coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फराकिलो जितबाट थ्री स्टार फाइनलमा

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोबाट म्यान अफ दि म्याचको पुरस्कार लिँदै थ्री स्टारका विमल घर्ती मगर। तस्बिर: चुमन बस्नेत/नागरिक

विराटनगर – संकटा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब शनिबार विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

सहिद रंगशालामा थ्री स्टारलाई जिताउन अजय मार्टिनले २ तथा विमल घर्तीमगर र बुद्ध चेम्जोङले १÷१ गोल गरे । निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा थ्री स्टारका विमलले दिएको पासमा मार्टिनको गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा अग्रता लिएको थ्री स्टार दोस्रो हाफमा आक्रामक शैलीमा प्रस्तुत भयो । खेलको ५५औं मिनेटमा नीराजन खड्काको रिबाउन्ड बललाई बुद्ध चेम्जोङले गोलमा परिणत गरेका थिए । त्यसपछि खेलको ७६औं मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई थप मजबुत बनाए । उनले रूपेश केसीको पासलाई आकर्षक शैलीमा जाली चुमाएका थिए । त्यसको ६ मिनेटपछि राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरले टोलीका लागि चौथो गोल थपे । विमलले सेन्टर लाइनबाट दिएको पासलाई संकटाका डिफेन्डरलाई बिट गर्दै आकर्षक गोल गरेका थिए । बाँकी समयमा संकटाले खेलमा फर्किन प्रयास गरे पनि बलमाथि नियन्त्रण लिन सकेन।

शनिबारको जितपछि थ्री स्टारले विभागीय टोली आर्मीसँगको फाइनल भेट पक्का गर्यो । खेलमा थ्री स्टारका विमल घर्ती मगरले म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपियाँ हात पारे।

‘संकटा धेरै पछि प्रतिद्वन्द्वी भएकाले हामी पहिलो हाफमा संयमित भएर खेल्यौं’ जितपछि थ्री स्टारका प्रशिक्षक मेगराज केसीले भने, ‘पहिलो हाफको खेलपछि दोस्रो हाफमा हामीले रणनीति बदल्यांै, सोही रणनीतिअनुसार हामीले खेल पस्कँदा जित हात पार्न सफल भयौं।’

यस्तै, संकटा प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा दबाबमा राखे पनि दोस्रो हाफमा लय समात्न नसक्दा पराजित हुनुपरेको बताए । ‘पहिलो हाफमा हामीले बल होल्ड गरेका थियौं,’ खड्गीले भने, ‘खेलाडीले गोल खाएपछि हतारिएको खेल प्रस्तुत गरे, बल नियन्त्रणमा लिन सकेनन्, जसको फाइदा प्रतिद्वन्द्वीले उठायो र पराजित भयौं।’

फाइनल खेल सोमबार विजयी थ्री स्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

भारतका दुई, भुटानका एक तथा नेपालका सातवटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख ५१ हजार प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, मिडफिल्डर, रक्षक, फरवार्ड र सर्वाधिक गोल गर्ने खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँ हात पार्नेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ।

प्रकाशित: २५ चैत्र २०७४ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App