८ वैशाख २०८१ शनिबार
राजनीति

उपप्रधानमन्त्रीद्वय थापा र केसीलाई हटाउन माग

काठमाडौं–संविधानको शपथ खाएका मन्त्रीले त्यसको उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उनीहरूलाई हटाउन माग गरेको छ ।उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीले संविधानविरुद्ध अभिव्यक्ति दिएको र आन्दोलन घोषणा गरेकाले उनीहरूलाई बर्खास्त गरी संविधानको रक्षा गर्न कांग्रेसले माग गरेको हो ।

व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकमा कांग्रेसका सांसदले संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारका मन्त्रीलाई संविधानविपरीत अभिव्यक्ति दिने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने छुट नरहेको दाबी गरे ।
उपप्रधानमन्त्री तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रहादुर केसीको राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा साउन मसान्तसम्मका लागि आन्दोलन कार्यक्रम घोषणा गरेको कांग्रेस सांसदले बताए । केसीको पार्टीले केही दिनअघि मात्र देशव्यापी रूपमा संविधानमा ग्यारेन्टी गरिएको विषय खारेजीका लागि दबाब दिन आन्दोलन गर्ने घोषणा गरेको थियो । उक्त कार्यक्रममलाई अध्यक्ष केसीले सम्बोधन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

त्यस्तै उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको पार्टी राप्रपा नेपालले पनि धर्म निरपेक्षताको विरोध गर्दै दोहोरो चरित्र प्रर्दशन गरिरहेको भन्दै कांग्रेस सांसदले उनलाई हटाउन माग गरेका छन् । सार्वजनिक रुपमा उनीहरुको आलोचना हुने थालेपछि प्रतिपक्षी कांग्रेसले मंगलबार संसदको विशेष र शून्य समयमा यस्तो आवाज उठाएको हो ।
कांग्रेस सांसदहरू रामहरि खतिवडा र अर्जुनप्रसाद जोशीले संविधानको सपथ खाएका मन्त्रीलाई संविधानविपरीत अभिव्यक्ति दिने तथा आन्दोलन गर्ने छुट नरहेको भन्दै त्यस्ता मन्त्रीले कि त नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने, नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए । ‘संविधानको अक्षरशः पालना गर्छु भनी उपप्रधानमन्त्रीहरूले पद लिनुभएको होला,’ खतिवडाले भने, ‘पद लिएपछि त्यसको मानमर्दन गर्न मिल्छ ?’
संविधानको रक्षा गर्ने जिम्मेवारी बोकेपछि त्यसको विरोध गर्ने अधिकार नहुने भएकाले दुईमध्ये एक रोज्न उनले दुई मन्त्रीलाई आग्रह गरे । ‘म संसदबाट वहाँहरूलाई आग्रह गर्दछु,’ खतिवडाले भने, ‘कि पार्टी रोज्नुस् कि मन्त्री ।’
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कांग्रेसका सांसदलाई जवाफ फर्काउँदै त्यसको बचाउ गरिन् । संविधानले फरक विचार राख्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले त्यही अधिकारको प्रयोगस्वरुप आफ्नो पार्टी आन्दोलनमा गएको जिकिर गरिन् ।

 

प्रकाशित: ८ असार २०७३ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App