५ वैशाख २०८१ बुधबार
खेल

युभेन्ट्सको अग्रता फराकिलो

मिलान – पाउलो डिबालाको ह्याट्रिक प्रेरित युभेन्ट्सले शनिबार पुछारको टोली बेनेभेन्टोमाथि ४–२ को जित हासिल गर्दै इटालियन सिरी ‘ए’ अंकतालिकाको शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ।

डिबालाको गोलमा १६औं मिनेटमा युभेन्ट्सले अग्रता लिए पनि त्यसको आठ मिनेटपछि चिक डियाबाटेले बेनेभेन्टोका लागि बराबरी गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई मध्यान्तरअघि नै २–१ को अग्रता दिलाए । ५१औं मिनेटमा डियाबाटेले दोस्रो पटक बेनेभेन्टोलाई बराबरीमा ल्याए पनि त्यो काम लागेन।

डिबालाले ७४औं मिनेटमा प्राप्त अर्को पेनाल्टीलाई गोलमा परिणत गरे भने डगलस कोस्टाले समय सकिन आठ मिनेट बाँकी रहँदा गोल गरेर युभेन्ट्सको सहज जित पक्का गरे।

जितपछि युभेन्ट्स ३१ खेलको समाप्तिमा ८१ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा एक खेल कम खेलेको नेपोली ७४ अंकका साथ दोस्रो स्थानमा कायम छ।

च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेगका लागि मध्यसातामा रियाल मड्रिड भ्रमण गर्ने तयारीमा रहेको युभेन्ट्सका लागि यो जितले मनोबल बढाउन सक्छ । तथापि पहिलो लेगमा ३–० ले पछि परिसकेका कारण टोलीको पुनरागमन कठिन हुनेछ।

तेस्रो स्थानको एएस रोमाका लागि शनिबारको दिन सुखद रहेन । कप्तान डेविड एस्टोरीको दुखद निधनबाट पीडित रहेको फियोरेन्टिनाले रोमामाथि २–० को जित हासिल गर्यो । दिवंगत कप्तान एस्टोरीलाई समर्पण गरिएको फियोरेन्टिनाको जितमा मार्को बेनासी र जियोभानी सिमोनले गोल गरेका थिए।

इटालियन सिरी ‘ए’ मा शनिबारै सम्पन्न अर्को खेलमा एसपिएएल र एट्लान्टाले १–१ तथा आइतबार साम्पडोरिया र जिनुवाले गोलरहित बराबरी नतिजा निकाले।

प्रकाशित: २६ चैत्र २०७४ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App