७ वैशाख २०८१ शुक्रबार
समाज

खोरेतले १३ चौपाया मरे

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ र ७ मा रहेका चौपायामा खोरेत रोगको संक्रमण देखिएको छ। अहिलेसम्म खोरेतका कारण १२ बाख्रा र एक गाईको बाछा मरेका छन्। 

गाउँपालिका–६ बाशेश्वर र ७ नं वडा खुर्कोटमा खोरेतको संक्रमण देखापरेको गोलञ्जोर पशु सेवा शाखाका पशु प्राविधिक सहायक मीनबहादुर थापाले जानकारी दिए। हालसम्म साना चौपाया मरेको उनको भनाइ थियो । 

चौपाया खोरेतका कारण बिरामी पर्न थालेपछि अहिले खोरेत विरुद्धको भ्याक्सिन लगाउने अभियान सञ्चालन गरिएको पनि थापाले जानकारी दिए। पशु बिरामी पर्न र मर्न थालेकाले खोरेत विरुद्धको खोप किसानलाई निःशुल्क दिने नियम भए पनि सरकारी प्रक्रिया ढिलो र झन्झटिलो भएकाले गाउँपालिकाले खोरेत विरुद्धको खोप पशुपालक सशुल्क किसानलाई उपलब्ध गराएको प्राविधिक सहायक थापाले बताए। 

गाउँमा पशु बिरामी भई मर्न थालेकाले ल्याब परीक्षणपछि मात्र सरकारले निःशुल्क खोप उपलब्ध गराउने भएको र तत्कालै पशुमा खोप दिनुपर्ने भएकाले गाउँपालिकाले खोरेत विरुद्धको खोप किनेको गाउँपालिकाको कार्यालयले जनाएको छ। सिन्धुली र जनकपुरमा खोरेत विरुद्धको खोप नपाइएकाले काठमाडौँबाट ल्याइएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले बताए। अहिले ६ र ७ वडामा खोरेतको संक्रमण देखा परेकाले अन्य वडामा रहेका चौपायालाई पनि खोरेत विरुद्धको खोप लगाउने समेत उनले बताए। अन्य वडामा चाहिने आवश्यक खोप गाउँपालिकाले पशुपालक किसानलाई सहजताका साथ उपलब्ध गराउने समेत उनले प्रतिबद्धता जनाए। 

अहिलेसम्म ६ र ७ नं वडामा १६ सयभन्दा बढी चौपायालाई खोरेत विरुद्धको खोप लगाई सकिएको गोलन्जोर गाउँपालिकाका पशु सेवा शाखाका मीनबहादुर थापाले बताए। चार जना प्राविधिकको सहयोगमा खोरेतको संक्रमण फैलन नदिन खोप लगाइरहेको र साना चैपायामा बढी संक्रमण रहेकाले उनीहरुको उपचार भइरहेको र अन्य पशुमा खोरेतको संक्रमण हुन नदिन प्राविधिक खटाई खोप लगाइएको उनले बताए। 

चौपायामा मुख तथा गिजामा घाउ हुने, ज्वरो आउने, ¥याल निकाल्ने, काम्ने, मुख तथा खुट्टामा घाउ हुने जस्ता लक्षण देखिएमा खोरेत भएको थाहा पाउन सकिन्छ। यस्तो अवस्थामा चौपायाको तत्कालै उपचार नभए घाउ फैलन गई घाउमा कीरा पर्ने, पशु मर्ने र हावाका माध्यमबाट नजिकका पशुमा तत्कादै संक्रमण हुने संभावना रहन्छ। 

यसैगरी धनुषामा पशुमा चरचरे र खोरेत रोगको प्रकोपले चार दर्जन पशुको मृत्यु भएको समाचार छ। पशुमा यो रोगको प्रकोप नगराइन नगरपालिका र धनौजी नगरपालिका बढी देखिएको छ। नगराइन नगरपालिका–८ अकौरा टोलमा पशुमा यस रोगका कारण अहिलेसम्म ४० भन्दा बढी पशु मरिसकेको छ। 

प्रकाशित: २५ चैत्र २०७४ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App