८ वैशाख २०८१ शनिबार
खेल

विराट कोहलीको बेङ्लोर पहिलो खेलमै स्तब्ध

कोलकत्ता – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्सलाई दिनेश कार्तिकको कोलकाता नाइट राइडर्सले ४ विकेटले स्तब्ध पारेको छ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको  बेङ्लोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो।

बेङ्लोरका लागि एवी डि भिलियर्सले सर्वाधिक ४४ बनाएका थिए। उनले २३ बलमा १ चौंका र ५ छक्का प्रहार गरे। ब्रेन्डन म्याकुलमले २७ बलमा ६ चौंका र २ छक्काको मद्दतमा ४३ रनको योगदान दिएका थिए। त्यस्तै मन्दिप सिंहले १८ बलमा ३७ र कप्तान विराट कोहलीले ३३ बलमा ३१ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ कोलकत्ताका विनय कुमार र नितिश रानाले २–२ तथा पिउस चावला, सुनिल नारायन र मिचेल जोनसनले एक–एक विकेट लिए।  

जवाफमा १ सय ७७ रनको लक्ष्य कोलकत्ताले खेल सकिन ७ बल अघि ६ विकेटको क्षतिमा भेट्टायो। घरेलु दर्शकमाझ कोलकाताको जितमा म्यान अफ द म्याच सुनिल नारायनले विस्फोटक ब्याटिङ गर्ने क्रममा १९ बलमा ४ चौंका र ५ छक्काको सहायतामा सर्वाधिक ५० बनाए। त्यस्तै कप्तान दिनेश कार्तिकले २९ बलमा नटआउट ३५ र नितेश रानाले २५ बलमा ३४ रनको योगदान दिए।

बलिङतर्फ बेङलोरका लागि क्रिस ओक्सले ४ ओभरमा ३६ रन दिएर ३ तथा उमेश यादवले ४ ओभरमा २७ रन दिएर २ विकेट दिएपनि टोलीलाई जिताउन सकेनन्। त्यस्तै वासिङटन सुन्दरले पनि एक विकेट लिए।

यसअघि हिजो सम्पन्न पहिलो खेलमा डिल्ली डेयर डेभिल्सलाई पराजित गर्दै किंग्स इलाभेन पञ्जावले आइपिएलमा विजयी सुरुवात गरेको छ।

प्रकाशित: २६ चैत्र २०७४ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App