coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विकट बस्तीमा नमूना घरवास

कपिलवस्तु – कपिलवस्तुको अति विकट बस्ती हो जवावैराठ। भारतको सिमानामा रहेको यो बस्तीमा अधिंकाश थारू समुदायका मानिस बस्ने गर्दछन्। आजभन्दा करीब दुई वर्षअगाडि यो गाउँमा खासै सुविधा थिएन। 

पछिल्लो समयमा भने केही फरकपना आएको छ। सडकमा मोटरबाइक, ट्र्याक्टर लगायतका सवारी हिँडेको हुन्छन्। खानेपानीको यो गाउँमा राम्रो सुविधा रहेको छ। यो बस्तीमा पुग्न दुई वटा खोलामा पुल नहुँदा बर्खाको समयमा झोलुङ्गेपुलको भरपर्नु पर्छ। त्यसकारण यहाँ ठूला सवारी जान सक्दैनन्। साबिक गुगौली गाविस तथा हाल विजयनगर गाउँपालिका–१ मा यो गाउँ परेको छ। राजमार्गबाट भने तीन वटा खोला तरेपछि यो गाउँमा पुग्न सकिन्छ। बाटोमा जंगल, खोला र केही बस्ती पर्ने भएकाले मनोरमका दृश्य पनि देख्न सकन्छ। 

विजयनगर गाउँपालिकाले यस वर्ष यस गाउँमा घरबास (होम स्टे) निर्माण गर्ने योजना अघि सारेको छ। गाउँपालिकाको लगानीमा यस गाउँमा नमूना घरबास सञ्चालन गर्ने गाउँपालिका प्रमुख गोपाल थापाले बताए। उनले भने, “यस गाउँमा घरबास सञ्चालन गरेर गाउँवासीलाई रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य छ।” 

गाउँपालिकाकै विकट ठाउँ भनेर चिनिने यो बस्तीको विकासका लागि नमूना घरबासको योजना ल्याउनु गौरवको विषय रहेको स्थानीय बुद्धिजीवी बताउँछन्। यस वर्षदेखि नै घरबास निर्माणको काम शुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले बताए । चौधरी भने, “यस पटक घरबास निमार्णका लागि रु २० लाख बजेट छुट्याएका छौँ तर यस बजेटले मात्र पुग्दैन।” आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी दिगो पर्यटनको अवधारणालाई साकार पार्न कार्यक्रम गर्न लागिएको चौधरीले बताए। पछिल्लो समय नेपाली युवायुवतीको आकर्षक गन्तव्यस्थलका रुपमा नेपालकै ग्रामीण घरबास पर्न थालेपछि यो क्षेत्रमा घरबास कार्यक्रम शुरु गरिएको हो। 

पहिलो पटक २० जना पर्यटक अटाउने घरबास निर्माण गरिने भएको छ। दिनभरि पर्यटकले यहाँ रहेका पर्यटकीय स्थलमा घुम्ने र बेलुकी विभिन्न समुदायले सञ्चालन गरेका घरबासमा पुगी पारिवारिक वातावरणमा रमाउन पाउने सुविधा उपलब्ध हुनेछ। भान्सा घरमा बसेर थारू, मगर, अवधि परिकार खानपिनको आनन्द लिई उनीहरूको संस्कृति अवलोकन गर्न पाउने व्यवस्था गरिने चौधरीको भनाइ छ। घरबास सञ्चालनमा आए पर्यटन क्षेत्रको विकाससँगै यहाँ बसोबास गर्दै आएका मानिसको आर्थिक हैसियतमा परिवर्तन आउने अपेक्षा गरिएको छ। गाउँ जंगलमा पर्ने भएकाले जंगललाई व्यवस्थित बनाउने र बाटोका किनारमा आकर्षक फूल रोपेर मनोरम बनाउने गाउँपालिकाको योजना रहेको छ। गाउँपालिकाको यो योजनालाई स्थानीयवासीले स्वागत गरेका छन्। 

प्रकाशित: २५ चैत्र २०७४ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App