coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बालबालिकालाई जेलमै लेखपढको अवसर

जेलमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिँदै। तस्बिर : दमन राई/नागरिक

खोटाङ – जिल्ला कारागार शाखा खोटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ। विभिन्न मुद्दामा आमासँगै जेल जीवन बिताइरहेका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका साढे ५ वर्षका मौसम राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४ वर्षका रेशम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका डेढ वर्षकी उर्मिला विश्वकर्मालाई कारागारभित्रै लेखपढको व्यवस्था मिलाइएको हो।

दिक्तेल बचत तथा ऋण सहकारी संस्था, लालुपाते बहुउद्देश्यीय सहकारी संस्था र सक्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरिदिएको १ लाखको अक्षय कोषबाट आश्रित बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाइएको कारागार शाखाका प्रमुख चित्राखर आचार्यले बताए।

तीन सहकारीले स्थापना गरेको अक्षय कोषको ब्याजबाट आउने रकमले गत वैशाखदेखि कारागारभित्रै सहयोगी शिक्षकमार्फत पठनपाठन गराइनेछ। अक्षय कोषको ब्याजबाट मासिक एक हजार दुई सय तलब दिने गरी जेल जीवन बिताइरहेका तस्बिरा राई र विमला सुवेदीलाई सहयोगी शिक्षकका रूपमा राखिएको आचार्यले जनाए।

आश्रित बालबच्चालाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पठनपाठनको व्यवस्था मिलाइएको कारागारले जनाएको छ। घरमा भरपर्दो संरक्षक नभएको र आमाबाट छुट्न नमानेका कारण अबोध बालबालिका जेलमा आश्रित जीवन बिताउन बाध्य भएका हुन्।

यौन दुव्र्यवहार गर्न आउने पुरुषको प्रतिकारका क्रममा मृत्यु भएपछि आमा प्रमिला जेल परेपछि मौसम कारागारमा आइपुगेका हुन् । आमाको काखमा रमाउँदै, खेल्दै हुर्किरहेका मौसमलाई न आफू बसिरहेको ठाउँ जेल हो भन्ने थाहा छ न त जेलमा बस्नुको कारण नै। निर्दोष बालक २०७० सालदेखि आमासँगै जेलभित्र कैंदीसरह बसिरहेका छन्। श्रीमान् विदेशमा रहेका समयमा यौन दुव्र्यवहार गर्न खोजेपछि प्रमिलासहित ९ जनाको कुटपिटबाट स्थानीय दिलकुमार राईको २०७० साल माघ १ गते मृत्यु भएको थियो । त्यतिबेला प्रमिला दुधे बच्चासँगै जेलमा आएकी थिइन्। विदेशमा रहेका श्रीमान् भूमिराज राईले घर आएलगत्तै दोस्रो विवाह गरेपछि प्रमिलाले बच्चालाई घर पठाउन नचाहेकी हुन्। जिल्ला अदालतबाट २० वर्षको कैद सजाय सुनाइएकी प्रमिलाले जेल बसाइ लामो भएकाले बालक मौसमको शिक्षादीक्षा चुनौतीपूर्ण भएको बताइन्।

यस्तै कर्तव्यज्यान मुद्दामा जेल परेकी आमा परिमायासँगै राजापानीका रेशम कारागार आइपुगेका हुन्। २०५९ साल असोज २ गते उदयपुरको आँपटारका नवराज रायमाझीको हत्यामा संलग्न भएको ठहर भएपछि परिमाया १३ वर्षपछि २०७२ साल पक्राउ परेकी थिइन्। जिल्ला अदालतले १० वर्ष कैद सजाय तोकेपछि उनी दुई नाबालिग छोरालाई लिएर जेलमा आएकी थिइन्। रेशमका दाजु सुगम भने केही समयअघि घर गएका छन्। कर्तव्यज्यान मुद्दामै पुर्पक्षका लागि जेल पठाइएकी आमासँगै उर्मिला जेल आइपुगेकी हुन्।

किताबकापी बोकेर विद्यालय जाने उमेरका बालबच्चा शिक्षाबाट वञ्चित भएको पाइएपछि उनीहरूको पठनपाठनका लागि अक्षय कोष स्थापना गरिदिएको सक्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताए।

प्रकाशित: २५ चैत्र २०७४ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App