६ वैशाख २०८१ बिहीबार
कला

विद्यालाई सम्बल सम्मान

काठमाडौं – काव्य स्मृति सम्बल कलासंस्कृति वर्ष पुरस्कारबाट मैथिली रंगमञ्चकी पहिलो महिला कलाकार विद्या राणा चौधरी सम्मानित हुने भएकी छिन्।

रंगकर्मीहरूको संस्था सम्बलद्वारा २०७५ वैशाख ३ गते काठमाडौंमा आयोजित डा. आभास लाभ एकल सांगीतिक सन्ध्या एवं रिना रिमाल अभिनित एकल नाटक ‘झुमकी’को प्रदर्शनका क्रममा चौधरीलाई उक्त पुरस्कार दिइने जनाइएको छ ।पुरुषपात्रले नै महिलाको भूमिका निर्वाह गर्ने तीन दशक अघिको मैथिली रंगमञ्चमा महिला पात्रको भूमिकामा चौधरी देखिएकी थिइन् । त्यसबेला मैथिल ब्राह्मण परिवारकी बुहारी चौधरीको नाटकमा उपस्थिति दुस्साहसिक र ऐतिहासिक थियो।

२५ हजार १ सय ११ नगद र प्रशस्तिपत्र सहित चौधरीलाई सम्मान गरिने सम्बलकी सचिव सरस्वती अधिकारीले बताइन् । पुरस्कार जनकपुरका प्रसिद्ध चिकित्सक डा. सुधेन्दु सिंह एवं श्रीमती सोनिया सिंहले आफ्नो दिवंगत छोरा काव्यको स्मृतिमा स्थापना गरेका हुन्।

पुरस्कारका लागि नाटककार अवधेशकुमार पोखरेलको संयोजकत्वमा समाजसेवी मधुकरकुमार उपाध्याय र रंगकर्मी अनिलचन्द्र झा सदस्य रहेको छनोट समिति गठन गरिएको थियो । समितिले पुरस्कारका लागि रंगनिर्देशक रामरेखा पण्डित, साहित्यकार एवं रंगकर्मी दिगम्बर झा दिनमणि र रंगअभिनेत्री रेखा कर्णसहित चौधरीको नाम प्रस्ताव गरेको थियो।

यसअतिरिक्त संस्थाले रंग अभियन्ताका साथै विभिन्न क्षेत्रका आधा दर्जन व्यक्तित्वलाई सम्मान गर्ने भएको छ । कार्यक्रममा अनुराग गिरी, अवधेशकुमार पोखरेल, मधुकर उपाध्याय, रत्नेश्वर लाल, मनीषचन्द्र लाल, राजकिशोर साह, प्रियंका झा, परमेश्वर झा, सतीस कर्णलगायतलाई सम्मान गरिने सम्बलका उपाध्यक्ष पुनम ढकालले बताइन्।

कार्यक्रममा प्रख्यात गायक डा. लाभले नेपाली, मैथिली र भोजपुरीका करिब डेढ दर्जन गीत गाउनेछन् । बलात्कारपीडित महिलाको कथाव्यथामा आधारित पत्रकार अनिलकुमार कर्णद्वारा लिखित एकल नाटक ‘झुमकी’को निर्देशन सविन कट्टेलले गर्नेछन्।                                                     

 

प्रकाशित: २७ चैत्र २०७४ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App