८ वैशाख २०८१ शनिबार
खेल

नेपोलीको शीर्ष होड कायम

मिलान – अमादोउ दिवाराले इन्जुरी समयमा गरेको गोलमा नेपोलीले आइतबार किइभो भेरोनालाई २–१ ले पराजित गर्दै इटालियन सिरी ‘ए’ मा शीर्षताको उपाधि होड कायम राखेको छ।

५१औं मिनेटमा नेपोलीले अग्रता लिने सुनौलो अवसर पाएको थियो । तर द्रिइस मार्टिन्स पेनाल्टीमा गोल गर्न चुक्दा नेपोलीले अवसर गुमाएको थियो । किइभोका फाबियो डेपाउलीले मार्टिन्सलाई लडाउँदा  प्राप्त पेनाल्टीमा मार्टिन्सले गरेको प्रहार किइभोका गोलकिपर स्टेफानो सोरेन्टिनोले विफल पारेका थिए।

७३औं मिनेटमा मारिउस्ज स्टेफिनिस्कीले इमानुएल जियाचेरिनीको पासमा गरेको गोलमा किइभोले अग्रता लिएको थियो । खेल सकिन एक मिनेट बाकी हुँदा अर्काड्युज मिलिकले गोल गर्दै नेपोलीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा दिवाराले गोल गर्दै नेपोलीको रोमाञ्चक जित पक्का गरे।

यस जितपछि ३१ खेलमा ७७ अंक जोडेको नेपोली दोस्रो स्थानमा यथावत् छ, जुन शीर्ष स्थानको युभेन्ट्सभन्दा ४ अंक कम हो । समान ६० अंक जोडेका लाजियो र रोमा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । ५९ अंक जोडेको इन्टर मिलान र ५२ अंक जोडेको एसी मिलान पाँचौं र छैटांै स्थानमा छन् । २९ अंक जोडेको किइभो १५औं स्थानमा छ।

‘‘पहिलो हाफमा पेनाल्टी गुमाउनु दुर्भाग्य थियो । १–० ले पछि पर्दा पनि हामीले आत्मविश्वास गुमाएनाैं,’ नेपोलीका प्रशिक्षक माउरिसियो सारीले भने, ‘अन्तिममा दुई गोल फर्काउँदै उत्कृष्ट पुनरागमनमा सुखद नतिजा ल्याउन सफल भयाैं।’

यस्तै आइतबार राति नै सम्पन्न अर्को खेलमा लाजियोले युडिनेसीलाई २–१ ले पराजित गर्यो।

१३औं मिनेटमा केभिन लासाग्नाले गरेको गोलमा युडिनेसीले अग्रता लिए पनि त्यसको १३ मिनेटपछि नै सिरो इमोबाइले गरेको गोलमा लाजियो खेलमा फर्किएको थियो।

३७औं मिनेटमा लुइस अल्बेर्टाेले गरेको गोल लाजियोलाई स्पष्ट तीन अंक जोड्न पर्याप्त बन्यो । त्यस्तै एसी मिलान र सासौलोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

मिलानको घरेलु मैदान सानसियरो रंगशालामा सम्पन्न खेलको ७५औं मिनेटमा माटेउ पोलिटानोले गोल गर्दै सासौलोलाई अग्रता दिलाए पनि खेल सकिन ४ मिनेट बाँकी हुँदा निकोला कालिनिकले गोल गर्दै मिलानको हार टारेका थिए।

प्रकाशित: २७ चैत्र २०७४ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App