coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मेडेप बहिर्गमनपछि स्थानीय तहलाई जिम्मेवारी

रामेछापको मन्थलीमा सञ्चालित नेपाली कागज उद्योगबाट उत्पादित नेपाली कागज र उद्योगबारे छलफल गर्दै । फाइल तस्बिर : मन्जु/नागरिक

रामेछाप – जिल्लामा लघु उद्यमका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको लघु उद्यम विकास कार्यक्रम (मेडेप) बहिर्गमन भएको छ । सन्् २००४ देखि काम गर्दै आएको मेडेप कार्यक्रम जिल्लामा करिब १४ वर्ष काम गरेर परियोजना बाहिरिएको हो । परियोजना बाहिरएसँगै सो को जिम्मेवारी यतिबेला स्थानीय तहमा पुगेको छ।

सन् १९९८ मा १० जिल्लाबाट सुरु गरिएको मेडेपले सन् २००४ मा २५ जिल्लामा काम गर्ने लक्ष्य बनायो । सन् २००८ देखि ३८ जिल्लामा कार्यक्रम विस्तार गर्दै मेडेप सन् २०१८ देखि जिल्लाबाट बहिर्गमन हुने भएको छ । युनडिपीको ट्र्याक कोषबाट सुरु गरिएको परियोजनामा युनडिपी, डिएफआइडी, न्युजिल्यान्ड एड र अस्ट्रेलियन एडसमेतको सहयोग रहेको मेडेपका क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय हेटौडाका प्रबन्धक सविता कोइरालाले जानकारी दिइन्।

जिल्लामा लघु उद्यमको सम्भावनाको  खोजी, उद्यम स्थापना र उद्यमीहरुलाई आवश्यक सहयोग गर्दै आएको मेडेप कार्यक्रमले १४ वर्षको अवधिमा चार हजार ६ सय ९८ जना उद्यमी बनाएको छ । त्यसमध्ये महिलाको संख्या धेरै रहेको छ । जिल्लामा दुई हजार ६ सय ७४ महिला उद्यमी र एक हजार तीन सय २० पुरुष उद्यमीको तथ्यांक रहेको प्रबन्धक कोइरालाले जानकारी दिइन्।

सुरुको चरणमा मेडेप कार्यक्रमकै नाममा परियोजना सञ्चालन गरिएपनि सन् २०१३ देखि सरकारको कार्यक्रममा आन्तरिकीकरण गरिएको थियो । मेडेप कार्यरत ३८ जिल्लालाई मेडपा (गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम)मा रुपान्तरण गर्ने र बाँकी जिल्लामा पनि मेडपा विस्तार गर्ने लक्ष्यसाथ काम गरेको परियोजना बहिर्गमनसँगै स्थानीय तहका उद्यमी र उद्यमको विकासको जिम्मा अब स्थानीय तहमा थपिएको हो।

परियोजना बाहिरिदै गर्दा  जिल्लाका उद्यमीहरुलाई सहयोग र विकास गर्न आवश्यक रहेको जिल्ला लघु उद्यमी समूह संघ रामेछापका अध्यक्ष गुन्जबहादुर कार्कीले बताए । उनले जिल्लामा ठूला उद्योगहरुको सम्भावना अत्यन्त न्यून रहेको अवस्थामा साना तथा लघु उद्यमको सम्भावना अत्यधिक रहेको कार्कीले बताए । उनले उद्यम विकासको जिम्मा स्थानीय तहमा गएको अवस्थामा उद्यमीसँग सम्बन्धित संस्था र स्थानीय तहको समन्वय जरुरी रहेको कार्कीले बताए।

मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले श्रम विदेश पलायनलाई रोक्न सक्ने नीति तयार गरेर कार्यान्वयन गर्ने हो भने मुलुक समृद्ध बन्ने दाबी गरे।हाल जिल्लामा स्थानीय तहगत रुपमा हेर्ने हो भने सबैभन्दा बढी उद्यमी मन्थली नगरपालिकामा र सबैभन्दा कम दोरम्बा गाउँपालिकामा रहेको तथ्यांक मेडेपसँग रहेको छ । मन्थली नगरपालिकामा आठ सय ६४ र सुनापति गाउँपालिकामा एक सय ९४ जना उद्यमी रहेका छन्।

जिल्लामा जुनार तथा फलफूल प्रशोधन, लोक्ता तथा अर्गेली प्रशोधन, अल्लो धागो तथा कपडा उत्पादन, ढाका, बाँस हस्तकला तथा फर्निचर, गलैंचा, थान्का, सिलाइकटाइ तथा बुनाइ, ब्युटिपार्लर, भेनियर उद्योग, अलैंची खेती, च्याउ तथा तरकारी खेती, बंगुर तथा माछापालन, दुग्ध प्रशोधन, मछिनो प्रशोधन, मौरीपालनलगायत  उद्यम मुख्य रुपमा रहेका छन्।

जिल्लामा रहेका करिब चार हजार उद्यममध्ये कृषिमा आधारित एक हजार सात सय ८१, वनमा आधारित ६ सय ३७, कलामा आधारित चार सय ३१, प्रविधिमा आधारित २४ र अन्य ३६ वटा रहेका छन् । यसैबीच उत्पादनमा आधारित ६ सय ३९, सेवामा आधारिता चार सय पाँच र पर्यटनमा आधारित ४१ वटा रहेका छन्।

परियोजनाले सरकारी संयन्त्रको समेत संलग्नतामा जिल्लामा पछिल्लो समय भूकम्प प्रभावित धेरै उद्योगलाई द्रुत रुपमा पुनस्र्थापना गर्दै उद्यम विकासमा ठूलो टेवा पुर्‍याएको थियो । उद्यम विकास र उद्यमीको क्षमता अभिवृदिमा टेवा पु¥याएको परियोजना बाहिरिदै गर्र्दा स्थानीय तहले स्थानीय स्तरमा रहेका उद्यमको विकास र निरन्तरताका लागि नीति र कार्यक्रम ल्याउन सक्छ कि सक्दैन यतिबेला अधिकांश उद्यमी चिन्ता र अन्यौलता छाएको छ।

जिल्लामा उद्यम विकासका लागि पाँचवर्षे जिल्ला उद्यम विकास रणनीतिक योजनासमेत बनिसकेको छ भने जिल्लाका दुई नगरसहित ६ गाउँपालिकामा समेत उद्यम विकास समितिसमेत गठन गरिएको छ । जिल्लाका आठवटा स्थानीय तहमध्ये मन्थली नगरपालिकाले मात्र उद्यम विकास रणनीति बनाइसकेको छ । रामेछाप नगरपालिकाले रणनीति बनाउने काम थालनी गरेपनि अन्यत्रमा भने बन्न बाँकी रहेको छ ।

 

प्रकाशित: २६ चैत्र २०७४ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App