजनाको शिलान्यास

रौतहट-रौतहट क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री प्रभु साहले एकै दिनमा एघार योजनाको शिलान्यास गरेका छन्। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय पर्साद्वारा निर्माणको चरणमा पुगेका १ अर्ब १२ करोड ८७ लाख ९ हजार तीस रुपैयाँ ९८ पैसाका एघार वटा योजनाको सांसद साहले शिलान्यास गरेका हुन्।

विकास निर्माण तथा मानवीय सूचकांकमा देशकै सबैभन्दा पछि परेको रौतहटको विभिन्न चार नगरपालिकामा भौतिक पूर्वाधारसम्बन्धी विभिन्न योजना बन्दैछन्। सांसद साहले मौलापुर नगरपालिकामा मालपोत र नापी कार्यालयको भवन निर्माण, बस पार्क, सहिद स्मृति प्रतिष्ठान, बहुउदेश्यीय सभा हल, बजार पूर्वाधार तथा नाला निर्माण, मौलापुर पार्क निर्माणका साथै मौलापुर–गम्हरिया–पतौरा–शीतलपुर जोड्ने सडक, पथराबुधराम–सगैया सडकको शिलान्यास गरेका छन्। यसै गरी कटहरिया नगरपालिकामा विवाह मण्डप, कटहरिया बहादुरपुर–बिर्ती–जमुनिया सडकको पनि शिलान्यास गरेका छन्।

सांसद साहले गुजरा नगरपालिकामा बालचनपुर–जंगलसैया सडकका साथै देवाही गोनाही नगरपालिकाको टिकुलिया–कर्कच–कटहरिया सडकको पनि शिलान्यास गरेका हुन्।

योजनाहरुको शिलान्यास गर्दै सांसद साहले जनताको विकासको चाहनालाई पूरा गर्ने समय आइसकेको बताए। सहरी विकास मन्त्री रहेको बेला रौतहटमा विभिन्न योजनाहरु पास गरेको बताउँदै अब कार्यान्वयनको चरणमा प्रवेश गरेकोले स्थानीयले पहरेदारी गरी राम्रोसँग काम सम्पन्न गराउन आग्रह गरेका छन्।

सांसद साहले चुनावको समयमा जनताबीच बाँडेको आश्वासनलाई पूरा गर्दै लगेका छन्। सडक, बिजुली, सिँचाइ तथा अन्य क्षेत्रमा सांसद साहले आफ्नो क्षेत्रका नागरिकलाई ठूलो सेवा पुर्‍याइरहेका छन्।

शिलान्यास कार्यक्रममा सडक डिभिजन कार्यालय पर्साका प्रमुख डिई सुरेश वाग्ले, सांसद समिना हुसेन, प्रदेश सभाका सांसद कुन्दन कुशवाहा लगायत ठूलो जनसमूहको उपस्थिति रहेको थियो।

प्रकाशित: २७ चैत्र २०७४ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App