coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट निर्माणमा लाग्न निर्देशन

काठमाडौं - अर्थ सचिव राजन खनालले आगामी आर्थिक वर्षको बजेट बनाउने कार्यमा केही ढिलो भएको भन्दै मातहतका कर्मचारीलाई ढिलासुस्ती नगरी काममा लाग्न निर्देशन दिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवबाट सरुवा भई अर्थ मन्त्रालय आएका खनालले सोमबार पद बहाली गर्दै उक्त निर्देशन दिएका हुन्।

उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै ‘समृद्ध नेपाल तथा सुखी नेपाली’ भन्ने सरकारको नारालाई सफल बनाउन सबैले सक्रिय, निष्ठापूर्वक र मोलाहिजा नराखी काम गर्नुपर्नेमा जोड दिए ।अर्थसचिव खनालले सरकारको कोष मजबुत बनाउन राजस्व परिचालनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

‘राजस्व चुहावट नियन्त्रण गर्ने, बढ्दै गएको अनौपचारिक अर्थतन्त्रलाई प्रभावकारी रुपमा नियमन गर्ने, सार्वजनिक खर्चमा देखिएको आर्थिक अनियमितता, अनुशासनहीनतामा कडाइ गर्ने, अनावश्यक विदेश भ्रमणलाई नियन्त्रण गर्ने र सार्वजनिक संस्थानको लगानीलाई उत्पादनमूलक बनाउन सार्वजनिक संस्थान सञ्चालनको मापदण्ड निर्धारण गरी लागू गर्नुपर्छ,’ अर्थ सचिव खनालले भने ।खनालका अनुसार पुँजी बजार र आर्थिक क्रियाकलापले समग्र अर्थतन्त्रलाई प्रतिनिधित्व गर्नुपर्नेमा हुन सकेको छैन । पुँजी बजारमा भएको लगानीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न चाहिने पुँजीको रुपमा विकास गर्नुपर्ने हुन्छ।

उनले समष्टिगत आर्थिक परिसूचकहरु सोचेअनुसार हासिल हुन नसकेको बताए । ‘व्यापार घाटा बढ्दै गएको छ । सरकारी कोषको अवस्था बलियो हुन सकेको छैन । मुलुक संघीय संरचनामा रुपान्तरण भइसकेको सन्दर्भमा नागरिकको बढ्दो अपेक्षालाई सम्बोधन गर्न बढीभन्दा बढी स्रोत परिचालन गर्नुपर्ने हुन्छ,’ अर्थ सचिव खनालले भने, ‘स्थानीय तहको क्षमता अभिवृद्धि गर्न पनि पर्याप्त स्रोत जुटाउनुपर्ने हुन्छ ।

बजेटभन्दा बाहिरको स्रोतलाई बजेटभित्र नै समावेश गरी काम गर्नुपर्ने हुन्छ ।’उनले सरकारको खर्चको भारलाई कम गर्न योगदानमा आधारित पेन्सन प्रणाली सम्बन्धी कानुनी व्यवस्था लागू गर्नुपर्नेमा जोड दिएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सचिव खनालले भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्ने, सबै कर्मचारीले पारदर्शी, उत्तरदायी, जिम्मेवार र नैतिकवान भई कार्य सम्पादन गर्ने, आफ्नो सेवा सुविधाभन्दा पनि मुलुक र नागरिकको हितलाई केन्द्रमा राखी काम गर्ने, कुनै पनि कर्मचारीले व्यवहार, शैली, स्वभावबाट अशुद्धताको गन्ध आउने गरी काम नगर्न निर्देशन दिए ।

 

 

प्रकाशित: २७ चैत्र २०७४ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App