परिवार आवरण

उद्यम सिकाउन पहल

सोमबार, २६ चैत २०७४, १७ : ४१ नागरिक

उद्यमी कुशकुमार जोशीको मनमा एक किसिमको डर थियो, कतै आफ्ना छोराछोरीलाई विदेशमा पढाएपछि उतै बस्ने हुन् कि ? अष्ट्रेलियाको बोन विश्वविद्यालमा इन्टरप्रेनरसिप विषयमा अध्ययन गर्न पठाएकी छोरी सहारा र बेलायतको लिड्स विश्वविद्यालयमा इन्टरनेसनल बिजनेस गर्दैगरेका छोरा कुशल विदेशमै रमाउने हुन् कि भन्ने चिन्ताको विषय थियो । कुशले एउटा उपाय निकाले, त्यो भनेको बिदाका बेलामा उनीहरूलाई नेपालमै बोलाउने, परिवारसँग छपक्कै भिजाउने ।

‘बिदाको बेलामा यतै बोलाएपछि त्यहाँ पैसा कमाउने र त्यहाँको पैसामा रमाउने भन्ने कुरा हुँदैन,’ कुशकुमार भन्छन्, ‘त्यहीँ बसेर पैसा कमाउने लोभ जाग्दैन । घरमा आउँछन्, बस्छन्, पारिवारिक भावनात्मक सम्बन्ध बलियो हुन्छ, परिवारको मायामोह हुन्छ ।’  उतै बस्ने हुन् कि भन्ने चिन्ताका पछाडि नेपालको अस्थिर राजनीति, असुरक्षा, सानो बजार र नियम–कानुनअनुसार नचल्ने परिपाटी नै हो । नेपालका अधिकांश युवा मुलुकको परिस्थितिबाट विरक्तिएर विदेश पलायन भइरहेको पृष्ठभूमिमा कुशकुमारले नेपालमै छोराछोरीलाई रोख्न चालेको कदम कामयाबी भएको  छ । तीन वर्षयता छोरी सहारा हिमालयन बाम्बो कम्पनी हाँक्दै छिन् । सुरुको एक वर्ष बाबुसँगै काम सिकेकी सहारा अहिले बाम्बो कम्पनीको प्रमुख कार्यकारी भएकी छन् । उता छोरा कुशल भने एक वर्षदेखि कुशकुमारको सबैभन्दा पुरानो कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) मा मार्केटिङ एसोसिएट्सको भूमिकामा छन् । ‘छोरीले बाम्बोको पूरै जिम्मेवारी लिइसकेकी छन्,’ कुशकुमार भन्छन्, ‘छोरा एक वर्षदेखि इन्टर्न गर्दैछ, काम सिक्दै छ ।’ आफ्नै कम्पनीमा काम सिक्दै गरेका छोराले चाँडै नयाँ बिजनेस थाल्न सक्ने विश्वास देखिन्छ कुशकुमारमा ।

सहारा भन्छिन्, ‘हामीलाई नेपालमै बसेर केही गर्नुपर्छ भन्ने गरी हुर्काइएको हो ।’ त्यस्तै कथन कुशलको छ । कुशल भन्छन्, ‘पढिसकेपछि नेपालमै आएर काम गर्ने सोच थियो, त्यही मान्यतामा काम गर्दैछु ।’ भर्खर काममा लाग्दै गरेका छोरा–छोरीलाई नेपाल अस्तव्यस्त र भ्रष्टाचारले बेला–बेलामा अत्याउने गरेको अनुभव गरेका छन् कुशकुमारले र त्यस्तो बेला आफू बलियो आधार बनेर अगाडि उभिन्छन् उनी । ‘मैले केही आधार बनाएको छु, अब छोरा–छोरीले आफ्नो क्षमताले त्यसलाई अगाडि बढाउनु पर्छ,’  कुशकुमार भन्छन्, ‘कम्पनीमा छोरा–छोरीले बाबुले गरेको कामलाई अगाडि बढाउने हो । बाबुको दबाब उनीहरू हुनुहँुदैन ।’ तीन दशकदेखि उद्यममा लागेका कुशकुमार अध्ययनले इलेक्ट्रिकल इन्जिनियर हुन् । उनले सबैभन्दा पहिले २८ वर्षअघि थाइल्यान्डको इकरात इन्जिनियरिङसँगको साझेदारीमा स्थापना गरेको निक ट्रान्सफर्मर उत्पादनमा अब्बल मानिन्छ । नेपाल पूर्वाधार विकास कम्पनीका संस्थापक कुशकुमार, लिबर्टी इनर्जी हाइड्रो पावर, इनर्जी इन्जिनियरिङ र हिमालयका ब्याम्बोका अध्यक्ष हुन् । २८ वर्ष अघि २ करोड ४० लाखको लागतका स्थापना गरेको निकको तुलनमा ब्याम्बो उद्योगमा ८ करोडको लगानी रहेको बताउँदै कुशकुमार भन्छन्, ‘ब्याम्बो प्रोजेक्टको सबै जिम्मेवारी छोरीमा छ । उनी निर्णायक तहमा छिन्, म त जिम्मेवारी दिँदै आफू अभिभावकीय भूमिकामा बस्ने सोचमा छु ।’ १५ वर्षअघि काठको फ्लोरिङ लगायतका काम गर्दै आएका जोशी २०७२ वैशाखको भूकम्पपछि नेपालमा ब्याम्बो, काठ लगायतका सामग्रीको माग बढेको विश्लेषण गर्दै नयाँ क्षेत्रमा हात हालेका हुन् । कुशकुमार भन्छन्, ‘उद्यम, व्यापार प्रतिको समर्पण, इमानदारिता, सम्झौता नगर्ने बानी र आफ्ना ब्रान्डप्रति प्रतिबद्धता मुख्य सूत्र हुन्, मसँगको संगतमा छोरा–छोरीले यही कुरा सिक्दैछन् ।’

छोरी सहारा यहीँबाट स्नातकोत्तरको अध्ययन पनि गर्दैछिन्— डिजास्टर म्यानेजमेन्टमा । ‘हामीहरू नेपालमै काम गर्ने हो भन्ने हिसाबले अगाडि बढाइएका हौं, त्यही मान्यतामा नेपालमा आएर काम थालेका छौं,’ सहाराले भनिन्, ‘नेपालका अधिकांश युवामा नेपालमै बसेर काम गर्ने चाहना छैन, मेरा ८० प्रतिशत साथी विदेशमै रमाएका छन्, नेपालबाट ब्रेन ड्रेन भइरहेको छ ।’ आफूले बाबुबाट व्यापार, उद्यम कसरी गर्ने भनेर सिकिरहेको उनी बताउँछिन् । सहारा भन्छिन्, ‘मैले जे–जति सिकेकी हुँ, त्यो बुबाबाट नै हो ।’ नेपालको राजनीतिक, प्रशासनिक व्यवस्था भने उनीहरूका लागि सबैभन्दा चुनौती देखिन्छ । ‘यहाँ काम गर्न प्रशस्त धैर्य चाहिने रहेछ, कठिन परिस्थितिको सामना गर्नुपर्छ,’ सहारा भन्छिन्, ‘यहाँ कुनै सिस्टम छैन, आफँैले सबै थोक गर्नुपर्छ ।’ परिवारका सदस्यहरूबीच अफिस, घर र घुम्न जाँदा पनि बिजनेसकै कुरा हुने अनुभव सहारासँग छ ।

नेपालमा युवालाई काम गर्न लगानीको पनि उत्तिकै समस्या रहेको उनको अनुभव छ । ‘कतिपय युवा पुस्ता आफ्नो हिसाबले काम गर्न चाहन्छन् तर बैंकहरूले प्रोजेक्टमा लगानी गर्दैन,’ सहारा भन्छिन्, ‘यहाँ दिगो भएर काम गर्न प्रशस्त चुनौती छन्, त्यसैले धेरै युवा देश छाडेर बाहिर जान्छन् ।’ नेपालमा बजार खोज्न पनि चुनौती रहेको उल्लेख गर्दै सहारा भन्छिन्, ‘नयाँ पुस्ताले झेल्नुपर्ने यस्ता समस्यामा अघिल्लो पुस्ताले सहयोग र समन्वयात्मक भूमिका खेल्नुपर्छ ।’ विदेशमा पढेका नेपाली युवा नेपाल फर्किनुपर्ने र उनका परिवारले जिम्मेवारी दिने र सहयोग गर्ने वातावरण बनाउने धारणा कुशकुमारको छ । उनी भन्छन्, ‘विदेशमा खर्च गरेर पढेको उनीहरूलाई दिन हो र ?’

अहिलेको पुस्ता नयाँ सोच र चिन्तनको अवस्थामा रहेकोले उनीहरूले आफ्नै हिसाबले काम गर्नुपर्ने धारणा राख्छन् कुशकुमार । ‘बाबुले गरेकै काम गनुपर्छ भन्ने छैन, आफैँले नयाँ–नयाँ क्षेत्र खोज्न सक्नुपर्छ,’ कुशकुमार भन्छन्, ‘हामी अघिल्लो पुस्ता भनेका प्लेटफर्म मात्र हौं ।’

भर्खर काम सिक्दै गरेका कुशल आफ्नै केही गर्ने सोचमा देखिन्छन् । ‘फरक किसिमको काममा लाग्ने सोच बनाएको छु, त्यसैमा लाग्छु,’ कुशल भन्छन्, ‘नेपालमै काम गर्न पढेर फर्र्र्किएको हुँ, बुबाले स्थापना गरेका उद्यम, व्यापारलाई फरक किसिमले बिस्तार गर्ने हो, फैलाउने हो, ठूलो बनाउने हो ।’ जोशी परिवार सोलार फार्मिङको नयाँ योजनामा लागिरहेको देखिन्छ ।

कुशलको विचारमा नेपालको सानो बजार भएकाले काम पनि सजिलो छ  । उनी भन्छन्, ‘हाम्रो छिमेकमा भारत–चीनजस्ता ठूल्ठूला बजार भएकोले नेपालमा ठूला कम्पनीको छिर्दैनन्, त्यसैले नेपालमा व्यापारमा ठूलो प्रतिस्पर्धा हुने सम्भावना देखिँदैन ।’

उद्यममा बजार लिन लामो समयसम्म धैर्य राख्नुपर्ने उदाहरण दिन्छन्, कुशकुमार । ‘निकलाई बजारमा स्थापित गराउन १५ वर्ष लाग्यो, अहिले यसको माग राम्रो छ ।’ अहिलेको पुस्ताले उद्यम र व्यापारमा धैर्यता राख्नुपर्ने र कतिपय अवस्थामा घाटा खाएर पनि आफ्ना उत्पादनको गुणस्तरमा सम्झौता गर्न नहुने सुझाव उनको छ ।

कुशकुमारको परिवारमा छोरी सहारा, छोरा कुशल छन् जो बाहिर उद्योगधन्दा र व्यापारमा सक्रिय छन् । गृहिणी भूमिकाकी सुनिताले भने घर सम्हालेकी छन् । ‘सुनिताले घर सम्हालेकाले मात्र  हामी बाहिर काम गर्न पाइरहेका छौं ।’ 

नयाँ पुस्तालाई लगानी समस्या
–डा. सुदर्शन बस्नेत, नेपाली युवा उद्यमी मञ्च, सदस्य नेसनल गभर्निङ काउन्सिल
नेपालमा व्यापार व्यवसाय गरिरहेका आधा जसोले बिस्तारै–बिस्तारै आफ्ना उद्यम बिजनेसमा छोराछोरीलाई जिम्मा दिन थालेका छन् । आफैँसँग अभिभावकत्व राखेर आफ्ना सन्तानलाई जिम्मेवारी दिँदै जाने नीति लिएको देखिन्छ । सबैले नभएर केहीले नयाँ भेन्चर पनि दिएको देखिन्छ । खास गरेर सुरुमा व्यवस्थापनमा जिम्मा दिने र पछि निर्णायक स्थान दिने गरेको देखिन्छ । उदाहरणमा चौधरी गु्रपमा विनोद चौधरीले आफ्नो कारोबार छोराहरूमा बाँडेका छन् । चौधरी परिवारकै वसन्तले छोरी मेगालाई अगाडि बढाएका छन् । अरुण चौधरीले करणलाई अघि सार्दै छन् । ज्योति ग्रुपबाट सौरभ ज्योति अगाडि आउँदैछन् । पञ्चकन्या गु्रपमा उदिम श्रेष्ठ कारोबारमा आएका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा आफ्नो पारिवारिक व्यापारलाई रूपान्तरण गरिहाल्ने भन्दा पनि नयाँ पुस्तालाई हिजोदेखिका काम अगाडि बढाउन प्रशिक्षित गर्दै लगेको देखिन्छ । यसको अर्थ नयाँ पुस्ताले नयाँ जिम्मेवारी लिएको छैन भन्ने होइन । कतिपयले विगतदेखि चल्दै आएका उद्यम, व्यापारमा नयाँ टेक्नोलोजी भित्र्याएका छन् । खासमा अहिलेको दोस्रो पुस्ताको लगानी भनेको पहिलो पुस्ता हो । उनीहरू पुरानै जगमा अलिकति नयाँपन ल्याउन खोजिरहेका छन् ।
पुराना पुस्ताका कतिपयमा आफूले गरेको, कमाएको सम्हालेर बसे हुन्थ्यो भन्ने मानसिकता रहेको हुन्छ । त्यही मानसिकताको मारमा उनीहरूको नयाँ पुस्ता चुनौती झेल्दै पनि छ । व्यापार उद्यममा फस्ट जेनरेसन भनेको रिस्क टेकर हो । रिस्क टेकर भए पनि हत्तपत्त घर परिवारबाट लगानीको स्वीकृति पाएका हुँदैनन् । विरासत धान्नेहरू आफ्नै हिसाबले अगाडि बढ्दै छन् । धेरै जसोले पहिलो पुस्ताले दिएको जिम्मेवारी सम्हालिरहेको अवस्था छ भने नयाँ र पहिलोपटक आफ्नै नेतृत्वमा उद्यम, व्यापारमा लगानी गर्न चाहनेहरू पनि धेरै छन् । लगानीका हिसाबले दुवै पुस्ता समस्यामा छन् । खास गरेर उद्यममा जान चाहने पहिलो पुस्ताका लागि आर्थिक लगानी समस्याका रुपमा देखिएको छ । नेपालका बैंकहरूले घरजग्गामा पैसा दिन्छन्, उद्यम, व्यापारमा ऋण दिँदैनन् । कमर्सियल बैंकहरू प्रोजेक्ट लगानीमा ऋण दिन तयार रहेको अवस्था छ तर राष्ट्र बैंकले उनीहरूलाई रोकेको छ ।

हामीले पटक–पटक प्रोजेक्ट लोनका लागि लबिङ गर्दै आएका छांै तर राष्ट्र बैंकले मानिरहेको छैन । नयाँ पुस्ताका लागि प्रोजेक्ट लगानीको अहिलेको मानसिकतामा परिवर्तन आवश्यक छ । नयाँ गर्छु भन्नेहरूका लागि यो ठूलो समस्या हो । विरासत धान्दै आएका दोस्रो तेस्रो पुस्ता पनि लगानीको हिसाबले अघिल्लो पुस्तामा निर्भर देखिन्छन् । उनीहरूलाई उद्यम व्यापारमा सहभागी गराएको भए पनि स्रोत परिचालनको अधिकार दिइएको हुँदैन ।

युवा उद्यमीहरूको मञ्च, युवा उद्यमीको चुनौती र सम्भावनाका क्षेत्रमा काम गर्दै आएको युवाहरूको मञ्च हो । युवा उद्यमी मञ्च २००६ देखि अस्तित्वमा आएको हो । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरज वैद्यले महŒवका साथ नेपाली युवा उद्यमी मञ्चलाई अगाडि बढाएका हुन् । मञ्च उद्योग वाणिज्य संघको संरक्षकत्वमा रहेको भए पनि यसको आफ्नै स्वतन्त्र हैसियत छ ।

मुलुक चरम द्वन्द्वमा रहेको बेला मञ्च अस्तित्वमा आएको हो । त्यसबेला खास गरेर वामपन्थी धारमा रहेकाहरू उद्यम व्यवसाय गर्नुलाई अपराध जस्तै मान्थे । हामीले उद्यम, व्यापारलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ भन्ने सोच बनाएर काम गर्दै आएका छौं । ‘नेपालीकोे चाहना शान्तिको कामना’ युवा उद्यमी मञ्चले सुरु गरेको हो । माओवादी द्वन्द्व चर्किएको त्यो बेलामा पैसा कमाउनु हुन्न भन्ने भावनाले घर गरेको थियो समाजमा । व्यापारीहरू, उद्यमीहरू पुँजीपति दलाल भनिन्थे, नकारात्मक भावना चर्किएर गएको थियो । यस्तो अविश्वासको वातावरण दोस्रो जनआन्दोलनपछि आएको राजनीतिक परिवर्तनले पूरै बद्लियो । हामीले त्यसबेलाको आन्दोलन हाँक्ने सात वटा दलका युवा संगठनहरूसँग भाइचाराको सम्बन्ध बनायौं । उनीहरूसँग संवाद बढायौं, चरण–चरणमा कुराकानी भए । त्यसपछि हामीले उद्यमी सम्मेलन गर्न थाल्यौं । हामीले ‘उद्यमशीलता देशको इन्जिन हो’ भन्ने नारा दियौं र नेपाल मेड प्रदर्शनी आयोजना गर्न थाल्यौँ । यस पटक पनि चैत २ देखि नेपाल मेडको छैटौं संस्करण गर्दैछौं । पहिलो प्रदर्शनीमा १०–२० किसिमका उत्पादन मात्र रहेका थिए तर छैटांै प्रदर्शनीमा आइपुग्दा १५० वटा स्टल राखिएका छन् । अहिले हामीसँग औद्योगिक उत्पादनका साथसाथ फैलँदै गएको सेवाको क्षेत्र छ । सुरुमा हाम्रो प्रदर्शनीमा सिमेन्ट, रड, ट्रान्सफर्मर, जुत्ता, कपडा, खुकुरी थिए । अहिले हामीसँग सिमेन्ट, छड, रक्सी, वाइनजस्ता उत्पादन र सेवा क्षेत्र सहभागी भएका छन् । सिमेन्टले आयात रोकिसकेको अवस्था छ । छडमा हामीसँग त्यत्तिकै बलियो बजार छ । नेपालमा उच्चस्तरको रक्सी उत्पादन हुन्छ । वाइन प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा हामी छौँ । सेवा क्षेत्र, सञ्चारमाध्यममा ठूलो लगानी छ, अस्पताल, स्कुल, कलेज, पर्यटन, उड्डयनजस्ता क्षेत्रमा हामी निकै अगाडि फड्को मारेका छौँ ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad