७ वैशाख २०८१ शुक्रबार
अर्थ

निगमको उडान दोब्बरभन्दा बढी

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्ला तीन वर्षमा अन्तर्राष्ट्रिय उडान संख्या सतप्रतिशतभन्दा बढीले वृद्धि गरेको छ।

निगमका अनुसार गत आर्थिक वर्ष २०७३/७४ मा तीन हजार तीन सय ५८ वटा अन्तर्राष्ट्रिय उडान भएका थिए। आव २०७२/७३ मा यो संख्या दुई हजार सात सय ३६ मा अडेको थियो भने २०७१/७२ मा एक हजार पाँच सय ५९ उडानमा खुम्चिएको थियो।

‘तीन वर्षअघिको दाँजोमा उडान संख्या एक सय १५ प्रतिशतले वृद्धि भएको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, ‘जहाज संख्या विस्तारै बढ्दै गएपछि बजार मागअनुसार उडान पनि वृद्धि हुँदै गयो। यात्रुले थप सहज र सरल भाडा दरमा विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा जान पाइरहेका छन्।’

सन् २०१७ मा निगमले चार लाखभन्दा बढी यात्रुलाई अन्तर्राष्ट्रिय गन्तव्य पु-याएको थियो। पाँचदेखि ६ वर्षअघि निगमले वार्षिक दुई लाख हाराहारी अन्तर्राष्ट्रिय यात्रु बोक्थ्यो। एक खर्ब रुपैयाँबराबरको नेपालको उड्डयन बजारमा निगमको हिस्सा १० प्रतिशत पुगेको छ । यसअघि पाँचदेखि सात प्रतिशतमा चित्त बुझाइरहेको थियो।

निगमले हाल भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई, कतारको दोहा तथा हङकङ उडान गरिरहेको छ। निगमले अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित एक सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको एकथान र युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित एक सय ५८ सिटे ‘ए३२०–२००’ सिरिजका दुईथान जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

त्यसैगरी आन्तरिक उडानतर्फ भने निगमको उडान संख्यामा सामान्य वृद्धि भएको छ। आव २०७३÷७४ मा चार हजार तीन सय ५८ आन्तरिक उडान भएका थिए। २०७२/७३ मा तीन हजार एक सय ४९ तथा २०७१/७२ मा चार हजार दुई सय ३८ आन्तरिक उडान भएका थिए।

अहिले आन्तरिक उडान गर्न निगमसँग चीनमा निर्मित ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजका दुईथान तथा १७ सिटे ‘वाई१२–ई’ सिरिजका चारथना र क्यानडामा निर्मित १९ सिट क्षमताका दुईथान ट्विनअटर जहाज छन्। तीमध्ये अधिकांश जहाज प्राविधिक समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन्।

निगमका अनुसार गत आव अन्तर्राष्ट्रिय उडानतर्फ पाँच लाख ७३ हजार आठ सय ६० सिट उपलब्ध भएका थिए र त्यसबाट चार लाख २२ हजार ६ सय ४७ यात्रु विभिन्न गन्तव्य पुगेका थिए। अघिल्लो वर्ष चार लाख ६९ हजार ५७ सिट उपलब्ध भए पनि तीन लाख ४४ हजार पाँच सय ४० यात्रु उडेका थिए। आव २०७१/७२ मा दुई लाख ८७ हजार सात सय १८ उपलब्ध हुँदा दुई लाख १९ हजार नौ सय ७६ यात्रु गन्तव्य पुगेका थिए।

त्यस्तै गत आव अन्तर्राष्ट्रियतर्फ ११ लाख ३० हजार ६ सय ९९ किलो कार्गो बोकेको निगमले अघिल्लो वर्ष १० लाख ८० हजार ६ सय २५ किलो र त्यसअघि आठ लाख ६३ हजार पाँच सय ७३ किलो कार्गो बोकेको थियो। आन्तरिकतर्फ भने कार्गो परिमाण घटेको छ। तीन वर्षअघि ६४ हजार सात सय ६४ किलो कार्गो बोकेको निगमले एक वर्षपछि ४३ हजार ६ सय ८६ र गत वर्ष ५५ हजार दुई सय ४८ किलो कार्गो बोकेको थियो।

गएको वर्ष निगमको अन्तर्राष्ट्रिय उडान विश्वसनियता ९८ प्रतिशत थियो। अघिल्लो वर्ष ९८.२ प्रतिशत पुगेको थियो। निगमका अनुसार तोकिएको समयमै जहाज उडान (पंक्चुआलिटी) ७५.८ प्रतिशत रहेको छ । यस्तो पंक्चुआलिटी अन्य अन्तर्राष्ट्रिय वायुसेवा इथियोपियन एयरलाइन्सको ७४.८, स्पाइसजेट ७३.७, थाई एयर एसिया ७४.४, चाइना साउदर्न ६४.१, चाइना इस्टर्न ६१.८, एयर चाइना ६०.१, टर्किस एयरलाइन्स ७६.३, लुफ्थान्सा र एयर फ्रान्स क्रमशः ७६ प्रतिशत छ। निगम जहाजका सिट भराइ दर (अकुपेन्सी) दोहा सेक्टरमा ८८.१ प्रतिशत, हङकङमा ८५.५, क्वालालम्पुर ८३, नयाँदिल्ली ८३.४, मुम्बई ६७.८ र दुबईमा ६९.७ प्रतिशत छ।

प्रकाशित: २५ चैत्र २०७४ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App