८ वैशाख २०८१ शनिबार
अर्थ

सिम्रिकको इजाजतपत्र नवीकरण

काठमाडौं- सरकारले निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिमि्रक एयरलाइन्सको इजाजतपत्र र वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) नवीकरण गरिदिएको छ। वार्षिक रूपमा नवीकरण गर्नुपर्ने भए पनि 'मानवीय त्रुटि' का कारण नवीकरण गर्न नसकिएको बताएको सिमि्रकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलये २ सय प्रतिशत जरिवानासहित इजाजतपत्र नवीकरण गरिदिएको हो।

१४ महिनादेखि इजाजतपत्र नवीकरण नभएका कारण एओसी पनि खारेज भएको थियो। एओसी खारेज भएयता सिमि्रकका सबै उडान १२ दिनदेखि बन्द थिए। 

'मन्त्रिपरिषद बैठकले सिमि्रकको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेपछि हामीले जरिवानासहित नवीकरण गरिदिएका छौं,' पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बुधबार नागरिकसँग भने, 'बाँकी प्राविधिक काम नागरिक उड्डयन प्राधिकरणले गर्ने छ।'

सिमि्रकले गल्ती भएको भन्दै इजाजतपत्र नवीकरण गरिदिन सरकारलाई आग्रह गरेपछि मन्त्रालयले चेतावनीसहित नवीकरण गरिदिएको हो। पर्यटकीय याम सुरु हुन लागेको, नजिकिँदो दसैं र तिहारमा मुलुकका विभिन्न गन्तव्य जाने यात्रुलाई सहज हवाई सेवा दिनका लागि एकपल्ट सिमि्रकको इजाजतपत्र नवीकरण गरिदिनुपर्ने ठहर मन्त्रिपरिषदले गरेको सम्बद्ध अधिकारीले जानकारी दिए।

'दुर्गम भेगमा उडान गर्ने जहाज यसै पनि कम संख्यामा छन् र त्यसमाथि सिमि्रकका दुईथान डोर्नियर जहाज दुर्गममै केन्द्रित गरी उडिरहेका थिए,' पर्यटन मन्त्रालयका अर्का एक अधिकारीले भने, 'उसका जहाज उड्नु भनेको नेपालीमात्र नभई विदेशी पर्यटकको यात्रा सहज हुने हो। सरकारले सबै कोणबाट अध्ययन गरेपछि सिमि्रकको इजाजतपत्र नवीकरण गर्दा समग्रमा सबै पक्षलाई फाइदा पुग्ने निष्कर्ष निस्किएको थियो र नवीकरण गर्ने निर्णय भएको थियो।'

उनका अनुसार जहाज उडेपछि सरकारलाई करदेखि मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसनल शुल्कलगायत आम्दानी, रोजगारीजस्ता सबै विषयमा फाइदा हुन्छ।

पर्यटन मन्त्रालयले सिमि्रकको इजाजतपत्र नवीकरण गरेपछि उड्डयन प्राधिकरणले पनि बुधबारै एओसी नवीकरण गरिदिएको छ। 'हामीले पनि आवश्यक दस्तुर लिएर सिमि्रकको एओसी नवीकरण गरिदियौं,' प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने, 'एक साताभन्दा बढी अवधिदेखि नउडेका सिमि्रकका सबै जहाजको प्राविधिक परीक्षण गरेपछि उडान अनुमति दिन्छौं।'

यता सिमि्रकले भने बिहीबारबाटै नियमित उडान सुरु गर्ने जनाएको छ। 'हाम्रा सबै चारथान जहाजको प्राविधिक परीक्षण भइसकेको छ,' सम्बद्ध एक अधिकारीले भने, 'बिहीबारबाटै हामी नियमित उडान पुनः सञ्चालन गर्छौं।'

उनका अनुसार पर्यटन मन्त्रालयबाट २० वटा रुटमा उडान गर्न इजाजतपत्र लिइएको छ। प्रतिरुट १५ हजार रुपैयाँ तिर्नुपर्छ। त्यसबाहेक नवीकरण शुल्क छुट्टै हुन्छ।

सिमि्रकले २०६९ फागुन ६ बाट औपचारिक रूपमा नियमित उडान सुरु गरेको थियो। समि्रकले अर्को वायुसेवा कम्पनी गुण एयरलाइन्सका १८ सिट क्षमतायुक्त दुईवटा 'बिचक्राफ्ट' जहाज खरिद गरेर उडान सञ्चालन गरेको थियो। त्यसपछि २०७० असोज दोस्रो साता अर्को वायुसेवा अग्नि एयर खरिद गरी १८ सिटे दुईथान 'डोनिएयर–२२८' जहाज थपेको थियो।

सिमि्रकले बन्द हुनुअघिसम्म दैनिक करिब दुई दर्जन उडान गरिरहेको थियो। यसले काठमाडौंबाट पोखरा, भैरहवा, सिमरा, लुक्ला र माउन्टेन फ्लाइट गरिरहेको थियो। त्यस्तै पोखराबाट जोमसोम तथा नेपालगन्जबाट सिमिकोट, जुम्ला र बाजुरा उडान गर्थ्यो।

काठमाडौंबाट पोखराका लागि दैनिक पाँच उडान, लुक्ला दुई, भैरहवा र सिमरा एक/एक तथा माउन्टेन फ्लाइट तीनवटा गरिरहेको थियो। त्यसैगरी पोखराबाट जोमसोमका लागि दैनिक तीनदेखि पाँच उडान गरिरहेको थियो। उता नेपालगन्जबाट सिमिकोटका लागि दैनिक तीन तथा जुम्ला र बाजुराका लागि एक/एक उडान गर्दै आएको थियो।

प्रकाशित: ९ भाद्र २०७३ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App