coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टाइगर प्यालेसमा राजस्वको छापा, मदिरा जफत

बुटवल– रुपन्देहीको कोटीहवामा संचालित पाँच तारे होटल टाइगर प्यालेस रिर्सोट परिसरमा संचालित क्यासिनोमा आइबार राजस्वले छापा मारेको छ। आन्तरिक राजस्व कार्यालय भैरहवाले अन्तशुल्क इजाजत पत्र बिनै मदिरा बिक्री बितरण गरेको भन्दै क्यासिनोमा छापा मारी मदिरा जफत गरेको हो।

सुरक्षाकर्मीको टोलीसहित गएको राजश्वको टोलीले क्यासिनो परिसरबाट करिब तीन लाख मूल्य बढीको १ सय २२ बोत्तल मदिरा जफत गरेको हो। टाइगर प्यालेस परिसरभित्र संचालित क्यासिनोलाई बारम्बार मदिरा बिक्रिका लागि इजाजत लिन अनुरोध गरेपनि अटेरी गरेकाले मदिरा जफत गरिएको आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख अर्जुन ढकालले बताए। 

प्रमुख ढकालका अनुसार टाइगर प्यालेस परिसरमा संचालित रिर्सोट र क्यासिनोको दर्ता, पान नम्बर छुट्टा छुट्टै भएकाले मदिरा बिक्रीका लागि छुट्टै इजाजत पत्र लिनुपर्ने हुन्छ। ‘रिर्सोट र क्यासिनो छुट्टाछट्टै व्यक्तिको नाममा दर्ता छ, व्यवसाय नै फरक भएकाले क्यासिनोलाई होटलसँग जोड्नै मिल्दैन’, कार्यालयका प्रमुख ढकालले भने। क्यासिनोले रिर्सोटबाट मदिरा किनेको बिल देखाएर राजश्व छली गरेको प्रमुख कर अधिकृत ढकालले बताए। राजश्व छली गरेको आरोपमा क्यासिनोलाई जरिवाना र जफत गरिएको मदिरा लिलाम गरिने ढकालले बताए।

हङ्कङमा कार्यालय रहेको र अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत सिल्भर हेरिटेज ग्रुपले उक्त क्यासिनोको लाइसेन्स लिएको छ। यसमा नेपाली साझेरको धेरै असहमति रहेको र आन्तरिक समझदारी तथा सुधारको प्रस्तावलाई अस्वीकार गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरले संचालक समितिको हवाला दिँदै एकतर्फी संचालक तथा प्रमुख नेपाली साझेदार राजेन्द्र बजगाईलाई हालै निस्काशन गरेको सूचना निकालेका थिए। त्यसविरुद्ध बजगाईले सर्वाेच्च अदालतमा मुद्दा दाहेर गरेपछि अदालतले स्टेअडर दिएको छ। 

बजगाईसँग यसबारे जानकारी लिँदा उनले अदालतमा विचाराधीन र संवेदनशील विषय भएको बताए। उनले टाइगर प्यालेस रिसोर्टको क्यासिनोमा भएगरेका सबै कामको जिम्मेवारी प्रमुख कार्यकारी बोल्सोभर र उनले नियुक्ती दिएका महाप्रबन्धक केभिन जिम्मेवार हुने बताए। 

पाँच तारे होटल टाइगर प्यालेस भित्र सिल्भर हेरिटेजले क्यासिनो संचालन गरिरहेको छ। क्यासिनोमा करिब डेढ दर्जन विदेशीले श्रम स्वीकृती नलिई काम गरिरहेको भेटिएपछि आधिकारिक निकायले चासो दिएको थियो। त्यसपछि आधा भन्दा बढीले नेपाल छाडिसकेका छन्।

संचालकले भने एउटै कम्पनीले व्यवस्थापन हेर्ने भएकाले छुट्टै इजाजत लिनुनपर्ने दावी गर्दै आएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कोटीहवामा संचालित टाइगर प्यालेस रिर्सोटमा ४ सय कोठा छन। १५ बिगाह क्षेत्रफलमा फैलिएको यो रिर्सोट परिसरमा संचालित क्यासिनो दक्षिण एसियाकै ठुलो भएको दाबी संचालकले गर्दै आएका छन्। विशेषगरी भारतीय ग्राहक लक्षित भनिएको क्यासिनोसहितको टाइगर प्यालेस नेपाल भारत सीमा बेलाहिया–सुनौलीदेखि करिब ९ किलोमिटरको दुरीमा छ। 

प्रकाशित: २५ चैत्र २०७४ १५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App