६ वैशाख २०८१ बिहीबार
कला

‘निर्माताले मेरो भाउ बढाएका हुन् ’

काठमाडौं–डेब्यु फिल्म ‘स्केप’ असफल भए पनि ‘प्रेमगीत’ र ‘प्रेमगीत २’को सफलताले नायक प्रदिप खड्कालाई स्टारडमको दौडमा अगाडि ल्याएको छ । यसैले त उनलाई फिल्ममा खेलाउन निर्माताहरू महंगो मूल्य तिर्न तयार छन्।

रिलिजको संघारमा रहेको फिल्म ‘लिलिबिली’मा पनि उनले २२ लाख रुपैंयाँ पारिश्रमिक लिएको चर्चा छ । मौकामा कमाइ गर्न निर्मातासँग चर्को मूल्य लिएको आरोप खेपिरहेका प्रदिप भने यो आरोप स्वीकार्न तयार छैनन्।आगामी चैत ३० गते रिलिज हुन लागेको फिल्म ‘लिलिबिली’को प्रमोसनमा व्यस्त प्रदिपले सोमबार पत्रकारमाझ निर्माताले नै आप्mनो पारिश्रमिक बढाइदिएको दाबी गरे।

‘मैले बजारमा पारिश्रमिक माग्नेभन्दा पनि निर्माताले पारिश्रमिकको अफर लिएर आउने भएकाले मेरो पारिश्रमिकको अनुपात बढी देखिएको हो,’उनले भने,‘मैले पैसा यति चाहियो भनेर माग गरेको छैन । राम्रो स्क्रिप्ट र राम्रो टिम पाएको खण्डमा बिना पैसा पनि फिल्म गर्न तयार छु ।’ प्रदिपले ‘लिलीबिली’मा पनि निर्माण पक्षले प्रस्ताव गरेको पारिश्रमिकको आधारमा आफूले काम गरेको जनाए।

अघिल्ला फिल्ममा ‘चकलेटी नायक’को छाप छोडेका प्रदिपले ‘लिलिबिली’मा त्यही छविलाई निरन्तरता दिएका छन् । ‘बजारमा ममको स्वाद दर्शकलाई मन परिरहेको बेला अरु खानेकुरा मिठो नलाग्न सक्छ,’ उनले भने,‘दर्शकले चकलेटी प्रेमीको मेरो भूमिका मन पराइरहेको समयमा अन्य भूमिकामा आउँदा मन नपर्न पनि सक्छ । त्यसकारण लिलिबिलीमा पनि चकलेटी प्रेमीकै भूमिकालाई निरन्तरता दिएको छु ।’फिल्ममा नायिका प्रियंका कार्की र नवनायिका जसिता गुरुङसँग रोमान्स गरेका प्रदिपले निर्मातासँग कहिल्यै पनि नायिकाको सिफारिस नगरेको जिकिर गरे ।

उनले आफूले जसितालाई काम सिकाएको र आफूले चाहिँ प्रियंकाबाट काम सिकेको खुलाए।
नवनायिका जसिताले एक नृत्य प्रतियोगितामा उत्कृष्ट भएपछि निर्देशक मिलन चाम्सको प्रस्तावमा आफूले ‘लिली बिली’मा अभिनयको मौका पाएको बताइन्। ‘फिल्म हेर्दा जति सजिलो र रमाइलो लाग्छ । पर्दाभित्र बसेर काम गर्दा उस्तै गाहाे हुँदो रहेछ’ उनले भनिन्, ‘यो फिल्ममा काम गरेपछि अब अभिनय सम्बन्धी प्रशिक्षण लिने सोच बनाएकी छु। ’

फिल्मका निर्मातासमेत रहेका निर्देशन मिलनले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरको बनाउन बेलायत, स्कटल्याण्ड र टर्कीमा छायांकन गरिएको बताए । उनले फिल्मको छायांकनका क्रममा फिल्मका कलाकार र प्राविधिकसँगै आफू पनि स्कटल्याण्डमा माईनस ९ डिग्रीको तापक्रममा बेहोस बनेको खुलाए।गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्सले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा अनुपविक्रम शाही, प्रियंका कार्की, सबिन श्रेष्ठलगायतका कलाकारको पनि अभिनय छ।
 

प्रकाशित: २७ चैत्र २०७४ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App