coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चेन्नई सुपरकिंग्सको सुखद सुरुवात, ब्राभोको विस्फोटक ब्याटिङ

मुम्बई – ड्वेन ब्राभोको विस्पोटक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। जितको नजिक पुगेर पनि मुम्बई इन्डियन्स चेन्नईसँग पराजित भएको हो।

शनिबार राति एक भब्य समारोहकाबीच मुम्बईकाे वाङखडे स्टेडियममा सुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो। मुम्बईका लागि सुर्यकुमार यादवले २९ बलमा ६ चौंका र १ छक्काको मद्दतमा ४३, क्रुनल पाण्ड्याले २२ बलमा ५ चौंका र २ छक्काको मद्दतमा नटआउट ४१, इसान किसनले २९ बलमा ४ चौंका र १ छक्काको सहायतामा ४०, हार्दिक पाण्ड्याले २० बलमा २ चौकाको सहायतामा नटआउट २२ र कप्तान रोहित शर्माले १५ रन बनाएका थिए। ओपनिङ ब्याट्सम्यान इभिन लेविस भने ० रनमै आउट भएका थिए।

चेन्नईका शेन बाट्सनले २ तथा दिपक चहर र इमरान ताहिरले एक–एक विकेट लिए।

जवाफमा मुम्बइले दिएको १ सय ६६ रनको लक्ष्य चेन्नई सुपर किंग्सले खेल सकिन १ बल अगाडि भेट्टायो। चेन्नईको जितमा वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभो नायक बने। उनले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा ६८ रन बनाए। उनले ३ चौंका र ७ छक्का प्रहार गरेका थिए।

चेन्नईको सुरुवातमा राम्रो रहेन। ५० रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमिसकेको चेन्नईले त्यसपछि पनि ब्याटिङमा जम्न सकेको थिएन। १७ ओभर सकिदा चेन्नईको स्कोर ८ विकेटको क्षतिमा १ सय १९ रन थियो। त्यसमा चेन्नईलाई खेल जित्न १८ बलमा ४८ रन आवश्यक थियो।

ब्राभोेले १७.२ र १७.३ मा छक्का र १७.५ मा चौका प्रहार गरेका थिए। त्यस्तै १८.१, १८.२ र १८.५ ओभरमा ब्राभोले मुम्बईका बलर जसप्रीत बुमराहको बलमा छक्का प्रहार गरेका थिए। ब्राभो १९ औ ओभरमा आउट भए। ब्राभो आउट हुँदा चेन्नईलाई जितका लागि ६ बलमा ७ रन आवश्यक थियो। क्रिजमा केदार जादव र इमरान ताहिर थिए।

अन्तिम ओभरको बलिङ गर्न आएका मुस्ताफिजुर रहमानले लगातार ३ बलमा कुनै रन नदिएपछि चेन्नई दवावमा आएको थियो। तर केदारले चौथो बलमा छक्का र ५ औं बलमा चौंका प्रहार गर्दै टोलिलाई जिताए।
चेन्नईका लागि अन्य केदारले नटआउट २४, अम्बाती रायडुले ११, शेन बाट्सनले १६ र रविन्द्र जडेजाले १२ रनको योगदान दिए।

मुम्बइका हार्दिक पाण्ड्या र मायाङ्क मार्कण्ड्यले ३–३ विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन्।

भारतमा सुरु भएको यो प्रतियोगिता क्लब क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता हो। प्रतिबन्धका कारण अघिल्ला दुई वर्ष आइपिएलबाट बाहिरिएको चेन्नईले ११ औं संस्करणमा भने विजयी सुरुवात गरेको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App