coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

ठडिँदै सिन्धुका शैक्षिक संस्था

भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत बनेको इर्खुस्थित महाकाली सेतीदेवी आधारभूत विद्यालय भवन। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका शैक्षिक संस्था ठडिँदै छन्। सरकार, दातृ निकाय र विभिन्न संघसंस्थाले पुनर्निर्माण गर्न सहयोग गरेपछि सामुदायिक विद्यालय भवन निर्माण तीव्र गतिमा अघि बढेको छ।

‘आगामी एक वर्षभित्रै शैक्षिक संस्थाका भवन पुनर्निर्माण सक्ने गरी जुटेका छौं,’ शिक्षा मन्त्रालयअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख गोकर्णध्वज कार्कीले भने। उनका अनुसार भूकम्पबाट क्षतिग्रस्तमध्ये ४१ प्रतिशतभन्दा बढी सामुदायिक विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ। बाँकी विद्यालयको पनि एकसाथ पुनर्निर्माण भइरहेको छ। चालू आर्थिक वर्षभित्र झन्डै सय विद्यालय पुनर्निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन्।

२०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोकमा सर्वाधिक क्षति पु-यायो। जिल्लाका ५ सय ५७ मध्ये भूकम्पले ५ सय २८ सामुदायिक विद्यालयका भवन पूर्णरुपमा ध्वस्त बनाएको थियो। मर्ज (एकता) पछि क्षतिग्रस्त विद्यालय संख्या ५ सय १४ हुन आउँछ। ती विद्यालयका झन्डै ५ हजार कक्षा कोठा क्षतिग्रस्त भए।

भूकम्पले जिल्लाका ५ सय ५७ मध्ये ५ सय २८ सामुदायिक विद्यालयका भवन पूर्णरुपमा ध्वस्त बनाएको थियो। तीमध्ये हालसम्म २ सय ११ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ।

दुई वर्षअघि शैक्षिक संस्थाको पुनर्निर्माण थालिएको थियो। हालसम्म २ सय ११ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको एकाइ प्रमुख कार्कीले बताए। १ हजार २ सय २१ कक्षाकोठा पुनर्निर्माण भएका छन्। पुनर्निर्माण सम्पन्न विद्यालय भवन धमाधम हस्तान्तरण भइरहेका छन्। हस्तान्तरण भएका झन्डै ५० नवनिर्मित विद्यालय भवनमा पठनपाठन नै सुरु भइसकेको कार्कीले जानकारी दिए। ‘५० वटा विद्यालय भवन एकाइको बजेटमा बनेका हुन्,’ उनले भने, ‘१ सय ६१ भवन बनाउन संघसंस्थाको सहयोग रह्यो।’ शैक्षिक संस्था पुनर्निर्माणमा एनजिओ/आइएनजिओको ठूलो सहयोग पाएको उनले बताए। आयोजना कार्यान्वयन एकाइका अनुसार कारितास नामक संस्थाले पुनर्निर्माणको जिम्मेवारी लिएका ३१ मध्ये सातवटा विद्यालय भवनको काम पूरा गरिसकेको छ।

चाइल्ड फर जापान र स्वीट्जरल्यान्डको सहयोगमा टुकी संघ सुनकोसीले १६ विद्यालय भवन बनाउन थालेकोमा आठवटा सम्पन्न गरिसकेको छ। आनन्ददेवी संघले तीन सामुदायिक भवन पुनर्निर्माण गरेको छ। झन्डै २० वटा संघसंस्थाले विद्यालय पुनर्निर्माणमा सघाइरहेको एकाइले जनाएको छ।

भूकम्पबाट क्षतिग्रस्त १० विद्यालय भवन भने पुनर्निर्माण गरिने छैन। विद्यार्थी संख्या न्यून रहेका त्यस्ता विद्यालय मर्ज गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। बाँकी २ सय ९३ विद्यालयका ३ हजार ४ सय ७८ कक्षाकोठा पुनर्निर्माण भइरहेको एकाइ प्रमुख कार्कीले बताए। ‘सरकार, दातृ निकाय र संघसंस्थासमेत तीन तहको सहयोग जुटेकाले पुनर्निर्माणले तीव्रता पाएको हो,’ उनले भने। एकाइकै लगानीमा यो वर्ष १ सय ४ विद्यालय भवन पुनर्निर्माण अघि बढाइएको छ। एकाइले गत वर्ष त्यति नै संख्यामा विद्यालय बनाउन थालेकोमा ५४ वटा असार मशान्तभित्र सम्पन्न गर्ने लक्ष्य छ।

सियाली विकास बैंक (एडिबी) ले ३८ वटा विद्यालयको भवन बनाइरहेको एकाइले जनाएको छ। एउटै विद्यालय परियोजनामा ३ देखि ८ करोड रुपैयाँसम्म लगानी गरिरहेको एडिबीले पुनर्निर्माणको ५० प्रतिशत काम सकेको एकाइ प्रमुख कार्की बताउँछन्। ‘एडिबीले हालै थप १० विद्यालय भवन बनाउन सम्झौता गरिसकेको छ,’ उनले भने। उनका अनुसार संघसंस्थाले एउटै विद्यालय भवनमा ६० लाखदेखि १ करोड रुपैयाँसम्म लगानी गरेका छन्। पुनर्निर्माण सम्पन्न र निर्माणाधीन विद्यालय भवन तह र विद्यार्थी संख्याका आधारमा दुई, तीन, चार, छ, र आठकोठे छन्। ती सबै पक्की संरचना हुन्। पुनर्निर्माणमार्फत धमाधम विद्यालय भवन हस्तान्तरण हुन थालेसँगै अस्थायी टहरो विस्थापन गर्दै स्थायी संरचनामा पठनपाठन सुरु भइरहेको छ।

प्रकाशित: २६ चैत्र २०७४ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App