७ वैशाख २०८१ शुक्रबार
समाज

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु,  स्थानीयवासीद्वारा सडक अवरुद्ध

नुवाकोट – मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्‍याएका छन्। 

पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ। 

गएराति बा५ख २५२३ नं को मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने स्थानमा स्थानीय ३० वर्षीया सीता बलामीलाई ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको थियो। सोही घटनाको विरोधमा त्यस क्षेत्रका बासिन्दाले आइतबार बिहानैदेखि प्रदर्शन गर्दै गाडी सञ्चालन बन्द गराएपछि फोहर बोकेर काठमाडौँबाट आएका गाडी जितपुरमा नै रोकिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। सडक अवरुद्ध हुँदा फोहर बोकेका करीव १०० गाडी रोकिएका छन्। 

चालकले लापरबाहीरुपमा गाडी चलाएर दुर्घटना गराएको र त्यसलगत्तै फरार भएको भन्दै स्थानीयले उक्त मिनीट्रकमा तोडफोड गरी क्षति पुर्‍याइदिएका छन्। 

शव परीक्षणका लागि आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। तनावपूर्ण रहेको उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक र काठमाडौँबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन भएका छन्। 

प्रकाशित: २५ चैत्र २०७४ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App