coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हरेक तीन दिनमा एकजना करेन्टबाट अंगभंग

काठमाडौं – करेन्ट लागेर हरेक तीन दिनमा एकजनाको अंगभंग हुने गरेको छ । हावाहुरीबाट बिजुलीका पोल ढलेर, बिजुलीका नांगा तार चुँडिएर, हुकिङबाट बिजुली चोर्न खोज्दा, मर्मतसम्भार गर्न खोज्दा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र सर्वसाधारण गम्भीर दुर्घटना पर्ने गरेका छन्।  

प्राधिकरणका अनुसार ८० महिनामा सात सय ५२ विद्युतीय दुर्घटना भएका छन् । यसको अर्थ हरेक तीन दिनमा एकजना विद्युतीय दुर्घटनामा परेका हुन् । यसरी विद्युतीय दुर्घटनामा परेकामध्ये धेरैको अंगभंग हुने र केहीले ज्यानै गुमाउन पुगेका छन् ।हावाहुरी, चट्याङ जस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण वितरण प्रणाली, धेरै लामो तारमार्फत विद्युतीकरण, घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, जनचेतनाको  अभाव आदि कारणले विद्युतीय दुर्घटना हुने गरेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणको तथ्यांक अनुसार, २०६८ असारबाट हालसम्म सात सय ५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिक रुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिबापत १२ करोड २० लाख रुपैयाँ खर्च प्राधिकरणले गरेको छ।

चालु आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचजना प्राधिकरणका कर्मचारी र तीनजना सर्वसाधारण छन् । सुरक्षासम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनीकरण गर्न तेस्रो पक्ष बिमा न्यायोचित हुने बताएका छन् ।नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बिमा लागू गर्न अगाडि बढ्नुपर्ने बताए।

‘यातायात क्षेत्रमा तेस्रो पक्ष बिमा लागू गरिएकाले सडक दुर्घटना हुँदा क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गर्ने लगायत क्रियाकलाप रोकिएका छन् भने पीडितले पनि क्षतिपूर्ति पाएका छन्,’ उनले भने, ‘यसलाई विद्युतीय दुर्घटनामा पनि लागू गर्न सकियो भने वित्तीय जोखिम न्यूनीकरण गर्ने उपयुक्त विकल्प हुन सक्छ, यतातर्फ पनि अगाडि बढ्नुपर्छ ।’मुलुकको आर्थिक समृद्धिका लागि ऊर्जा अनिवार्य भएको उल्लेख गर्दै मन्त्री पुनले विकसित नविनतम तथा गुणस्तरीय प्रविधिको प्रयोगमार्फत सुरक्षित विद्युत् प्रयोग गर्नेतर्फ सबै सचेत हुनुपर्ने बताए।

ऊर्जासचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्यायले मुलुकको विकासका लागि विद्युत् बरदान भए पनि सानो लापरबाहीले ठूलो जनधनको क्षति हुनेतर्फ सबै सचेत हुनुपर्ने बताए । ‘कतिपय अवस्थामा सेवा प्रदायकका हिसाबले सुरक्षामा ध्यान नदिएर हामीबाटै लापरबाही भएको छ, सुरक्षामा कसैले खेलवाड नगरौं,’ उनले भने ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरिक्त वित्तीय बोझ बढेको बताए।

‘दुर्घटनामा परेकाको उपचार खर्च तथा मृत्यु भएकालाई क्षतिपूर्तिबापत प्राधिकरणलाई बाध्यात्मक वित्तीय दायित्व सिर्जना भएको छ,’ घिसिङले भने, ‘तसर्थ सुरक्षात्मक उपाय अपनाउनु भनेको मानवीय क्षति घटाउनुमात्रै नभई प्राधिकरणको वित्तीय अवस्था पनि सुधार गर्ने अभियान हो ।’ उनले प्राधिकरणको हालको ऊर्जा दक्षता तथा विद्युत् चुहावट नियन्त्रण महाशाखालाई विद्युत् सुरक्षाको पनि काम गर्ने गरी जिम्मेवारी दिइने बताए।

प्राधिकरण वितरण सेवा तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले प्राधिकरणकै कर्मचारीको मानवीय त्रुटिका कारणले दुर्घटना हुने गरेको बताए । ‘सुरक्षाका उपाय अपनाएर मात्रै पोल, तार लगायत मर्मतसम्भारमा जान परिपत्र जारी गरिएको छ, तर कतिपय अवस्थामा त्यसको कार्यान्वयन भएको देखिँदैन । यसलाई कडाइका साथ पालना गर्नु पर्छ,’ उनले भने।

विद्युत् सेवाको तीन स्तम्भका रुपमा रहेका विद्युत् सुरक्षा, गुणस्तरीय सामान प्रयोग एवं किफायति उपयोग र चुहावट नियन्त्रण कार्यको उपभोक्तामा बढीभन्दा बढी सचेतना अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ ।यस वर्षको विद्युतीय सुरक्षा दिवसको नारा ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायति उपयोग : समृद्धिको लागि विद्युत्को उत्पादनशील प्रयोग’ तय गरिएको छ।

सभा हुनुअघि विद्युतीय सुरक्षाका विषयमा जानकारी दिन आयोजना गरिएको र्‍याली प्राधिकरण केन्द्रीय कार्यालयबाट रत्नपार्कबाट सुरु भई भद्रकाली, सुनधारा, न्युरोड गेट, हुँदै रत्नपार्क पुगेर टुंगिएको थियो।नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालको संयुक्त आयोजनामा गत वर्षबाट विद्युतीय दुर्घटनाबारे जनचेतना दिन २६ चैतमा ‘विद्युतीय सुरक्षा दिवस’ मनाउन थालिएको हो।

अधिकांश दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारी दुर्घटनामा पर्ने गरेको प्राधिकरणका आधिकारिक टे«ड युनियनका केन्द्रीय सदस्य दिनेश सिवाकोटीले बताए । ‘अहिले प्राधिकरणमा २६ दैनिक ज्यालादारी कर्मचारी छन्,’ उनले भने, ‘श्रम ऐनमा कामदारलाई अनिवार्य बिमाको व्यवस्था गरेपछि दैनिक ज्यालादारीको बिमा गरिएको छैन ।’ यसले ज्यालादारी कर्मचारीलाई मर्का परेको उनको भनाइ छ।

प्राधिकरणले अव्यवस्थित रुपमा रहेका बिजुलीका तार भूमिगत बनाउने योजनामा लागेको छ । एसियाली विकास बैंक र चिनयाँ पूर्वाधार बैंकको समेत लगानीमा उक्त अभियान थालिएको हो । पहिलो चरणमा विद्युत् प्राधिकरणले महाराजगन्ज र रत्नपार्क क्षेत्रको भूमिगत विद्युतीय संरचना निर्माण गर्दैछ।

 

प्रकाशित: २७ चैत्र २०७४ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App