न्युयोर्क – बंगलादेशमा बसिरहेका रोहिन्जा शरणार्थीलाई फिर्ता लान म्यानमार तयार नभएको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएकी छन्।
संयुक्त राष्ट्रसंघले म्यानमारको रखाइन राज्यमा बसिरहेका राज्यविहीन रोहिन्जा समुदायमाथि सरकारले ‘जातीय सफाया’ गरिरहेको आरोप लगाएपछि पहिलो पटक म्यानमार भ्रमणमा गएर न्युयोर्क फर्किएकी राष्ट्रसंघीय उच्च अधिकारी उर्सुला मुलरले यस्तो धारणा सार्वजनिक गरेकी हुन्।
गत वर्षको अगस्ट २५ का दिन रोहिन्जा विद्रोहीले एकैपटक २० वटा प्रहरी चौकीमा आक्रमण गरेपछि सरकारले गरेको जबाफी कारबाहीका कारण ज्यान जोगाउन सात लाखभन्दा बढी रोहिन्जा छिमेकी देश बंगलादेश पुगेका छन्।
बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको म्यानमारमा रोहिन्जा मुसलमानलाई बंगलादेशबाट म्यानमार प्रवेश गरेका गैरकानुनी आप्रवासीका रूपमा हेर्ने गरिएको छ।
बंगलादेशको कोक्स बजारस्थित शरणार्थी शिविरका उनीहरुको अवस्था अत्यन्तै नाजुक रहेको बताउने गरिएको छ। ‘मैले विभिन्न मानिसबाट सुने र देखेअनुसार रोहिन्जा मुसलमानको स्वास्थ्य सेवामा पहुँच छैन, सुरक्षाको चिन्ता त्यत्तिकै मात्रामा बढिरहेको छ, निरन्तर विस्तापित भइरहेका छन्। त्यसैले बंगलादेशमा रहेका रोहिन्जाको म्यानमार फिर्तिका लागि सुरक्षित वातावरण बनिसकेको छैन,’ ६ दिन लामो म्यानमार भ्रमण सकेर फर्किएकी संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका उपमहासचिव उर्सुला मुलरलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
राष्ट्रसंघीय उच्च अधिकारी मुलरको धारणाका बारेमा रोयटर्सले गरेको प्रश्नमा म्यानमाली सरकारका प्रवक्ताले भने तत्कालै केही प्रतिक्रिया जनाएनन्। म्यानमार सरकारले यसअघि बंगलादेश सरकारसँग गत नोभेम्बर महिनामा रोहिन्जा शरणार्थीलाई म्यानमार फिर्ता लानेबारेमा गरेका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएको थियो। म्यानमारले रोहिन्जाको फिर्ति अत्यन्तै उचित, सम्मानजनक र सुरक्षित हुने पनि जिकिर गरेको थियो।
हालसम्म म्यानमारले फिर्ता लाने केही हजार सम्भावित रोहिन्जा प्रमाणित गरेको छ। यसरी प्रमाणित गरिएका ती रोहिन्जा म्यानमार फर्किने पहिलो ‘ब्याच’ भएको र उनीहरुको सहजता म्यानमार फर्कन सक्ने म्यानमारका एक अधिकारीले गत महिना बताएका थिए।
म्यानमारले रखाइन प्रान्तमा अति नै अपवादका रूपमा मुलरलाई जान दिएको र सेना नियन्त्रित रक्षा तथा सीमा मन्त्री तथा देशको सर्वमान्य नेत्री आङ साङ सुकीसहित सर्वसाधारण नागरिकलाई पनि भेट गर्न दिएको बताइएको छ।
‘मैले म्यानमारका सरकारी अधिकारीलाई रोहिन्जाविरुद्ध भइरहेको हिंसा अन्त्य गर्न आग्रह गर्दै बंगलादेशको कोक्स बजारस्थित शरणार्थी शिविरका बसिरहेका शरणार्थीलाई स्वेच्छिक र सम्मानजनक रूपमा म्यानमार आउन दिन आग्रह गरें,’ म्यानमारको ठूलो सहर यांगुनमा रोयटर्सलाई दिएको अन्तर्वार्ताका क्रममा मुलरले बताइन्। प्रतिउत्तरमा म्यानमाली अधिकारीहरुले भने आफ्नो देश मुसलमान आतंकवादीविरुद्ध लडिरहेको जनाएको उनले बताइन्।
बंगलादेशी अधिकारीहरुले पनि म्यानमारले रोहिन्जा शरणार्थीलाई फिर्ता लग्ने विषयमा केही समयअघि शंका व्यक्त गरेका थिए।
यसै वर्षको जनवरी महिनामा म्यानमार र बंगलादेशले दुई वर्षभित्र बंगलादेशको कोक्स बजारस्थित शरणार्थी शिविरमा बसिरहेका रोहिन्जा शरणार्थीको स्वेच्छिक म्यानमार फिर्ता कार्यक्रम सम्पन्न गर्ने विषयमा सहमति गरेका थिए। उक्त सम्झौताबमोजिम म्यानमारले दुईवटा सोधपुछ केन्द्र स्थापनासमेत गरेको थियो। उसले उक्त केन्द्र बंगलादेशबाट फर्किने रोहिन्जाको पहिलो समूहलाई लिनका लागि अस्थायी रूपमा रखाइन राज्य नजिकै स्थापना गरेको बताएको थियो।
बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको म्यानमारमा रोहिन्जा मुसलमानलाई बंगलादेशबाट म्यानमार प्रवेश गरेका गैरकानुनी आप्रवासीका रूपमा हेर्ने गरिएको छ। रोहिन्जा समुदायप्रति म्यानमाली सेनाले गरेको कारबाहीलाई संयुक्त राष्ट्रसंघले जातीय सफायाको संज्ञा दिएको थियो, जुन विषयलाई म्यानमारले भने अस्वीकार गरेको थियो।
प्रकाशित: २६ चैत्र २०७४ ०३:४१ सोमबार