coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाँच सयको निहुँमा ५५ लाख ब्ल्याकमेल

आरोपीः शिक्षक,विद्यार्थी र अभिभावक
पीडितः १२ वर्षका विद्यार्थी .
ठगिएको रकमः ५५ लाख .
अवधिः डेढ वर्ष .
ठगी विधिः ब्ल्याकमेल

सुन्दै अचम्म लाग्ने यो घटना भएको विद्यालय हो, नेपालगन्जको ‘ब्राइटल्यान्ड इंगलिस मिडियम बोर्डिङ स्कुल’ । जहाँका शिक्षक, विद्यार्थी र विद्यार्थीका अभिभावक ५५ लाख ठगीको घटनामा तानिएका छन् ।

पीडित हुन्, सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वर्षका छात्र आदित्य साहु । विद्यार्थीलाई ब्ल्याकमेल गरेर ४० लाख रकम लिएको आरोपमा स्कुलका कम्प्युटर शिक्षक सुशील साहु अहिले प्रहरी हिरासतमा छन् । थप १५ लाख ठगेको आरोप लागेका सोही विद्यालयका विद्यार्थी र अभिभावक अनुसन्धानको दायरामा छन् । ५५ लाख ठगीको अनौठो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ब्ल्याकमेलको श्रृंखला

नेपालगन्ज–१० निवासी बिन्देश्वर साहु नाम चलेका व्यापारी हुन् । उनी आयुर्वेद मेडिकल र ड्राइफुडको डिलर सञ्चालन गर्छन् । दैनिक रुपमा व्यवसायमार्फत् आर्जन गरेको आम्दानी रकम बेलुका घरमै राख्थे । 

घरमा पैसा राख्ने जिम्मा बिन्देश्वरकी श्रीमतीको थियो । उमेरका हिसाबले सानै भए पनि उनी छोरा आदित्यलाई बढी विश्वास गर्थिन् । पैसा र गहना राख्ने बाकस र दराजको चाबीबारे आदित्य जानकार थिए । आमा कामले बाहिर जाँदा चाबी आदित्यको जिम्मामा हुन्थ्यो । 

डेढ वर्षअघि आदित्यले एकदिन चोरेर ५ सय रुपैयाँ स्कुल लगे र त्यो पैसाले साथी शिवम पाण्डेको कलम किन्न खोजे। उनले आदित्यलाई कलम बेचे । आदित्यले कलम किन्न दिएको ५ सय रुपैयाँ घरबाट चोरेर ल्याएको शिवमले चाल पाए । उनले त्यसैलाई ब्ल्याकमेलको आधार बनाए र साथीसँग पैसा असुल्न थाले ।

शिवमले पहिला २ हजारको माग गरे । २ हजार नदिए पैसा चोरेको घरमा भनिदिने त्रास देखाएपछि आदित्य डराए र साथीको माग पूरा गरिदिए । डेढ वर्षको अवधिमा शिवम्ले पटक–पटक गरेर आदित्यसँग १० लाख असुलेको दाबी छ।

शिवमले आदित्यलाई ब्ल्याकमेल गरेर पैसा लिइरहेको कक्षाका अर्का साथी १३ बर्षका एजाज खान (हल्वाई)ले चाल पाए । एजाजले पनि शिवम्कै शैली अपनाएर आदित्यलाई धम्क्याउँदै पटक–पटक गरेर पाँच लाख असुले ।

आफ्नो कक्षाका एक विद्यार्थीलाई अन्य २ विद्यार्थीले धम्क्याएर पैसा असुली गरिरहेको कम्प्युटर शिक्षक सुशील साहुले थाहा पाए । अपराध गरिरहेका किशोर उमेरका विद्यार्थीलाई सम्झाएर यो श्रृंखलाको अन्त्य गर्नुको साटो उनको अपराधी दिमाग सक्रिय भयो । 

ब्ल्याकमेल गरिरहेका विद्यार्थीसँग उनी पनि मिसिए र  पैसा चोरेको घरमा भनिदिन्छु, परीक्षामा फेल गराइदिन्छु भनेर धम्क्याउँदै पैसा असुल्न थाले । डेढ वर्षको अवधिमा उनले पटक–पटक गरेर आदित्यसँग ४० लाख रुपैंया असुलेको प्रहरीको प्रारम्भिक आँकडा छ ।

ब्ल्याकमेलको श्रृंखला यहीँ रोकिएन । विद्यार्थीको अभिभावकसम्म समेत पुग्यो । आदित्यलाई तर्साएर पैसा असुल्ने समूहमा शिवमकी आमासमेत मिसिइन् । प्रहरीमा परेको उजुरीमा उल्लेख भएअनुसार उनले शिवम्लाई तर्साएर ४० हजार रुपैयाँ बराबरको गहना लिइन् । आदित्यले आमाको गहना चोरेर दिएका थिए । 

झन्डै भएन डिभोर्स

सानोतिनो रकमबारे साहु परिवारमा त्यत्ति चासो हुँदैनथ्यो तर बिस्तारै बिस्तारै हराउन थालेको रकमको मात्रा ठूलै भएपछि साहु परिवारमा तनाव सुरु भयो । 

ब्यापारमा अशुभ भएको भन्दै पूजा लगाए । धामीझाँक्री कहाँ गएर ग्रहदशा हेराए । पैसा हराउनेक्रम भने रोकिएन । तनावकै बीच बिन्देश्वरका ठूलो छोराले जनकपुरबाट बुहारी भित्र्याए। बुहारी भित्र्याएपछि पनि पैसा हराउनेक्रम रोकिएन। बुहारी भित्रिएपछि ठूलै रकम हराउन थाल्यो।

१२ वर्षका किशोर आदित्य शंकामा पर्ने कुरै थिएन । परिवारले बुहारीमाथि शंका गर्‍यो। परिवारमा कलह सुरु भयो । तनाव बढ्दा सम्बन्धबिच्छेदको तयारीसम्म पुग्यो । धन्न सम्बन्धविच्छेद हुनुअगाडि नै पैसा हराउनुको रहस्य खुल्यो र उनीहरुको दाम्पत्य जीवन पनि जोगियो ।

तीन हजारले खुल्यो रहस्य

गत साता आदित्यले पहिलेको जस्तै तीन हजार लुसुक्क निकाले तर त्यो बेला घरमा सबै जना थिए। पैसा हराएपछि परिवारमा हल्ला भयो । बाबुलाई कता कता छोरामाथि शंका लाग्यो र केरकार सुरु गरे । तीन हजारले डेढ वर्षदेखि हराइरहेको पैसाको रहस्य खुलायो।

‘बाहिरबाट आफन्तको कामका लागि आएको पैसा दिउँसै हरायो,’ बिन्देश्वरले भने, ‘सबैको आँखैअगाडि पैसा गायब भएपछि छोरालाई सोधपुछ गर्दा उसले चोरेको पत्ता लाग्यो।’ 

आदित्यले परिवारसामु साथी र शिक्षकले मार्छन् भन्न थाले । परिवार छक्क पर्‍यो। परिवारका सबै बसेर सम्झाउँदै सोध्न थाले । तब खुल्यो ५५ लाखको रहस्य । 

‘छोराले डराउँदै ड्याडी पैसा नदिएपछि मलाई अब तिनीहरुले मार्छन् भन्न थाल्यो,’ उनले शुक्रबारसँग भने ‘केही हुदैन बाबु तिमीलाई, भन त तिनीहरु को हुन् ? कहिलेदेखि तिमीलाई यस्तो गरेका हुन् ? भनेर सोध्दै जाँदा डेढ वर्षदेखि ब्ल्याकमेल गरेको कुरा भन्यो, सबै छक्कै पर्‍यौं।’

छोराको मुखबाट पैसा हराएको रहस्य खुलेलगत्तै बिन्देश्वरले प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालय बाँकेले सादा पोशाकमा प्रहरी पठायो । ‘घरमा कोही नभएको र पैसा लिन आऊ भन्दै आदित्यले फोन गरेर साथी र शिक्षकलाई बोलायो । उनीहरु मक्ख पर्दै घरमा आए र प्रहरीको फन्दामा परे । साहु परिवारले शिक्षक र दुई जना किशोरविरुद्ध चोरी र ठगीमा जाहेरी दिए। 

अहिले जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले शिक्षक सुशील र शिवम्की आमालाई हिरासतमा लिइसकेको छ ।  शिवम् र एजाजलाई बयानका लागि मात्रै बोलाउने गरेको छ । 

एक सातादेखि आदित्य, उनका दुई जना साथी, शिक्षक र साथीका आमासँग बयान लिने काम भइरहेको मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्षक रणबहादुर बिष्टले बताए । 

आदित्यले आफूलाई तर्साएर शिक्षक सुशीलले ४० लाख, शिवम्ले १० लाख र एजाजले ५ लाख रुपैयाँ लगेको बयान दिएका छन् । बालकबाट असुलेको रकमबाट शिक्षक साहुले घर बनाउन र पसल सञ्चालन गर्न प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । 

‘शिक्षाको पवित्र स्थलबाट यस्तो अनौठो घटना सार्वजनिक भयो,’ प्रहरी निरीक्षक बिष्टले भने ‘डेढ वर्षदेखि जोडिएको घटना भएकाले प्रमाण जुटाउन गाह्रो भइरहेको छ ।’

यसरी हराउनथाल्यो पैसा

घरमा राखेको पैसा हराउन थाल्यो । कसरी हराइरहेको छ थाहै भएन । छोरा सानै थियो । शंका लागेन । पूजापाठ गरे तर केही भएन । घरमा तनाव बढिरहेको थियो । डेढ वर्षदेखि राम्रोसँग सुत्न समेत सकेको थिइन् ।
एक दिन घरमा सबै भएको बेलामा त्यसरी नै तीन हजार रुपैंया हरायो । कतै छोराले पो लियो कि भनेर शंका लागेर केरकार गर्दा उसले स्वीकार गर्‍यो। निक्कै डराएको थियो । छोराले डराउँदै ड्याडी पैसा नदिएपछि मलाई अब तिनीहरुले मार्छन् भन्न थाल्यो । साथी र शिक्षकले मार्छन् भन्न थाल्यो । फकाउँदै सोध्दा उसका साथी, शिक्षक र साथीको आमाले धम्क्याउँदै पैसा चोर्न लगाएका रहेछन् । अहिलेसम्म ५५ लाखको हिसाव निस्किएको छ ।
–विन्देश्वर

साथीले पैसा माग्न थालेपछि डरले दिए

पाँच सय चोरेको घरमा भनिदिन्छु भन्दै पहिला साथीले डर देखायो । घरमा थाहा पाए भने पिट्छन् भनेर डर लाग्यो । साथीले पैसा माग्न थाल्यो । ममिले पैसा राख्ने ठाउँ देखेको थिए । चावी राख्ने ठाउँ समेत देखेको थिए । साथीले पैसा माग्न थालेपछि डरले दिए । अर्को साथीले पनि थाहा पाएछ । उसलाई पनि पैसा दिन थाले । पछि सरले पैसा चोरेको भनिदिन्छु, एक्जाममा फेल गराउँछु भन्दै पैसा माग्नुभयो । उहाँलाई पनि दिए । 
घरमा थाहा पाउँलान् कि भनेर धेरै डर लाग्थ्यो । आमा बाहिर जाँदा मलाई चावी दिएर जानुहुन्थ्यो त्यही बेला पैसा निकालेर दिन्थे । 
–आदित्य

प्रमाण जुटाउन गाह्रो भइरहेको छ

एक साता अगाडिबाट आदित्यका दुई जना साथी, शिक्षक र साथीका आमासँग बयान लिने काम भइरहेको छ । शिक्षाको पवित्र स्थलबाट यस्तो अनौठो घटना सार्वजनिक भयो । डेढ वर्षदेखि जोडिएको घटना भएकाले प्रमाण जुटाउन गाह्रो भइरहेको छ ।
प्रहरी निरीक्षक रणबहादुर बिष्ट

शुक्रबार साप्ताहिकबाट

 

प्रकाशित: २५ चैत्र २०७४ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App