coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कागती खेतीमा वडाध्यक्ष

कागतीको बिरुवा गोडमेल गर्दै वडाध्यक्ष फुलकमल राई। तस्बिरः दमन राई/नागरिक

खोटाङ – काठमाडौं बसेर अध्ययन गरिरहेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका फुलकमल राईले पोलटिकल साइन्समा डिग्री उत्तीर्ण गर्दा परिवारमा ‘राम्रो जागीर खालान्’ भन्ने आशा पलाएको थियो। तर, डिग्री सके लगत्तै २०७२ सालमा काठमाडौंबाट फर्किएका राईले जागीर होईन गाउँ फर्किएर मदरल्याण्ड एग्रोफर्म दर्ता गरे, र आफ्नै पाखारेखामा कागतीका कलिला बिरुवा रोप्न थाले। ‘

लेखपढ भएका मान्छेले जागीर खानु पर्छ, खेतीपातीका काम गर्नु हुँदैन’ भन्ने समाजका अगाडि कागतीका बेर्ना रोप्न थाल्दा उनलाई मति बिग्रियो भन्ने पनि निस्किए। अनेक कुरा पनि काटे। उनले गाउँ फर्किए लगत्तै ४ रोपनी जग्गामा कागती लगाए। कागतीका करिव ५ हजार बेर्ना लगाउने लक्ष्य राखेका राईले २०७३ सालमा कागतीको क्षेत्रफल १७ रोपनीमा फैलाए। यसपल्ट कागतीको खेतीलाई बिस्तार गर्दै करिब ३५–४० रोपनीमा पु¥याउने लक्ष्य राखेको राईले बताए।

व्यवसायिकरुपमा कागती खेती लगाएका राईले लेमनेट (जुस) उत्पादन गर्ने लक्ष्य राखेका छन्। माक्पालाई जिल्लामा कागतीको पकेट क्षेत्र मानिन्छ। यस कारण पनि उनले कागती खेतीलाई रोजेका हुन्। मकै, कोदो र गहुँ खेती हुँदै आएको जग्गामा कागती खेती लगाएका छन्। कागती बगानभित्र उनले अन्तरबालीकारुपमा अकबरे खुर्सानी लगाएका छन् । ‘पढालेखाले कृषि सम्बन्धी काम गर्नुहुन्न भन्ने होईन,’ उनले भने, ‘आफू स्वरोजगार बनेर अरुलाई रोजगार दिने लक्ष्यका साथ कागती खेतीमा लागेको हुँ।’ उनलाई डिग्री उत्तीर्ण श्रीमती सुनिता राईले साथ दिइरहेकी छन्।

स्थानीय तहको निर्वाचनपछि फुलकमलको भूमीका फेरिएको छ। उनी माक्पाका वडाध्यक्षमा चुनिएका छन्। कतिपय वडाध्यक्ष विवाद र अपराधमा मुछिएको समाचार आइरहदा हाल उनले वडाबासीलाई पनि आफूजस्तै कृषि व्यवसायिक बनाउनका लागि योजना बनाउने र कार्यान्वयन गर्ने भूमीका पनि निर्वाह गरिरहेका छन्।

वडाध्यक्षमा चुनिएपछि हलेसी–सालपा एग्रोटुरिज्म सम्बन्धी योजनालाई पास गराएर कृषिको व्यवसायिक विकासमा लाग्ने योजना बनाइएको राईले बताए। ‘हलेसीदेखि सालपासम्म एग्रोटुरिज्म क्षेत्र बनाउने योजना छ,’ राईले भने, ‘एग्रोटुरिज्मको विकास गर्न सके कृषिको व्यवसायिकरणमा टेवा पुग्ने छ।’

प्रकाशित: २६ चैत्र २०७४ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App