coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको विषयमा प्रदेशसभा बैठकमा ‘हंगामा’

जनकपुरधाम– प्रदेशसभा बैठकमा माओवादी सांसद जगतप्रसाद यादवले नेपाली भाषालाई खस–गोर्खाली भाषा र प्रधानमन्त्री केपी ओली संघीयता विरोधी भएको आरोप लगाएपछि हंगामा भएको छ।

आइतबार दिउँसो बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर माओवादी सांसद यादवले संघीयतालाई असफल पार्न प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई असफल पार्न खोजेको आरोप लगाए। ‘हामी जनताबाट निर्वाचित जनप्रतिनिधिलाई होच्याएर कर्मचारीलाई शक्तिशाली बनाइएको छ’ उनले भने, ‘विकास र जनताको हितमा काम गर्न नदिन प्रदेश सरकारलाई सुनियोजित रुपमा कमजोर बनाउने ओलीको षडयन्त्र विरुद्ध आन्दोलन गर्छौं।’

खस–गोर्खाली भाषामा संसद चल्न नदिने अडान लिँदै यादवले अबिलम्ब स्थानीय भाषालाई कामकाजको भाषा तोक्न प्रदेश सरकारसँग माग गरे। उनले भने, ‘म बुझिरहेको छु ओली सरकारले प्रदेश सरकारलाई साथ दिइरहेको छैन। तर, प्रदेश सरकारको शून्य गतिशिलिताले जनतामा नैराश्यता बढ्ने सम्भावनालाई अध्ययनगरी मुख्यमन्त्री लगायत मन्त्रिपरिषद्ले तदारुकता देखाउनुपर्छ।’

बैठकमा राजपा महासचिव मनिष सुमनले संघीयता प्राप्तीको लागि भएको संघर्षमा आन्दोलन विरोधी चरित्र नै आज मुलुकको प्रधानमन्त्री रहेको उल्लेख गर्दै उनले संघीयतालाई सफल हुन नदिन हरसम्भव दुष्प्रयास गर्ने आरोप लगाए। ‘प्रादेशिक अधिकारलाई केन्द्रबाटै कुण्ठित गर्ने ओलीलाई खबरदारी गर्दै प्रदेश सरकारले देखाएको दृढताप्रति धन्यवाद दिन्छु’ उनले भने। सुमनले प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी चित्रण गरिरहँदा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले उठेर नियमापति जनाए।

मण्डलले प्रदेशसभामा देशका प्रधानमन्त्रीलाई होच्याउनेगरी बोल्नु संसदीय मर्यादा विपरित अभ्यास भएको गुनासो गरे। मण्डलले सुमनलाई बोल्न रोक लगाउन सभामुखसँग माग गरेपछि एमालेका सबै सांसदले उठेर समर्थन जनाए। उनीहरुले बैठक नै अवरुद्ध गर्नेगरी प्रस्तुत भएपछि सभामुख सरोजकुमार यादवले उपलब्ध गराइएको समय सकिएको भन्दै सुमनलाई बस्न लगाएका थिए।

आइतबार बसेको प्रदेशसभाको ११ औं बैठकले प्रदेश नम्बर २ को मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयक, २०७४ प्रस्तुत गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले उक्त विधेयक प्रस्तुत गरेपछि छलपलको लागि अर्को बैठक अगामी मंगलबार दिउँसो एक बजे अर्को बैठक बस्नेगरी आइतबारको बैठक स्थगन भएको सभामुख यादवले घोषणा गरे। 

प्रकाशित: २५ चैत्र २०७४ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App