काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जलमार्ग निर्माणबारे एक साताभित्रै विशेष महाशाखा बनाएर सम्भाव्यता अध्ययन सुरु गर्ने स्पष्ट पारेका छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाजको सपना साकार हुन्छ, हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्छौं, यही आउने वैशाखबाटै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर काम थाल्छौं’, मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भने।
मन्त्री महासेठले विगतमा प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दा सामाजिक सञ्जालमा उडाईएको स्मरण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देशमा सागरको पहुँच पुर्याउँछु भनेकाले अब यो पुरा हुने दाबी गरे।
भारत भ्रमण दलका सदस्य समेत रहेका मन्त्री महासेठले भ्रमणको क्रममा दुवै प्रधानमन्त्रीले अहिलेसम्म भएका सन्धि÷सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकोले आफूहरु भारतसँग भएका सम्झौताहरु कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त रहेको सुनाए।
रेलमार्ग र जलमार्ग बनाउनेबारे भारतसँग भएको सहमतिलाई ठूलो उपलब्धिको संज्ञा दिँदै उनले भने, ‘हाम्रो प्रधानमन्त्रीले मोदीजीसँग विगतका सन्धि तथा सम्झौताहरु कार्यान्वयन नभएकोबारे ध्यानाकार्षण गराउनुभएको थियो, उहाँले हामी त्यहीँ हुँदापनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो, यो खुशीको कुरा हो।’
कृषि क्षेत्रमा पनि द्धिपक्षीय साझेदारी गर्नेबारे यो पटकको भ्रमणमा कुरा भएको उनको तर्क थियो। उनले भने, ‘एक–अर्काका सिप तथा क्षमता आदान–प्रदान गर्नेबारेपनि सहमति भएको छ, हामीले भ्रमणको दौरान पन्तनगरमा रहेको कृषि विश्वविद्यालयको पनि भ्रमण गर्यौं, त्यसैले कृषिमा पनि हामी फड्को मार्ने कोशिस गरिरहेका छौं, कृषिमा आधुनिकिकरणमा हाम्रो जोड रहनेछ ।’
त्यस्तै उनले भ्रमणमा ‘क्रस–बोर्डर क्राईम’, पशुपति, कालापानी लगायतका विषयमा कुरा भएको जनाए। उनले भने, ‘हामीले उठाएका विषयमा मोदीजीपनि सकारात्मक हुनुभयो, उहाँले हामीले कुरा उठाएकोमा धन्यवाद दिनुभयो।’ टनकपुर, कोशी हाईड्याम्प, सुनकोशी–कमला डाईभर्सन, हुलाकी राजमार्ग लगायतका विषयमा आफूहरुले कुरा उठाएको र प्रत्येक कुरामा गम्भिर रुपमा छलफल भएको उनले जानकारी दिए।
प्रकाशित: २७ चैत्र २०७४ ११:१० मंगलबार