८ वैशाख २०८१ शनिबार
समाज

आर्थिक गणनाका लागि तयारी पूरा

आर्थिक गणना सम्बन्धी जानकारी दिन दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरू। तस्बिरः दमन राई/नागरिक

खोटाङ – आर्थिक गणनाका लागि खोटाङमा पूर्वतयारी थालिएको छ। आगामी वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि गणक नियुक्ती, सचेतनामूलक कार्यक्रम, प्रचार–प्रसार लगायतका गतिविधि गरिएको केन्द्रीय तथ्यांक विभाग, आर्थिक गणना कार्यालय खोटाङले जनाएको छ।

जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थितीको मूल्यांकन गर्न र उपयुक्त आर्थिक नीति तथा कार्यक्रमहरु तर्जुमा गर्नका लागि आर्थिक गणना गर्न लागिएको आर्थिक गणना अधिकृत खगेन्द्र कार्कीले बताए। आर्थिक गणनाका लागि खोटाङमा १७ गणक नियुक्ती गरेर परिचालनका लागि तयारी गरिएको छ।

आर्थिक गणनाकाक्रममा जिल्लाका विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने सबै प्रतिष्ठान तथा व्यवसायको गणना गर्ने तयारी गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभिन्न बस्तु उत्पादन गर्ने लघु, साना तथा ठूला उद्योग, होटल तथा लज, निर्माण व्यवसाय, शैक्षिक संस्था, यातायात व्यवसायी, सूचना तथा सञ्चार सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने संस्था, थोक तथा खुद्रा विक्री गर्ने व्यवसाय, स्वास्थ्य संस्था, म्यान पावर, गैर–सरकारी संस्था, पशुपालन, कुखुरा फर्म, जडिबुटी, नर्सरी लगायतको गणना गरिने आर्थिक गणना अधिकृत कार्कीले बताए।

‘योजना तर्जुमा तथा नीति निर्माणमा संघ, प्रदेश तथा स्थानीय तहका लागि प्रतिष्ठान तथा व्यवसायको व्यवसायी क्रियाकलाप सम्बन्धी वर्तमान अवस्था र यसका वित्तिय पक्षसहित आधारभुत तथ्यांक उपलव्ध गराउने गणनाको उद्धेश्य हो,’ सोमबार दिक्तेलमा आयोजित सचेतना गोष्ठीमा कार्कीले भने, ‘यसक्रममा आर्थिक क्रियाकलाप गरिरहेका प्रतिष्ठान एवं व्यवसायको ठेगानादेखि, दर्ता, स्वामित्व स्थिति, व्यवसायका प्रकार, सञ्चालन, स्थिति, क्रियाकलाप, पुँजी लगानी, ऋणमा पहुँच लगायतका विवरण संकलन गरिने छ।’

आर्थिक क्रियाकलाप अनुशार प्रतिष्ठान तथा व्यवसायको कुल संख्या, बैधानिक स्थिति सम्बन्धी तथ्यांक, क्षेत्रगत प्रतिष्ठानको घनत्व, लिंग अनुसार रोजगारीको स्थिति, बैदेशिक पुँजीको लगानी, प्रतिष्ठानको ऋणमा पहुँच लगायतका सूचक प्राप्त गर्नका लागि नेपालमै पहिलो पल्ट राष्ट्रिय आर्थिक गणना गर्न लागिएको हो।

घरमा पुग्ने गणकले कागजी प्रश्नावली फारम वा ट्यावलेट कम्प्यूटर प्रयोग गरेर आर्थिक गणना गर्ने तथा उत्तरदाता आफैले पनि आफ्नो व्यवसायको विवरण भर्न सक्ने जनाइएको छ। आर्थिक गणना निश्पक्ष र पारदर्शी हुनुपर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाले सुझाव दिए।

जिल्ला आर्थिक गणना समन्वय समिति अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले आर्थिक गणनालाई फलदायी बनाउन आग्रह गरे। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले आर्थिक गणनालाई ‘मिथ्यांक’ नबनाउन सुझाव दिए।

प्रकाशित: २६ चैत्र २०७४ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App