७ वैशाख २०८१ शुक्रबार
खेल

थ्री स्टारलाई विराट गोल्डकप उपाधि

मोरङ – स्ट्राइकर विमल घर्तीमगरको दुई तथा अनन्त तामाङको एक गोलको मद्दतमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब विराटनगरमा भएको पाँचौं विराट गोल्डकपको उपाधि जित्न सफल भएको छ।

सहिद रंगशालामा सोमबार भएको फाइनलमा थ्री स्टारले चिर परिचित प्रतिद्वन्द्वी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै जारी सिजनको पाँचौं उपाधि जितेको हो।

खेलको ५६औं मिनेटमा थ्री स्टारले अग्रता लियो। विमलको कर्नर बलमा अनन्त तामाङले उत्कृष्ट हेड गोल गर्दै टोलीका लागि अग्रता दिलाएका थिए।

थ्री स्टारले ७६औं मिनेटमा विमलको पेनाल्टी गोलबाट अग्रता दोब्बर बनायो। मार्टिनले बल अगाडि बढाउँदै गर्दा आर्मीका जितेन्द्र कार्कीले डी बक्सभित्र फाउल गरेपछि रेफ्रीले थ्री स्टारका लागि पेनाल्टीको अवसर दिएका थिए।

८८औं मिनेटमा स्ट्राइकर विमलले डी बक्सभित्र पाएको पासलाई सदुपयोग गर्दै अग्रता तेब्बर बनाए।

बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन।

यसअघि खेलको १२औं मिनेटमा अजय मार्टिनले दिएको पासमा नीराजन खड्काले प्रहार गरेको बल बारको नजिकैबाट अकासिएको थियो। निकै प्रतिस्पर्धात्मक पहिलो हाफको २४औं मिनेटमा थ्री स्टारका सुनील बलको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै विफल पारेका थिए। त्यसको दुई मिनेटपछि नै रजिन धिमालले डी बक्सभित्र पाएको सुन्दर मौकालाई पनि गोलकिपर कुथुले निराश पार्दा थ्री स्टारले अग्रता लिने मौका गुमाएको थियो। निरन्तरको काउन्टरमा रहेको थ्री स्टारको पोस्टमा आर्मीले ४१आैं मिनेटमा पहिलो बल प्रहार गर्ने मौका पाएको थियो। तर आर्मीका टंक बस्नेतले २५ यार्ड टाढाबाट प्रहार गरेको बल बारमाथिबाट बाहिरिएको थियो।

गोलरहित पहिलो हाफ खेलेका दुवै टोली दोस्रो हाफमा केही आक्रामक शैलीमा प्रस्तुत भए। यद्यपि थ्री स्टारको काउन्टरमा आर्मी निकै व्यस्त बन्यो। ५१औं मिनेटमा थ्री स्टारका सुनिल बलको कर्नर बल अजय मार्टिनले हेड गर्दा बारमा लागेर बाहिरिएको थियो भने ६९औं मिनेटमा ३० यार्ड टाढाबाट विमलले प्रहार गरेको बल आर्मीका गोलकिपर कुथुले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए।

विजयी थ्री स्टारले नगद १२ लाख ७१ हजार रुपैयाँसहित ट्रफी हात पा¥यो। उपविजेता त्रिभुवन आर्मीले ५ लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो।

विराट गोल्डकप प्रतिष्ठानको आयोजनामा चैत १७ गते भारतका दुई, भुटानका एक तथा नेपालका सातवटा टिमले सहभागिता जनाएको प्रतियोगितामा थ्री स्टार अनन्त तामाङ उत्कृष्ट खेलाडी घोषित भए। तामाङले मोटरसाइकल पुरस्कार पाए। थ्री स्टारकै एलन न्यौपान उत्कृष्ट गोलकिपर घोषित हुँदा थ्री स्टारका सुनील बल उत्कृष्ट मिडफिल्डर, आर्मीका भरत खवास उत्कृष्ट फरवार्ड, आर्मीका विमल पाण्डे, उत्कृष्ट रक्षक र थ्री स्टार विमल घर्तीमगर सर्वाधिक गोलकर्ता बने भने उत्कृष्ट प्रशिक्षक थ्री स्टार मेघराज केसी घोषित भए। उत्कृष्ट सबैले २५ हजार रुपैयाँ हात पारे।

प्रकाशित: २७ चैत्र २०७४ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App