coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

जनप्रतिनिधिलाई सार्वजनिक कार्यक्रममा हिँड्दै ठिक्क

ललितपुरको गोदावरी नगरपालिकास्थित चापागाउँका अमरराज श्रेष्ठ शुक्रबार बिहान १०ः३० बजे गोदावरी नगरपालिकाको कार्यालयको परिसरमा भेटिए।

उनी त्यहाँ मेयर गजेन्द्र महर्जनलाई भेट्न आएका थिए । तर, मेयर कार्यालयमा नहुँदा उनको भेट हुन सकेन । कार्यालय पुगेको एक घन्टासम्म (११ः३० बजे) मेयर कार्यालय पुगेनन् ।
उनले तीन दिनयता मेयरलाई भेट्न नपाएको गुनासो गरे।

‘कार्यालयमा जनप्रतिनिधिलाई भेट्नै गाह्रो छ,’ उनले भने, ‘कार्यालयमा भएका बेला पनि त्यति चासो दिँदैनन् ।’  सार्वजनिक कार्यक्रममा जाने गरेकाले जनप्रतिनिधिहरू कार्यालयमा भेट्न मुस्किल पर्छ । कहिले त उनीहरू दैनिक चार घन्टा पनि कार्यालयमा भेटिँदैनन् । यसले सेवाग्राही हैरान बनेका छन्।

सेवाग्राहीहरू भने जनप्रतिनिधिले समय नदिएको गुनासो गर्छन् । ‘मेयरसा’पलाई भेट्न आएको यो तेस्रोपल्ट हो,’ आइतबार ललितपुर महानगरपालिकामा भेटिएका सुरेन्द्र अवालले भने, ‘फोन गरेर आउँदा पनि भेट्न पाइन्न।’

उनले महानगरसँगको समन्वयमा सम्पदा क्षेत्रमा काम गर्दै आएकाले कार्यतालिका मेयरलाई बुझाउन आएको सुनाए । ‘हामीले निर्वाचित भएपछि यहाँका मेयरलाई एकपल्ट मात्रै भेटेका छौं,’ उनले थपे, ‘त्यसपछि पटक–पटक कार्यालय धाउँदा पनि मेयरसा’पले समय दिनुभएन, धेरैजसो त उहाँ कार्यालयमा भेटिनुहुन्न।’

तर, महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्थानीयलाई सक्दो समय दिएको दाबी गरे । उनले आफू कार्यालयमा भएका बेला आएका सबैजसो सेवाग्राहीको गुनासो सुन्ने र उनीहरूका समस्यामा सवलीकरण गर्दै आएको बताए।

‘धेरैजसो त बाहिरी कार्यक्रममै व्यस्त भइन्छ,’ मेयर महर्जनले घुमाउरो पारामा स्वीकारे, ‘धेरैले सार्वजनिक कार्यक्रममै गुनासो राख्नुहुन्छ, कार्यालयमा हुँदा कार्यालयका काम पनि गर्नुपर्ने हुन्छ, फेरि स्थानीयले बोलाएका सार्वजनिक कार्यक्रममा सहभागी हुनुपर्छ, यदि बाहिरी कार्यक्रममा धेरै हिँड्न नपरेको भए आफ्ना अजेन्डामा केन्द्रित हुनु पाउँथ्यौं।’ उनले दैनिक चारभन्दा बढी बाहिरी कार्यक्रममा सहभागी हुने गरेको बताए ।

‘नजाउँ भने मेयर ठूलो बन्न खोज्यो, हामीलाई वास्तै गर्दैन भन्ने खालका गुनासा आउँछन्, जाउ भने आफ्ना काम गर्न भ्याइन्न,’ उनले कार्यक्रममा जानु पर्ने कारण प्रष्ट्याए । उनका अनुसार समुदाय, सरकारी निकाय, नगरपालिकालगायत कार्यक्रममा जनप्रतिनिधिलाई बोलाइने गरेको छ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जनप्रतिनिधि भएयता कार्यालयभित्र बसेर काम गर्ने समय कम भएको बताए । उनले मुख्य समय बाहिरी कार्यक्रममै बित्ने गरेको स्वीकारे । ‘स्थानीय नै आफ्ना कार्यक्रममा बोलाउँछन्, कसैकोमा जाने कसैकोमा नजार्ने गर्न मिलेन,’ उनले भने, ‘दिनमा कम्तिमा पनि ६ भन्दा बढी कार्यक्रममा सहभागी हुनुपर्छ, यसले पनि कार्यालयभित्रको काममा अप्ठेरो पारेको छ।’

 ललितपुरमा मात्रै होइन, अन्य जिल्लाका स्थानीय निकायका प्रमुखहरूलाई पनि सार्वजनिक कार्यक्रममा जान भ्याइनभ्याइ छ । मेयर र उपमेयरको समय सार्वजनिक कार्यक्रममै बित्न थालेपछि त्यसको असर सेवाग्राहीमा परेको छ।

सार्वजनिक कार्यक्रममा जाने गरेकाले जनप्रतिनिधिहरू कार्यालयमा भेट्न मुस्किल पर्छ । कहिले त उनीहरू दैनिक चार घन्टा पनि कार्यालयमा भेटिँदैनन् । यसले सेवाग्राही हैरान बनेका छन् ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापती पनि आइतबार बिहान ९ बजे ‘बिस्केट जात्रा’को कार्यक्रममा पुगे । उनले जात्रामा करिब दुई घन्टा बिताए । कार्यक्रम सकिनेबित्तिकै उनी फेरि स्वास्थ्यसम्बन्धि अर्को कार्यक्रममा सहभागी भए ।मेयर प्रजापती पनि बाहिरका कार्यक्रममा हिँड्दा कार्यालयभित्रको काम गर्न कठिन परेको स्वीकार्छन् । ‘मेरो क्षेत्रमा हुने मुख्य कार्यक्रममा मात्रै जान थालेको छु,’ उनले भने, ‘नजाउँ भने गाह्रो, जाउँ भने कार्यालयको काम गर्ने मुख्य समय बाहिरै हिँडेर बित्छ।

’ उनले बाहिरी कार्यक्रममा हिँड्दा धेरै समय खेर जाने भएपछि हिजोआज तालिका बनाएर काम गर्न थालेको सुनाए । उनी दैनिक ६ भन्दा बढी कार्यक्रममा पुग्ने गरेको जानकारी दिए। काठमाडौं दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले पनि बाहिरी सार्वजनिक कार्यक्रममा हिँड्दा दिक्क भएको सुनाए । उनले भने, ‘कुनै कार्यक्रममा नजाँदा आयोजकले गाली गर्छन्, जाउँ भने कार्यालयमा आएर कुर्नेहरूले गाली गर्छन्।

बाहिरी कार्यक्रमले हामीलाई निकै अवरोध पारेको छ ।’ बाहिरी कार्यक्रममा हिँड्दा बढी समय खर्च हुन थालेपछि उनले पछिल्लो समय आफ्नो सट्टा कार्यालयका अरुलाई प्रतिनिधि पठाएको बताए।  ‘मेयरले काम गरेन भनेर गुनासोमात्रै आउँछ, नगर क्षेत्रमा विभिन्न टोल र समुदायले गर्ने कार्यक्रमहरूले धेरै नै समय खर्च गरिदिएका छन्,’ उनले भने, ‘अब त मन्त्रालय तहका कार्यक्रमहरूमा मात्रै सहभागी हुने सोच बनाएको छु।’
एनजिओ–आइएनजिओको कार्यक्रममा जनप्रतिनिधि
उपत्यकामा हुने गैरसरकारी संस्थाहरूका धेरैजसो कार्यक्रममा जनप्रतिनिधिहरू नै देखा पर्छन् । ती कार्यक्रममा जनप्रतिनिधिलाई नै प्रमुख अतिथि बनाइएको हुन्छ । उनीहरू ती कार्यक्रमहरूमा भाषण गर्नसमेत भ्याउँछन् । कार्यालय र नगर क्षेत्रको काममा तल्लीन हुनु पर्ने जनप्रतिनिधिहरू यस्ताखाले कार्यक्रमहरूमा सहभागी हुँदा त्यसको असर सेवाग्राहीमा परेको छ । ‘तीन महिना बधाइ खाँदैमा बिताए ।

अहिले सार्वजनिक कार्यक्रममा हिँड्दै ठिक्क छ ।’ भक्तपुर मध्यपुर थिमीमा मोहन श्रेष्ठले भने, ‘जनप्रतिनिधिहरू यस्तै कार्यक्रममा हिँडेर समय व्यतित गर्ने भए नगर क्षेत्रका काम कसले गरिदिने ?’ उनले हिजोआज नगर क्षेत्रमा हुने टोलस्तर र गैरसरकारी संस्थाका कार्यक्रमहरूमा जनप्रतिनिधि नै भेटिने गरेको सुनाए । उनले थपे, ‘दिनमा ६ भन्दा बढी कार्यक्रममा सहभागी भएर भाषण गरेर आउने जनप्रतिनिधिहरूले दैनिक ६ ठाउँमा गरेका वाचा पूरा गर्लान् भन्ने आसै छैन।

’ काठमाडौंको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले पनि एनजिओ आइएनजिओहरूले कार्यक्रमहरूमा बोलाएर हैरान पार्ने गरेको बताए । उनले भने, ‘गैरसरकारी संस्थाहरूले पनि कार्यक्रमहरूमा बोलाएर हैरान बनाउँछन्, कहाँ कहाँ भ्याउनु ? आजकाल त यस्ताखाले कार्यक्रममा सहभागी हुन्न।’

प्रकाशित: २६ चैत्र २०७४ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App