coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

लोमस कम्पनीको मेरुदण्ड

तीन दशकअघि प्रदीपजंग पाण्डेले औषधि उद्योग खोलेर उद्यममा हात हाल्दा छोराहरू सानै थिए । लोमस फर्मास्युटिकल  प्रालि स्थापना गरेका औषधि उत्पादनको क्षेत्रमा हात हालेका प्रदीपको परिवार अहिले बैंक, इन्सुरेन्सजस्ता वित्तीय संस्थामा ठूलो लगानीकर्ताका रूपमा छन् । सिमेन्ट उद्योग, स्कुल, कलेज, व्यापार हुँदै अहिले हेलिकप्टर सेवाबाट हवाई र पर्यटन क्षेत्रमा हात हालेको देखिन्छ— लोमस गु्रपले । ३३ वर्षअघि स्थापना भएको लोमसलाई समयअनुसार प्राविधिक हिसाबले तयार राख्ने र नयाँ–नयाँ क्षेत्रमा हात हाल्ने योजनामा रहेको छ— लोमस समूह ।  

‘प्रतिकूल अवस्थामा छोराहरूले काम गर्न सिकेका छन्,’ प्रदीपले भने, ‘फजुल खर्च गर्न हुँदैन, उद्यमी भए भनेर घमण्ड गर्न मिल्दैन भन्ने मेरो मान्यता हो, छोराहरूले यो कुरा बुझेका छन् ।’  

६७ वर्षका पाण्डे अझै आफँै सक्रिय छन् र लोमस ग्रुपको अध्यक्षता गरिरहेका छन् । आफ्नो र श्रीमती उर्मिला पाण्डेको नाममा रहेको लोमस फर्मास्युटिकललाई सबै कम्पनीको मेरुदण्ड मान्छन् प्रदीप । ३३ वर्षअघि स्थापनामा भएको उद्योगलाई प्रारम्भिक दिनमा आफ्नो प्रत्यक्ष रेखदेखमा रहेको भए पनि छोराहरू पढ्दै स्वदेश फर्किएपछि उनीहरूलाई जिम्मेवारी दिँदै गएको कथन प्रदीपको छ । ‘तीनवटै छोरा लाइनमा लागेका छन्, विदेश गएनन्, जाओ भन्दा पनि जाँदैनन्, यहीँ बसेर लोमसको छाताभित्र रहेर काम गर्दैछन्,’ प्रदीपले भने, ‘आ–आफ्नो हिसाबले उद्यम, व्यापारका अन्य क्षेत्रमा पनि हात हालिरहेका छन्, हामीले जे–जेमा हात हालेका छौं, त्यसमा सफल भएका छौं ।’
नेपालको लामो राजनीतिक संक्रमणकाल, राजनीतिक द्वन्द्व, लोड सेडिङ, अस्थिर सरकार र नीतिनियमका उल्झनका बीच छोराहरू नेपालमै बसेर काम गरिरहेको अवस्थालाई उपलब्धि ठान्छन् प्रदीप । ‘प्रतिकूल अवस्थामा छोराहरूले काम गर्न सिकेका छन्,’ प्रदीपले भने, ‘फजुल खर्च गर्न हुँदैन, उद्यमी भए भनेर घमण्ड गर्न मिल्दैन भन्ने मेरो मान्यता हो, छोराहरूले यो कुरा बुझेका छन् ।’  

प्रदीपका अनुसार छोराहरूलाई उनीहरूको पढाइ र चाहनाअनुसार जिम्मेवारी दिइएको हो । जेठो छोरा प्रबलले इन्जिनियरिङ पढेका छन् । उनी लोमसको डाइरेक्टर र इस्टर्न कसमस सिमेन्टका प्रमुख कार्यकारी छन् । त्यस्तै, माहिला छोरा प्रतापले फाइनान्स अध्ययन गरेका हुन् । उनी लोमसको स्वामित्व रहेका विभिन्न वित्तीय संस्थामा महŒवपूर्ण जिम्मेवारी सम्हाल्दै अहिले कैलाश हेलिकप्टर ल्याएका छन् । कान्छा प्रज्ज्वलले फार्मेसी अध्ययन गरेका छन् । उनी लोमस फर्मास्युटिकल कम्पनीमै कार्यकारी निर्देशकको भूमिकामा छन् । कसमस सिमेन्ट जनकपुरको प्रोजेक्टमा भने प्रदीपका साला धु्रवराज थापा प्रमुख कार्यकारी छन् भने निर्देशकमा छोराहरू छन् ।

प्रदीप भन्छन्, ‘हाम्रो एकल पारिवारिक लगानी भएको क्षेत्रमा हामी परिवारका सदस्यहरूले जिम्मेवारी लिएका हुन्छौं, अन्य वित्तीय संस्थाहरू जो कम्पनी लिमिटेडमा छन्, तिनमा आवश्यकताअनुसार हाम्रो सहभागिता रहन्छ, ती कम्पनी आफ्नै नियममा चलिरहेका छन् ।’

दुईवटा मोडलबाट पाण्डे परिवार उद्यम क्षेत्रमा सक्रिय रहेको देखिन्छ । वित्तीय क्षेत्रमा ठूलो सेयर होल्डरको रूपमा बेला–बेलामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र लोमसको छाताभित्रका खुलेका उद्योगहरूमा परिवारका सदस्यहरूले रेखदेख र जिम्मेवारी लिने । शिखर इन्सुरेन्स, सिटिजन्स बैंक, सिटिजन्स इन्सुरेन्समा अध्यक्षको नेतृत्वदायी भूमिका निर्वाह गरिराखेका प्रदीप पछिल्लो समय लोमसमा केन्द्रित छन् । ‘म त अब भइरहेका उद्योगहरू कसरी फैलाउने, विस्तार गर्ने भन्नेमा केन्द्रित छु, नयाँ थप्ने योजना छैन,’ प्रदीपले भने, ‘छोराहरू आफूमा आएको काम, जिम्मेवारी सम्हाल्दै नयाँ क्षेत्र पहिल्याउँदै छन् ।’ आफूले सुरु गरेका उद्योगहरूको साथसाथ छोराहरूले आफ्नै नयाँ क्षेत्र खोजिरहेको उनको कथन छ । प्रबलको व्यापारमा हात हालेको, प्रतापले पर्यटन र उड्डयन क्षेत्रमा लगानी गरिरहेको र प्रज्ज्वलले स्कुल, कलेजमा सक्रिय रहेको प्रदीप बताउँछन् । एउटा काम सफल भएपछि मात्र अर्को काममा हात हाल्ने सूत्र प्रदीपले अपनाएका छन् । उनी भन्छन्, ‘एकै पटक धेरै काममा हात हाल्यो भने कुनैमा पनि फोकस हुन सकिँदैन ।’
छोराहरूका लागि आफूले आधार तयार गरिदिएको प्रदीपको मान्यता छ र उनीहरू आफ्नै पदचिह्नमा हिँडिरहेकोमा उनमा सन्तोष देखिन्छ । ‘हामी उद्यमीको काम जनतालाई सेवा दिने, राज्यलाई कर तिर्ने र रोजगारी सृजना गर्ने, कम्पनीका कर्मचारीलाई खुसी राख्ने हो,’ प्रदीपले भने, ‘मेरो यो मान्यता छोराहरूले ग्रहण गरेका छन्, हामी फेयर गेम मात्र खेल्छौं ।’
प्रताप पाण्डेले करिब १५ वर्ष बैंकिङ क्षेत्रमा बिताएर अहिले उड्डयन क्षेत्रमा हात हालेका छन् । कैलाश हेलिकप्टरमा कार्यकारी निर्देशक प्रताप आफूहरू सामूहिक लगानीको विश्वास गर्ने समूह भएको बताउँछन् । फिलिपिन्सबाट एमबीए गरेका प्रतापले अध्ययन सकेर फर्किएको केही समय बाबु प्रदीप अन्तर्गत रहेर मूल कम्पनी लोमसमा काम गरे भने त्यसपछि बैंक वित्तीय संस्थामा काम गरे । विभिन्न कम्पनीमा विभिन्न व्यापारिक घरानाहरूसँग मिलेर काम गरेको बताउँछन् प्रताप । ‘बैंक, वित्तीय संस्था सबै जोड्दा हामी नेपालका सयौं व्यापारिक घरानासँग मिलेर काम गर्दै आएका छौं,’ प्रताप भन्छन्,  ‘सामूहिकतामा हामी विश्वास गर्दछौं ।’ प्रदीपको कथन छ, ‘एकभन्दा धेरै परिवारसँग मिलेर काम गर्दा राम्रो हुन्छ भने आफ्नै परिवारका सदस्यहरूको मिलोमतोमा काम हुँदा झन् राम्रो हुने नै भयो ।’

बाबु–आमा र तीन छोराहरूसमेत ५ जना बोर्ड सदस्य रहेको लोमस सबै कम्पनीको छाता रहेको प्रतापले बताए । ‘हामी त्यही लोमसको वरिपरि छांै,’ प्रताप भन्छन्, ‘हामी कसले के गर्ने, कसरी गर्ने, कोसँग मिलेर काम गर्ने भन्ने जस्ता उद्यमका कुरा आपसमा छलफल गरेर मात्र गर्छाैं ।’ बुबाले सिर्जेको उद्यमको विरासतमा के–के लिए त पाण्डे दाजुभाइले ? कान्छा प्रज्ज्वल भन्छन्, ‘विरासत पनि हो र हामीमा विरासत ग्रहण गर्ने क्षमता रहेको भन्ने पनि हो ।’ ओरालो लागेका कतिपय कम्पनी र व्यापारिक घरानाको उदाहरण दिँदै प्रदीप भन्छन्, ‘बाबु–बाजेले कमाएको पुगिहाल्छ भन्ने हो भने त्यो त सकिँदै जान्छ, अघिल्लो पुस्ताले छोडेकोमा थप्दै जानु वास्तविक उद्यम हो ।’

लगनशीलता, मिहिनेत, इमानदारीजस्ता मन्त्र आफूले बाबुबाट पाएको र त्यसलाई अनुसरण गरिरहेको बताउँछन्, प्रताप । त्यस्तै कथन प्रज्ज्वलको पनि छ । बाबु प्रदीपमा लगनशीलता, परिश्रम गर्ने र निष्ठावान् भएको बताउँदै प्रज्ज्वल भन्छन्, ‘बुबाबाट सिकेका यी कुरा लागू गर्दैछु ।’ बंगलादेशबाट फार्मेसी अध्ययन गरेपछि लोमस फर्मास्युटिकल्समा आबद्ध प्रज्ज्वल सफलताको छोटो बाटो नभएको अनुभव गर्दैछन् । ‘सफल कसरी हुने कुनै निश्चित फर्मुला छैन,’ प्रज्ज्वल भन्छन्, ‘निरन्तरको लगाव र परिश्रमबाट अगाडि बढ्न सकिन्छ ।’

लामो समयसम्म समर्पण र समयसापेक्ष प्राविधिक क्षमता थप्दै नगएको अवस्थामा पछि परिने आँकलन पाण्डे परिवारले गरेको छ ।  प्रज्ज्वल भन्छन्, ‘औषधि उद्योग प्रविधिजन्य उद्योग हो, प्रत्येक चरणमा नयाँ–नयाँ प्रविधि थप्दै गइएन भने टिक्न सकिँदैन, भएको बजार पनि खस्कँदै जान्छ ।’ आफूले नयाँ प्रविधिमा जोड दिएको र उच्चस्तरको उत्पादन थालेको उनले बताए । ‘पहिला देशभित्रै मात्र थियौं, अहिले विदेशमा पनि औषधि निर्यात गर्ने कम्पनीको रूपमा लोमस अगाडि आएको छ,’ प्रज्ज्वल भन्छन्, ‘हामीले प्रविधि र गुणस्तरमा जोड दिँदै आएका छौं ।’ व्यापार, उद्योगमा सेवा भावलाई उच्च स्थानमा राखेको प्रदीप बताउँछन् ।

सामूहिक लगानीमा विश्वास गर्ने लोमस ग्रुपका अध्यक्ष प्रदीप अरू–अरूसँग मिलेर काम गर्दा अरूको ऊर्जा पनि प्राप्त हुने बताउँछन्, ‘यसो गर्दा नयाँ काम गर्ने बल मिल्छ, काम गर्ने दायरा फराकिलो हुँदै जान्छ ।’ नेपालका सयांै व्यापारिक घरानासँग मिलेर काम गरिरहेका पाण्डे परिवारको बसोबास पनि सामूहिक जस्तै छ । बाबु–आमा, जेठो र माइलो छोराको भान्सा एउटै छ भने कान्छो छोरा केही वर्षयता भिन्न छन् । प्रताप भन्छन्, ‘बिहान प्रायः हामीसँगै खाना खान्छौं, बेलुकाको भने ठेगान हुँदैन ।’  घरको जिम्मेवारी उर्मिला पाण्डेले सम्हालिरहेको उनीहरूको कथन छ । सामाजिक क्षेत्रमा आबद्ध उर्मिला लोमसको एउटा सशक्त खम्बा रहेको प्रदीप बताउँछन् । जेठी बुहारी जोत्स्ना पाण्डे इन्सुरेन्स कम्पनीमा कार्यरत रहेको, माइली पूजा पाण्डे मेगा बैंकमा र कान्छी अनुपमा आफ्नै स्कुल कलेज सम्हालिरहेकी छन् । प्रदीप भन्छन्, ‘घरमा नातिनातिना उर्मिलाले सम्हालेकाले हामीले बाहिर काम गर्न पाएका छौं ।’
नेपालका व्यापारिक घरानाहरूमा बलियो आधार बनाएको लोमस गु्रपमा पाण्डे दाजुभाइ उत्साही देखिन्छन् । ‘बुबाले इम्पाएर खडा गर्नुभएको छ, हामी त्यसलाई अगाडि बढाउने प्रयास गर्दैछौं,’ प्रताप भन्छन्, ‘हामी फेयर काम गर्छौं, हामीबीच कुनै त्यस्तो जटिल समस्या आउँदैन, फेयर खेल नखेल्नेहरू समस्यामा परिरहन्छन्, कहिल्यै पनि माथि उठ्न सक्तैनन् ।’

प्रकाशित: २६ चैत्र २०७४ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App