७ वैशाख २०८१ शुक्रबार
समाज

औषधि अभावले उपचार प्रभावित

रुकुम – जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँ औषधि अभाव चुलिएको हो। जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइएको बिरामीले गुनासो गरेका छन्।

अस्पतालमा औषधि सकिएपछि बिरामी निजी स्वास्थ्य संस्थाबाट चर्काे मूल्यमा औषधि किन्न बाध्य छन्। सानीभेरी–९, हाँसिवाङका खिमबहादुर ओलीले दुई हजारभन्दा बढी रुपैयाँ हालेर निजी मेडिकलबाट औषधि किने। ‘मैले बिरामीलाई चाहिने सबै औषधि मेडिकलबाट किनेँ,’ उनले भने, ‘अस्पतालमा जाँचमात्र भयो।’ विपन्न समुदायलाई उपचार लिन समस्या भएको उनले बताए।

‘अस्पतालमा औषधि छैन्,’ त्रिवेणी–३ का मनवीर नेपालीले भने, ‘निजी स्वास्थ्य संस्थाबाट औषधि किन्न पैसा छैन।’ विपन्न र गरिब समुदायका व्यक्तिलाई उपचारमा समस्या हुने गरेको उनले बताए। औषधि किन्न पाइँदैन भन्दा स्वास्थ्यकर्मीहरूले आफूलाई अभद्र व्यवहार गरेको उनी सुनाउँछन्। जिल्लामा बाँकी औषधि पनि एक हप्तासम्मका लागि मात्र भएको चिकित्सक सुशील पोखरेलले जनाए। ‘अहिले कसले औषधि खरिद गर्ने भन्ने अन्योल भएको छ,’ उनले भने, ‘यसले गर्दा बिरामी समस्यामा परेका छन्।’

जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइएको बिरामीले गुनासो गरेका छन्।

जिल्ला अस्पतालमै औषधि अभाव हुँदा यहाँका स्वास्थ्य चौकीमा पनि औषधि अभाव भएको छ। स्टक औषधि करिब महिनाअघि सकिए पनि स्वास्थ्य संस्थामा औषधि पुग्न नसकेको स्वास्थ्य चौकीहरूको भनाइ छ। जिल्लामा एक जिल्ला अस्पताल, ४१ स्वास्थ्य चौकी र दुई प्राथमिक उपचार केन्द्र छन्। उनीहरूले सामान्य परामर्श र जाँच गरेर निजी स्वास्थ्य संस्थामा पठाउने गरेका छन्। बेलाबेलामा क्षेत्र र केन्द्रमा जानकारी गराए पनि औषधिको आपूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य सेवा सबैलाई, जहिले पनि, जहाँ पनि भन्ने नारा नारामै सीमित भएको मुसीकोट–२ का हरिबहादुर खड्काले बताए। बिरामीले जहिले र जहाँ उपचार नपाएको उनको गुनासो छ। अबको एक सातासम्मलाई मात्र सामान्य औषधि भएको निमित्त प्रमुख सविन पोखरेलले जानकारी दिए। जिल्लामा ४० लाख रुपैयाँबराबरको औषधि खरिद हुन्छ।

हाल जिल्ला अस्पताल सल्लेमा दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेका छन्। ‘अब बिरामी आउने समय हो,’ निमित्त प्रमुख पोखरेलले भने, ‘भएका औषधिले चैत महिनासम्म धान्न पनि मुस्किल छ।’ यस्तो अवस्थामा औषधि पु-याउन निकै समस्या भएको उनले बताए।

अस्पताल विकास समितिका अध्यक्ष शिवकुमार आचार्यले स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा औषधि खरिदमा समस्या भएको बताए। जिल्ला स्वास्थ्य कार्यालयलाई अहिले अधिकार नदिइएको भन्दै सबै रकम स्थानीय तहमा गएको उनको भनाइ छ। ‘अहिले हामीसँग रकम छैन,’ उनले भने, ‘औषधि खरिद गर्ने रकम स्थानीय तहमा गएको छ।’ स्थानीय तहले औषधि खरिद गर्न नसक्दा समस्या भएको उनी बताउँछन्। एक वर्षदेखि जिल्ला स्वास्थ्य कार्यालयमा औषधि खरिद नभएको आचार्यले जानकारी दिए। गत वर्षकै औषधिले काम चलाइरहेको बताइएको छ।

प्रकाशित: २६ चैत्र २०७४ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App