४ वैशाख २०८१ मंगलबार
अर्थ

इन्दुशंकरमा नो क्यान अन्नपूर्ण डेढ साता चल्ने

उखु आउन छाडेपछि खाली देखिएको हरिवनस्थित इन्दुशंकरको यार्ड । तस्बिर : टंक/नागरिक

सर्लाही – जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा ‘नो क्यान’ सुरु भएको छ । किसानले उद्योगमा उखु अल्याउन छाडेपछि यस्तो अवस्था आएको हो।

पाँच दिनदेखि उद्योगमा ‘नो क्यान’ सुरु भएको उखु प्रबन्धक योगनारायण रजकले बताए। ‘पाँच दिनदेखि उद्योगलाई चाहिएजति उखु आउन छाडेको छ,’ उनले भने, ‘त्यसैले दिनमा चार–पाँच घन्टा ठूलो उद्योग र बाँकी समय सानो उद्योग चलाउने गरेका छौं।’इन्दुशंकर चिनी उद्योगमा हाल दुईवटा उद्योग रहेका छन् । उद्योग स्थापना हुँदाताकाको १५ हजार प्रतिदिन क्रसिङ क्षमताको सानो उद्योग तथा केही वर्षअघि थपिएको दिनको ३५ हजार क्रसिङ क्षमताको ठूलो उद्योग रहेको छ।

सोमबारसम्म उद्योगले ३९ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उखु प्रबन्धक रजकले जानकारी दिए । ‘पुग नपुग ४० लाख क्विन्टल उखु क्रसिङ हुने अनुमान गरेका छौं,’ उनले भने, ‘आगामी बुधबारसम्ममा उद्योग बन्द हुनेछ ।’ उद्योगले यस सिजनको उखु क्रसिङ बन्द गर्ने अन्तिम सूचनासमेत प्रकाशित गरिसकेको छ । चालु सिजनमा ३० लाख क्विन्टल क्रसिङ गर्ने लक्ष्य लिएको थियो । सर्भे गरिएका किसानको उखु सकिएको उद्योगले दाबी गरेको छ।

त्यस्तै जिल्लाकै पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिल भने अझै डेढ साता सञ्चालन हुने उखु प्रबन्धक बिएल गुप्ताले जानकारी दिए । हालसम्म १२ लाख क्विन्टल उखु क्रसिङ गरेको सो उद्योगले १४ लाख पु¥याउने अनुमान गरेको छ । दैनिक २४ हजार क्विन्टल क्रसिङ क्षमताको उद्योगले उद्योग बन्द हुने प्रथम सूचना भने प्रकाशित गरिसकेको र दुई दिनपछि दोस्रो सूचना प्रकाशित गर्ने उखु प्रबन्धक गुप्ताले जानकारी दिए । चिनी उद्योगहरुले उखु अभाव हुन थालेपछि क्रसिङ बन्द गर्ने सूचना तीन पटकसम्म प्रकाशित गर्ने प्रचलन रहेको छ।

विशेषगरी बढ्दो गर्मीका कारण उखु काट्ने तथा ढुवानीमा कठिनाइ भएका कारण उद्योगलाई उखु अभाव हुन थालेको बताइन्छ । चालु सिजनमा साढे २१ हजार हेक्टर क्षेत्रफलमा खेती भई झन्डै एक करोड क्विन्टल हाराहारी उखु उत्पादन भएको अनुमान गरिएको छ । सर्लाहीबाटै महोत्तरीको एभरेस्ट, रौतहटको श्रीराम, बाराको मानकौर उद्योगमा समेत उखु जाने गरेको छ । जिल्लामै सञ्चालन भएका दर्जनौं क्रसर उद्योगले समेत मिठा (सख्खर) उत्पादन गर्ने गरेका छन् ।


 

प्रकाशित: २७ चैत्र २०७४ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App