६ वैशाख २०८१ बिहीबार
समाज

महिनावारीले छात्रा ५० दिन विद्यालय बाहिर

बाजुरा– छाउ कुप्रथाको कारण देखाउँदै अधिकांश छात्राहरु नियमित विद्यालय जानबाट वञ्चित भएका छन्। अभिभावकदेखि सामाजिक कुसंस्कारका कारण छात्राहरु वर्षमा करिब ५० दिन विद्यालय जानबाट वञ्चित बन्ने गरेका छन्। 

उनीहरु मासिक ५ दिन विद्यालय जाँदैनन्। कोहीको अभिभावकको दबाब छ भने कसैले आफ्नो कारण पनि विद्यालय नजाने गरेको पाइएको छ। विदाको समय बाहेक महिनावारी भएको बेला छात्राहरुको विद्यालयको पढाई छुट्ने गरेको शिक्षकहरुले स्वीकार गर्ने गरेका छन्।

बडिमालिका, त्रिवेणी नगरपालिका र गौमुल, स्वाकिकात्र्तिक लगायतका गाउँपालिकाका केही विद्यालयमा उक्त समस्या देखिएको छ। गौमुल गाउँपालिकास्थित कीर्तिचौर माविका प्रधानाध्यापक डबल बोगटी महिनावारीमा छात्रा विद्यालय नआउने गरेको बताउँछन्।

१९३ दिन अनिवार्य पठन पठानमा सहभागी हुनुपर्ने प्रावधान भएपनि महिनावारीका कारण छात्राहरु भने ५० देखि ६० दिनसम्म विद्यालय नआएको उनले बताए। 

कीर्तिचौर माविमा अध्ययनरत करिब दुई दर्जन बढी छात्रा महिनाबारीको ५ दिन विद्यालय नआउने गरेको पाइएको छ। हिँड्ने बाटोे र विद्यालय परिसरमा मन्दिर भएकोले अछुत भएको बेला छुनु हुन्न भन्ने मान्यताका कारण उनीहरु विद्यालय नआउने गरेको विद्यालयले बताएको छ। 

अभिभावकबाट समेत नजान भनेकाले महिनावारी भएको बेला विद्यालय नगएको कक्षा ८ मा अध्ययनरत नन्दा कुमारी जोशीले बताइन्। विद्यालय आउने एक मात्र बाटोमा मन्दिर रहेको र विद्यालयमा समेत देवीको मन्दिर राखिएकोले भविष्यको डरले छात्राहरु विद्यालय नआउने गरेको उनको भनाई छ।

महिनाको ५ दिन विद्यालय नआउँदा उनीहरुको ५० बढी दिन विद्यालय छुट्ने गरेको छ। देउता रिसाउने, भविष्यमा दुःख पाइने, निसन्तान भइने र बाँझोपन देखिने डरका कारण उनीहरु विद्यालय जाँदैनन्।

अभिभावकको दबाबका कारण आफूहरु विद्यालय अध्ययन गर्नबाट वञ्चित भएको छात्रा मन्देवी जोशीको भनाई छ। जोशी अभिभावकै दबाबका कारण महिनावारी भएको बेला विद्यालय जान आँट नगरेको बताईन्।

विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा दिसापिसाब गर्न समेत समस्या हुने गरेको जोशीको भनाई छ। छात्रामैत्री शौचालय बनाउन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले बेवास्ता गरेको छात्राहरुको गुनासो छ।

विद्यालय गएपनि खोलाको बाटो हिँडेर जानु पर्ने हुँदा असुरक्षित हुने गरेको कमला रोकायाको गुनासो छ। खोलाको बाटो हिँडेर घर पुग्दा करिब १ घण्टा बढी समय लाग्ने गरेको र असुरक्षाले पनि नियमित नभएको उनले बताईन्।

कीर्तिचौर मावि एक उदारण मात्र हो। साविक जुकोट, जुगाडा, तोली लगायतका अधिकांश गाविसका विद्यालयमा यस्तै समस्या कायम छ। बडिमालिका नगरपालिकाले भने धामी झाँक्री समेतलाई बोलाएर छाउ प्रथा नमान्ने, छुवाछुत नगर्ने र बाल विवाह गर्ने सातबुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएको छ। कुप्रथा र कुमान्यतालाई तोड्न जस्तो सुकै कदम पनि चाल्ने बडिमालिका नगर प्रमुख पदम बडुवालले बताए।

प्रकाशित: २४ चैत्र २०७४ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App