७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्वपश्चिम राजमार्गमा ‘ज्यानमारा’ खाल्डा

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित गन्धेली पुल छेउमा परेको खाल्डो । तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज – पूर्वपश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका– १ मा रहेको गाभर खोला पुलको खाल्डोमा मोटरसाइकल पल्टिँदा  फागुन दोस्रो साता दाङ गढवा निवासी शिक्षक नारायणप्रसाद शर्माको मृत्यु भयो। प्रत्यक्षदर्शीका अनुसार नेपालगन्जमा आयोजित शिक्षक संघको प्रदेश अधिवेशनमा सहभागी हुन आउँदै गरेका उनले चलाएको मोटरसाइकल सोही पुलको खाल्डोमा परी अनियन्त्रित भएर दुर्घटना भएको थियो। पुलको छेउमा लामो समयदेखि देखापरेको ‘ज्यानमारा’ खाल्डोलाई समयमा मर्मत नगर्दाको परिणाम शिक्षक शर्माको अकालमा ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन्।

उक्त पुलको पूर्वी भाग गत साउन अन्तिम साता आएको बाढीले भत्काएको थियो। बाढीले पुलको एक छेउ भत्काउँदा दुई दिनसम्म पूर्वपश्चिम राजमार्ग ठप्प भएको थियो। त्यतिबेला नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सडक विभागका कर्मचारीले पुललाई कामचलाउ हिसाबले यातायात सञ्चालनको अवस्थामा पु-याएका थिए। भत्केको पुल समयममै पुनर्निर्माण गर्न सडक विभागले कुनै मतलब गरेन। सरकारले पुनर्निर्माणमा चासो नदिँदा उक्त क्षेत्रमा दुर्घटना बारम्बार दोहोरिने गरेको स्थानीयको भनाइ छ।

‘बाढीले भत्काएपछि सडक विभागले यहाँ आएर एकपटक पनि फर्केर हेरेन,’ राप्तीसोनारी–१ निवासी कमल कार्कीले नागरिकसँग भने, ‘पुलमा रहेको खाल्डोमा परी एक शिक्षकको ज्यानै गयो। अरू पनि सानातिना दुर्घटना भइरहेका छन्।’ पुलमा देखापरेको खाल्डोकै कारण पटकपटक दुर्घटना निम्तिए पनि पुनर्निर्माणका लागि सडक विभागले चासो नदिएको उनले बताए। कार्कीले भने, ‘अझै पनि खाल्डा पुर्ने काम नगरेमा कतिबेला कसको ज्यान जाने ठेगान छैन।’

बाढीका कारण कोहलपुर–लमही सडक खण्डको बीचमा दर्जनौं पुलमा क्षति पुगेको थियो। तीमध्ये राप्तीसोनारी–१ को गाभर र वडा नम्बर २ मा पर्ने गन्धेली पुलमा बाढीले  क्षति पु-याउँदा दुई दिनसम्म यातायात ठप्प हुन पुगेको थियो। गाभरको जस्तै गन्धेली पुलको पनि समयमै पुनर्निर्माण नहुँदा ‘ज्यानमारा’ खाल्डा देखापरेका छन्। सडक विभागले पुलमा देखापरेका खाल्डा पुर्न सकेको छैन। उक्त खाल्डोमा परेर पटकपटक मोटरसाइकल दुर्घटना हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ।

‘बाढीले पुल भत्काएको नौ महिना पुगिसकेको छ। अहिलेसम्म पनि सडक विभागले पुनर्निर्माण सुरु गर्न सकेको छैन,’ एक स्थानीयले नागरिकसँग भने, ‘सबैभन्दा बढी चाप हुने पूर्वपश्चिम राजमार्गको हालत यस्तो छ, भने अरू सडकको त झन् के होला?’ राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न जिल्लासम्म पुग्ने सवारीसाधनहरु दिनरात हजारौंको संख्यामा यही राजमार्ग भएर ओहोरदोहोर गर्छन्। तर, सरकारले  राजमार्गका पुलको मर्मत तथा पुनर्निर्माणमा हेलचक्र्याइँ गरिरहेको छ। समयमा पुलको मर्मत तथा पुनर्निर्माण नगर्ने, एक्कासि यातायात ठप्प भएपछि मात्र चासो दिने सरकारी निकायको प्रवृत्तिका कारण राजमार्गका पुलमा समस्या देखापर्ने गरेको छ।

सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार गत साउन महिनाको बाढीले करिब एक दर्जन पुलमा क्षति पु-याएको थियो। क्षतिग्रस्त सबै पुल मर्मतका लागि सडक डिभिजन कार्यालय नेपालगन्जले सम्पूर्ण खर्चको स्टिमेट गरी करिब १४ करोड रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले तीन करोड रुपैयाँ मात्र बजेट दिएको डिभिजन प्रमुख अर्जुनकुमार बमले बताए।

अर्थ मन्त्रालयबाटै बजेटको अख्तियारी ढिला आएको हुँदा राजमार्गका पुलको पुनर्निर्माणमा ढिलाइ भएको उनको भनाइ छ। ‘असोज/कात्तिकतिर आउनुपर्ने बजेट हामीलाई भर्खरै मात्र प्राप्त भयो,’ उनले भने, ‘बजेट ढिलो आउँदा समयमा पुनर्निर्माण गर्न सकेनौं।’ बाढीले क्षति पु-याएका बाँके र बर्दियाका कुल सात वटा पुल पुनर्निर्माणको योजनामा परेको बमले जानकारी दिए।

बाढीले बढी क्षति गरेको गन्धेली र गाभर पुलसहित कोहलपुरदेखि दाङको सीमासम्म रहेका ५ वटा, कोहलपुर–चिसापानी खण्डको मगरागढीस्थित औरीमा रहेको एउटा र बर्दियाको ओराली बजारदेखि अम्मापुर हुँदा ठाकुरद्वारा जोड्ने औराही खोलाको पुल आगामी असार महिनाभित्रै पुनर्निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का प्रक्रियामा गइसकेको छ।

‘तीन करोड रुपैयाँ बजेटलाई ७ वटा पुल पुनर्निर्माणमा बाँडेर ठेक्का प्रक्रिया सुरु गरिसकेका छौं। कति ठेकेदारले काम सुरु गरिसकेका छन् । केहीले अझै गरेका छैनन्,’ उनले भने।

प्रकाशित: २७ चैत्र २०७४ ०१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App