coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियाको हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण, १४ मारिए

राजधानी दमास्कस नजिकै रहेको पूर्वी गुटाको दोमा सहरमा सिरियाली सेनाले गोलाबारी गरेपछिको दृश्य। तस्बिर : एजेन्सी

दमास्कस – सिरियाको सैन्य हवाई शिविरमा सोमबार क्षेप्यास्त्र आक्रमण हुँदा १४ जनाको ज्यान गएको छ।

सिरियाली होम्स प्रान्तको दोमा सहरमा रहेको  ‘टि–फोर’ अर्थात् टियास सैन्य शिविरमा सोमबार बिहान सबेरै कैयांै क्षेप्यास्त्र आक्रमण भएको राज्य सञ्चालित सिरियाली समाचार समिति सानाले जनाएको छ। सानाका अनुसार उक्त आक्रमणमा मारिएका र घाइते व्यक्तिको एकिन तथ्याङ्क भने प्राप्त भएको छैन। तर समाचार एजेन्सी एसोसियटेड प्रेसका अनुसार सिरियाली सेनाको हवाई शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा १४ जनाको मृत्यु भएको छ। इरानी नागरिक र तीन सिरियाली अधिकारीसहित १४ जनाको क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु भएको बेलायत आधारित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सलाई उद्धृत गर्दै एपीले जनाएको छ।

यसैबीच सिरियाको राजधानी दमास्कस बाहिरको विद्रोही नियन्त्रित अन्तिम क्षेत्र दोमाबाट लडाकु र उनीहरूका परिवारको पहिलो समूह बाहिर निस्किएका छन् । पूर्वी गुटाको दोमा सहरमा सिरियाली फौजले कैयौं सातादेखि जारी राखेको घेराबन्दी र सैन्य कारबाहीका कारण त्यस क्षेत्रमा सक्रिय विद्रोही बाहिरिने क्रम सुरू भएको बताइएको छ। उक्त क्षेत्रमा सरकारी फौजले कैयौं दिनदेखि हवाई हमला जारी राखेको थियो। उता, दोमा सहरमा सिरियाली सेनाले शनिबार विषाक्त ग्यासको प्रयोग गरेको खबर बाहिर आएपछि अन्तर्राष्ट्रिय जगतमा भत्र्सना भएको छ। हवाई हमला र गोलाबारीका कारण यस क्षेत्रमा  सयौं मानिसको ज्यान गइसकेको छ र आइतबारबाट विद्रोहीले रुसी मध्यस्तकर्तासँग आत्मसमर्पण सुरु गर्नका लागि एउटा सहमति गरेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रासायनिक हतियार प्रयोग भएकोमा सिरियाली राष्ट्रपति बसर अल असद र उनकामित्र शक्ति राष्ट्रहरूको आलोचना गरेका छन्। ट्रम्पले रासायनिक हमलाको कारण असद र उनका मित्रशक्ति राष्ट्र रुस र इरानको कडा आलोचना गर्दै हमलाको लागि उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार विद्रोही नियन्त्रित दोमामा गरिएको आक्रमणमा दर्जनौं संख्यामा सर्वसारणको ज्यान गएको थियो।

हवाई हमलामा इजरायलको हात
सोमबार बिहानै सिरियाली सेनाको हवाई शिविरमा भएको क्षेप्यास्त्र आक्रमणका पछाडि इजरायलको संलग्नता रहेको सिरिया र उसको प्रमुख सहयोगी रुसले आरोप लगाएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले संवाददातालाई सोमबार बताएअनुसार इजरायलले पुटिनसँग हवाई हमलाबारे केही बताएको थिएन । उक्त शिविरमा रुसी सेना पनि हुनसक्ने भएकाले आफ्नो देशको सरोकार भएको उनले बताइन्।

उक्त आक्रमणका कारण १४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। हमलामा परी मृत्यु हुनेमा इरानी नागरिक पनि रहेको बताइएको छ।

शनिबार पूर्वी गुटाको दोमामा भएको भनिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारकै हात रहेको भन्दै विश्वभर आलोचना भइरहेका बेला सिरियाको प्रमुख सैन्य शिविरमा क्षेप्यास्त्र हमला भएको घटना बाहिरिएको हो।

शनिबार भएको रासायनिक हमलामा ४० जनाको मृत्यु भएको र उक्त हमलामा सरकारी फौजकै संलग्नता रहेको सिरियाको विपक्षी दलले आरोप लगाएका छन् । सिरियाको गुटामा शनिबार भएको शंकास्पद रासायनिक हमलाका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सोमबार अबेर आपतकालीन बैठक आह्वान गरिएको छ।

सिरियाको होम्स प्रान्तमा रहेको ‘टि फोर हवाई शिविर’ मा दुई वटा इजरायली विमानले निशाना लगाएको आरोप सिरियाले लगाएको छ। उसका अनुसार हवाई शिविरमा हानिएको पाँचवटा क्षेप्यास्त्रलाई सिरियाली सेनाले खसालेको थियो भने अन्य तीन वटा क्षेप्यास्त्र शिविरको पश्चिमी भागमा गएर खसेको थियो। इजरायली एफ–१५ युद्धकविमानले ‘टि फोर’ हवाई शिविरमा कैयौं क्षेप्यास्त्र प्रहार गरेको एक सैन्य अधिकारीलाई उद्धृत गर्दै सिरियाको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ। उक्त टेलिभिजनले यसबारेमा विस्तृत जानकारी भने दिएको छैन। सिरियाली सेनाको सैन्य हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको भनेर रुस र सिरियाले आरोप लगाएको इजरायलको विदेश मन्त्रालयले भने यस विषयमा अझै पनि केही प्रतिक्रिया जनाएको छैन। सन् २०१२ देखि सिरियाली युद्धमा इजरायलले सय पटक हमला गरिसकेको छ। इजरायलले विशेषगरी लेबनानी लडाकु समूह हेजबुल्लाहलाई हतियार निर्यात गर्ने समूहलाई लक्षित गरी आक्रमण गर्ने गरेको बताउँदै आएको छ। हेजबुल्लाह लडाकु समूहले सिरियाली गृहयुद्धमा सरकारसमर्थित पक्षलाई सहयोग गरिरहेको छ।

पछिल्लो समय गत फेब्रुअरी महिनामा इजरायलले उही ‘टि फोर’ हवाई शिविरमै आक्रमण गरेको थियो। उसले इरानी ड्रोन आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै उक्त आक्रमण गरेको बताएको थियो। इस्लामिक स्टेट नामक आतंकवादी समूहविरुद्ध आक्रमण गर्न प्रयोग गरिने उक्त सैन्य शिविर अमेरिकी सेनाले गत वर्ष भएको रासायनिक हमलाको प्रतिक्रियास्वरुप गरेको आक्रमणमा ध्वस्त भएको सेरात हवाई शिविर नजिकै रहेको बताइएको छ।

टि फोर हवाई शिविरमा भएको क्षेप्यास्त्र आक्रमण अमेरिकी आवेगको नतिजा भएको राज्य सञ्चालित सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ। सानाको यस्तो आरोपप्रति तत्काल प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता क्रिस्टोफर सेर्वुडले उक्त आक्रमणमा अमेरिकाको संलग्नता नरहेको बताएका छन्।

प्रकाशित: २७ चैत्र २०७४ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App