८ वैशाख २०८१ शनिबार
अर्थ

सेयर बजारमा झन्डै ५० बिन्दुको वृद्धि

काठमाडौं- सेयर बजार मापक नेप्से झन्डै ५० बिन्दुले बढेको छ। बुधबार कारोबार रकम पनि एक अर्ब नाघेको छ। बुधबार नेप्से ४८.७६ बिन्दुको वृद्धिबाट १७३० अंकमाथि पुगेको छ। एकै दिन १ सय ४२ कम्पनीको सेयर कारोबार भएको छ।

सबै उपसूचकहरु बढेका छन्। खासगरी बिमा र बैंकिङ समूहले बजारलाई माथि पुर्‍याएका हुन्। बिमा समूह ५५६.६२ बिन्दुले बढेको छ। बैंकिङ समूह पनि ४० बिन्दु हाराहारीले बढेको छ। होटल समूह  साढे ८९, विकास बैंक समूह ३८, जलविद्युत समूह साढे ४७, फाइनान्स समूह साढे १०, उत्पादनमूलक समूह सात र अन्य समूह नौ बिन्दुले बढेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ। चार्टर्डसँगै युनाइटेड इन्स्योरेन्स, सूर्या लाइफ, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्सको सेयर पनि बढेको छ।

११ कम्पनीको सेयर  भाउ १० प्रतिशत हाराहारीले उक्लिएको छ। मूल्य बढ्नेमा अधिकांश बिमा कम्पनी छन्।

कारोबार रकममा आएको वृद्धिसँगै निकै दिनपछि बुधबार लुम्बिनी जनरल इन्स्योरेन्सको १० करोड ५७ लाखको किनबेच भएको छ। एनबी बैंकको चार करोड ९४ लाख, सिद्धार्थ डेभलपमेन्ट चार करोड ७४ लाख र नेपाल इन्भेस्टमेन्ट बैंक चार करोड ४९ लाख रुपैयाँको किनबेच भएको छ। कसमस डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन्।

प्रकाशित: ९ भाद्र २०७३ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App