८ वैशाख २०८१ शनिबार
समाज

‘हेर्दाहेर्दै आमालाई आगोले निल्यो’

उदयपुर – रातिको झण्डै १२ बज्न थालेको थियो, सँधै झैं नेपालटार बजार मस्त निन्द्रामा थियो। चटट्ट र ह्वार्रह्वार्र आवाज अनि आँखा र नाकमा धुँवाको पिरोले सारदा तामाङको निन्द्रा भङ्ग भयो। उठेर हेर्दा श्रीमान् नारायणसँगै आफु सुत्ने कोठालाई आगोको लप्काले घेरिसकेको देखेर कहालिदै आगो निभाउन तम्सिइन् । भुइतलामा झरेर भान्सा कोठाबाट गाग्रीको पानी ल्याएर आगो निभाउने कोशिस गरिन् तर, पानी हाल्दा पेट्रोल छर्के झैं भएर आगो झन् उर्लियो। निमेशभरमै आफु सुन्ते कोठापछाडिको सासुआमा सुत्ने कोठा आगोले छोपिसके छ।

सँगै रहेका नारायण र सारदा कहालिदै छरछिमेकीलाई बोलाए, कतिलाई फोन गरे। त्यत्तिञ्जेल नारायणकी आमा ८४ वर्षीया बाटीमाया ‘मलाई निकाल, आगोले खायो’ भन्दै कराउन थालिसकेकी थिइन् । उनीहरु हतारहतार भ-याङ चढेर उक्ले, बृद्धा बाटीमायालाई निकाल्न खोजे तर, ढोकै अगाडिको अरु दुई कोठामा दन्किरहेको आगोको मुस्लोले आमा सुतेको कोठामा पस्न सकेनन्। आप्mनो समेत ज्यान नबच्ने भएपछि ‘भाग आमा’ भन्दै उनीहरु आफै भाग्नुप-यो।

गाउँले र प्रहरीलाई खवर गर्दासम्मको आधाघण्टामा आगोले वडाध्यक्ष टंक श्रेष्ठ र नारायण तामाङको घरमा राखिएका दुई पसलबीचबाट सुरु आगलागीबाट थप ५ घरमा संक्रमण गरिसकेको थियो। मध्यराति भए पनि गाउँले भेला भएर आगो निभाउने प्रयास गरिरहेका थिए, नारायण र सारदालाई भने घर र धनसम्पत्तिभन्दा आमाको ज्यान जोगाउन नसकेकोमा पछुतो लागिरह्यो।

‘मलाई लिन आऊ भन्दै हुनुहुन्थ्यो, बचाउन भनेर गएका पनि थियौं’ गला अबरुद्ध पार्दै सारदा र नारायणले भने, ‘‘चारैतिर आगोको मुस्लो दक्कदै थियो, ढोका बन्द थियो झ्याल पनि खोल्नसक्ने अवस्था भएन। निकाल्न खोज्दा हामी दुईकै ज्यान जाने खतरा मोल्न सकेनौं।’

१० घर, ३ पसल, १ सैलुन र १ पसलमा आगलागीबाट ठुलो क्षति पुगेको प्रहरीले जनाएको छ। ‘धेरै दुख गरेर घर बनाएको थिएँ, गरिखाने व्यापार पनि घरमै गर्दै थिएँ सबै स्वाहा भयो’ तामाङले भने, ‘अब छोराछोरीलाई पढाउने त परैको कुरा भो। क्ता बस्ने के खाने?’

तामाङको सँगै जोडिएको उदयपुरगढी गाउँपालिका ६ का वडाध्यक्ष टंक श्रेष्ठको घर र पसल पनि आगलागीले नष्ट भयो। क्रमशः वीरबहादुर तामाङको घर र उनको घरमा रहेको भएको उमेश कार्कीको किराना पसल, तिलकुमारी दाहालको घर र उक्त घरमा रहेको बद्री ठाकुरको सैलुन, होमबहादुर विक र उक्त घरमा सञ्चालित शम्भु राउतको कपडा पसल, टिकामान तामाङको डोको नाम्लो पसल पनि जलेर खरानी भयो।

सँगै रहेका दुई घर डोजर लगाएर भत्काउन भ्याइएकाले थप बजार क्षति हुन जोगिएको प्रहरीले जनाएको छ। स्थानीय व्यापारी बोधकुमार घिमिरेका अनुसार ती दुई घर नभत्काएको भए आगलागीबाट ठुलो क्षती हुने थियो। आगलागी कटारी नगरपालिका र सदरमुकामको त्रियुगा नगरपालिकासँग भएका दमकल आगो नियन्त्रणका लागि आएको भएपनि टाढाँ भएकाले ३ घण्टामा दम्कल पुग्दा ठुलो क्षति पुगेको घिमिरेले बताए।

सांसदद्वारा राहत वितरण
प्रतिनिधिसभा २ नम्बर निर्वाचन क्षेत्रका सांसद सुरेशकुमार राई (हिमाल) र प्रदेश सांसद नारायण बुर्जामगर सोमबार घट्नास्थल पुगेर पीडितलाई सहानुभूति दिनुका साथै केही राहत वितरण गरेका छन्। उनीहरुले सबभन्दा बढी क्षति भएको नारायण तामाङलाई १२ हजार र बाँकी ११ परिवारलाई ३ हजारका दरले नगद राहत वितरण गरे। नेपालटारस्थित वडा कार्यालयका आयोजित कार्यक्रममा राईले २५ हजार र मगरले २० हजार गरी ४५ हजार रकम वितरण गरेका हुन्।

प्रकाशित: २७ चैत्र २०७४ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App