८ वैशाख २०८१ शनिबार
फोटो फिचर

उता गोली प्रहार, यता स्याहार सुसार (फोटो फिचर)

चितवन–‘रौतहटमा गोली लागेर गैंडा गम्भिर घाइते’ भन्ने खबर सुन्दा चितवन बछौली सौराहा नजिक रहेको जनकौली सामुदायिक वनका वन हेरालु शिवप्रसाद रिमाल साह्रै छटपटिए। चितवनमा लगातार दुई वर्षयता यस्ता खालका कुनै घटनाहरु भएका थिएनन् । रौतहटको खबरले उनी दुखी हुनु स्वभाविकै थियो। घाइते गैंडा उद्दार गरेर जब सौराहा नै ल्याइयो, त्यसको रेखदेखमा खटेका छन् उनै शिव ।

अजंगको वन्यजन्तु गैंडाको सामुन्ने पर्ने कल्पनासमेत गर्न सकिँदैन । तर, शिवप्रसाद रिमाल गैंडाको मुखभित्रै उसले रुचाउने स्याउ, केरा र बन्दा खान दिँदै गरेको भेटिए।

अजंगको वन्यजन्तु गैंडाको सामुन्ने पर्ने कल्पनासमेत गर्न सकिँदैन । तर, शिवप्रसाद रिमाल गैंडाको मुखभित्रै उसले रुचाउने स्याउ, केरा र बन्दा खान दिँदै गरेको भेटिए। उनलाई सघाउँदै थिए सौराहाकै टीकाराम थारु । गैंडाले उनीहरु विरुद्ध प्रतिरोध गर्ने कुरै थिएन । स्याउका दाना पनि सकी नसकी खाँदै थियो।

 

सौराहा ल्याएको घाइते गैंडाको स्याहार सुसारमा रिमाल र चौधरी लगायतका अरु पनिपालै पालै गरेर खटेका छन् । ‘ल्याएको पहिलो दिन केही खाएकै थिएन । अहिले त पटक पटक दिँदा पनि चपाउन छाड्दैन’, वन हेरालु रिमाल हर्षित हुँदै भने । सुरुमा एकै ठाउँ बस्ने गैंडा अहिले हिँड डुल गर्दा निकै खुसी लागेको टीकाराम थारुले बताए ।

टोलीले दिनरात  गैंडाको रेखदेख गरेको छ । सौराहाको हात्तीसार नजिक खुला चौरमा छाडेको घाइते गैंडा कुर्न नेपाली सेनाको एउटा टोली टेन्ट नै टाँगेर बसेको छ । भोकायो कि भन्दै दुई चार घण्टाको फरकमा एक टोली स्याउ, केरा, बन्दा फर्सी राखेको बाल्टिन बोकेर गैंडा अगाडि पुगेको हुन्छ । ‘अहिले त दिनको १५ किलोसम्म फलफूल खान थाल्यो’, निकुञ्जका गेमस्काउट तेजन लामिछानेले भने ।

सामान्यतया ठूला जंगली जनावर गम्भिर घाइते भएपछि निको हुने सम्भावना कमै हुन्छ । तर रौतहटबाट ल्याएको यो घाइते गैंडाले आशा देखाएको छ । गैंडाको ढाँडमा एउटा, दाहिने आँखाभन्दा केही माथि एउटा, गर्धनमा एउटा र निधारमा तीनवटा गरेर छवटा गोली लागेको छ । चोरी सिकारीको कुनै नयाँ सञ्जाल जागेर सिकारु सिकारीले गैंडामाथि आक्रमण गरे जस्तो देखिने चितवन निकुञ्जका अधिकारीहरु बताउँछन्।
‘यसरी धेरै गोली लागेका कारण चोरी सिकारको सम्भावना देखिएको हो ।

खास कुरो के हो रौतहट वन कार्यालयले अनुशन्धान गरेको छ । हामी भने यो गम्भिर गैंडालाई सकेसम्म बचाउने जोडमा छौं’, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्यालले भने । चितवन निकुञ्ज गैंडाको मुख्य वासस्थल हो । रौतहटमा फाट्ट फुट्ट मात्रै गैंडा देखिन्छन् ।

रौतहट चन्द्रपुर नगरपालिका–२ गैंडाटार जंगलमा भदौ ४ गते शनिबार बिहान घाइते अवस्थामा एउटा वयस्क भाले गैंडा फेला परेको थियो ।  सो घाइते गैंडालाई उद्धार गरेर आइतबार चितवन ल्याइएको हो । ल्याएको दिन केही नखाएको गैंडालाई छ पोका स्लाइन पानी दिएर राखिएको थियो । त्यसपछि विस्तारै खाने कुरामा लोभिएको गैंडा बाँचछ कि भन्ने आशा जागेको छ।

चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.कमल गैरे, पुरुषोत्तम पाण्डे र अमिर सडौलाको चिकित्सक टोली गैंडाको उपचारमा संलग्न छन् । खुवाउनेदेखि घाउमा किरा मार्ने औषधि राखने काम लगातार हुने गरेको छ । हिँड्दै गरेको गैंडा लडेर उठ्न नसके हात्तीले उठाउने गर्छ ।

‘आफ्नै छोरा छोरी, दाजुभाइ वा बुबाआमाको जसरी सुसार गरेका छन्’ बछौलीको मृगकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगनाले भने । चितवन निकुञ्ज वरपरका वस्तीमा गैंडा लगायतका वन्यजन्तुले आक्रमण गर्दा वर्षमा १२ जनाभन्दा धेरैको ज्यानै जान्छ । तर पनि स्थानीय गैंडाको रेखदेखमा जुटेका हुन्छन् । घाइतेलाई माया गरेर मान्छेलाई झै स्याहार गर्छन् ।

‘रौतहटमा मान्छेले नै गोली हानेर घाइते बनाएको हो ।  चितवनमा तिनै मान्छेले गैंडालाई यस्तो स्याहार गरेका छन् । मध्यवर्तीमा संरक्षण प्रति जागेको जागरणको परिणाम हो यो’, मध्यवर्ती अध्यक्ष ढुंगनाले भने । चितवनमा विस २०७१ साल बैशाख २० गतेयता चोरी सिकारीले कुनै गैंडा मारेका छैनन् । रौतहटको दुखद घटनाले आफुहरु साह्रै चिन्तित बनाएको ढुंगनाले बताए ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App