६ वैशाख २०८१ बिहीबार
कला

अन्तर्राष्ट्रिय कला कार्यशालामा फरक देशका फरक रंग

बंगलादेशकी कलाकार नरगिस प्रवीन आफ्नो कलाका साथ । तस्बिरः चाँदनी /नागरिक

काठमाडौं - जनकपुरकी सुनयना ठाकुर यतिबेला राजधानीको नेपाल कला परिषद्मा आइतबार चित्र कोर्दै थिइन् । अरुबेला आफ्नै परिवेशको क्यानभासमा मिथिला चित्र कोर्ने उनी यतिबेला भने देशविदेशका विविध विधाका कलाकारबीच चित्र कोर्न व्यस्त छिन्।

सीताले जनकपुर दरबारको आँगन लिप्दै गर्दा शिवजीको धनुष एकहातले उठाउँदै गरेको उनको तस्बिरले नेपालको धार्मिक इतिहास बोल्छ । ‘सीता नेपालको मात्र होइन विश्वकै एक विदुषी पात्र हुन्,’ सुनयना भन्छिन्, ‘देशको प्रतिनिधित्व गर्दा सीताका चित्र कोर्नु मेरा लागि गर्वको विषय हो ।’कला परिषद्मा शनिबारदेखि आर्ट केरला मुजरिस र सृजनात्मक महिला समूह नेपालको संयुक्त आयोजनामा कला कार्यशाला र प्रदर्शनीमा उनले चित्र कोरेकी हुन्।

सुनयनाले दश वर्षअघि चित्र कोर्न सुरु गर्दा के चित्र बनाउन लागेको भनेर खिसी गर्नेहरु धेरै थिए । अहिले भने उनले आफ्नो छुट्टै पहिचान तीन चित्र बनेका छन् । मधेशका महिला घुंगट प्रथाले घर परिवारमै सीमित भएका बेला उनी भने खुला आकाशमुनि रमाएकी सीताको खुला अनुहारमा रंग भर्न खप्पिस देखिन्छिन्।

मिथिला कलालाई स्थानीय कलाको घेराबाट बाहिर ल्याउन उनले मेहनत गरिरहेको उनले बताइन् । उनलेझैं सप्तरीकी रञ्जु यादव सानैदेखि चित्र कोर्र्दे हुर्किइन् । ‘त्यो बेलाका मेरा चित्र घरपरिवार र वरिपरिका समुदायका लागि मात्र बन्थे,’ उनले सुनाइन्, ‘अहिले म देशकै लागि चित्र कोर्दैछु।

’सजावटका लागि बनाइने उनका कला साँच्चिकै कला हो भनेर बुझेपछि उनी पेसागत रुपमै यतातिर ढल्किइन् । नेपालको पहिचानका रुपमा मिथिला कला विदेशमा अत्यधिक रुचाइने उनले बुझेकी छिन् । एउटी महिलालाई परिवारदेखि बाहिर रहेर काम गर्नु उसै पनि सहज हुन्न । झन् भर्खर–भर्खर घरको संघारबाहिर आउन थालेका मधेशी समुदायका उनीजस्ता महिलाले परिवारको सहयोग नपाए यस्ता सृजनात्मक काममा लाग्नै नसक्ने उनी बताउँछिन्।

चित्रबाट आम्दानी हुन्छ समाजमा नाम कमाइन्छ भन्ने परिवारका सदस्यले बुझेपछि भने उनीहरू ढुक्क छन् । नेपालजस्तै बंगलादेशकी नरगिस प्रवीन पनि बन्द समाजमा हुर्केकी नारी हुन् । परिवारकी सबैभन्दा कान्छी छोरी उनी इन्जिनियर बनोस् भन्ने बाबुआमाको चाहना थियो । ‘मलाई चित्र बनाउन मनपथ्र्यो,’ नरगिसले बताइन्, ‘घरमा थाहै नदिई फाइन आर्ट भर्ना गरेर पढे ।’ घरका सदस्य केही समय निकै रिसाए।

बंगलादेशमा महिलालाई बाहिरी समाजमा हिँडडुल गरेको रुचाइन्न । त्यसैले त्यो घेरा तोड्न उनी महिला उन्मुक्तिको विषयलाई नै चित्रको विषय बढी बनाउन रुचाउँछिन् । उनले प्रदर्शनीमा राखेको बंगलादेशी महिलाको जीवनचत्रको चित्रले उनको देशको वास्तविकता खोल्छ । एउटी बंगलादेशी महिला बालिका हुँदा खुला आकाशमा रमाउँछिन् । उनको जवानी भने समाजको साँघुरो घेराभित्र पर्छ।

‘सुन्दर घर र माया गर्ने श्रीमान्को कल्पनामै सिमित उनीहरु त्यसैलाई आफ्नो सपनाको संसार मान्छन्,’ नरगिस भन्छिन्, ‘तर सबैकुरा परिवारका सदस्यको इच्छामा निर्भर हुन्छ ।’ मुस्लिम समुदायकी उनी सबै धर्मलाई समान ठान्छिन् । उनलाई कृष्णको लिलाले निकै तान्छ । त्यस्तै, गणेशको चित्रमा पनि उनी उत्तिकै आकर्षित छिन् । धर्मका रुप मात्र फरक हुन्, भगवानका उस्तै हुन् भन्ने मान्यता उनको छ।

कला कार्यशालामा कोलकाताका विधान विश्वासले धार्मिक रीतिरिवाजमा प्रयोग गरिने अल्पोनाजलाई कलाको संसारमा उतारेका छन् । कुनै पूजाअर्चना अघि चामलको पिठोले सिंगारेर बनाइने मण्डला कलाशैलीलाई उनले कलाका विषय बनाएका छन् । पूजाको विधीअनुसार विभिन्न आकारहरु कोरिन्छ । जसमा चामलको पिठो, सेता माटो जस्ता प्राकृतिक रंगको प्रयोग गरिने उनले बताए ।

बारायसीका मुकेश गुप्ता कृष्णका विविध स्वरुप चित्रमा झल्काउन सिपालु छन् । कार्यशालामा उनले कृष्णकै श्रीनाथजीको स्वरुपलाई मोहक ढंगले कोरे । सृजनात्मक महिला समूहकी अरुणा हिङमाङले ओझेलमा परेका नेपाली कला र कलाकारलाई बाहिरी दुनियासँग चिनजान गराउन कार्यशालाको आयोजना गरिएको बताइन् । ‘लोप हुन थालेका मौलिक कला र संस्कृति जगेर्ना गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ,’ उनले भनिन्, ‘त्यसैले अरु देश कलाकारसँग मिलेर एकै थलोमा कला कोर्ने अवसर जुटाएका हौं।’

उनका अनुसार कार्यशालामा बनेका चित्रहरु सार्क राष्ट्रसँगै विभिन्न मुलुकमा प्रदर्शनी गरिनेछ । दिल्ली कला परिषद्का भिएन मनोजले कार्यशलाामा एकै थलोमा बसेर चित्र कोर्दा एकअर्काको कला विधी सिक्ने अवसर मिलेको बताए । ‘नेपालको महिलामुखी कला अनि परम्परागत कलाको नौलो प्रविधि हामीले सिकेका छौं,’ उनले भने, ‘हाम्रा कलाको सीप यही कार्यशालामा बाँडेका पनि छौं।

’उनका अनुसार भारतको अमूर्त, आधुनिक, समकालीन, म्युरल कलासँगै मण्डला कला यसपटकको कार्यशालामा अभ्यास गरिएको छ । बिहानैदेखि कला कोर्न बसेका कलाकारहरुले दिनभरी नै कुची र रंग खेलाइरहे । कार्यशालासँगै राखिएको कला प्रदर्शनीमा भने ३ देशबाहेक मेक्सिकोका ६ जना कलाकारको कला रहेको छ । प्रदर्शनीमा ५७ वटा कलाकृति रहेका छन् । कार्यशाला बुधबारसम्म चल्ने जनाइएको छ ।


 

प्रकाशित: २७ चैत्र २०७४ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App