काठमाडौं- खुल्ला ठाउँ मासिँदै गएको र हरियाली नहुँदा वातावरणमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न प्रस्तावित काठमाडौं टावरको विरोध गरेका छन्।
काठमाडौं महानगरपालिका (कामपा)को स्वामित्वमा पुरानो बसपार्कमा निर्माण गरिने बाह्रतले टावरको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइमा टावर बन्न नहुने भन्दै स्थानीयले बुधबार विरोध गरेका हुन्।
'कामपाको काम काठमाडौंवासीलाई सेवा दिने, हरियाली कायम गर्ने, खाली भूभाग संरक्षण गर्ने हो, भएका खाली भूभागमा व्यापारिक केन्द्र निर्माण गरी नाफा कमाउने होइन,' वडा नं २७ का स्थानीय सुरेश शिलाकारले भने, 'बाँकी रहेका खाली जग्गा मास्दै जाने हो भने भूकम्पजस्ता दैवी प्रकोपका बेला हामीले खुला ठाउँ खोज्न कहाँ जाने?' उनका अनुसार महानगरले एकपछि अर्को गर्दै काठमाडौंवासीमाथि प्रहार गरिरहेको छ। उनले आगामी दिनमा काठमाडौंवासीमाथि महानगरले प्रहार गर्न नपाउने आक्रोश व्यक्त गर्दै भने, 'कुनै हालतमा पनि टावर निर्माण अघि बढाउन दिँदैनौं।'
शिलाकार मात्र नभएर सुनवाइमा उपस्थित सबै स्थानीयले खुला भूभाग मासेर व्यापारिक टावर बनाउन नहुने जिकिर गरे। पुर्खाले खुला भूभाग कायम राख्न सरकारलाई सुम्पेका जग्गाजमिनमा धमाधम आकास छुने भवन निर्माण हुन थालेको भन्दै स्थानीयले आफूलाई महानगरले सुविधा दिनुको साटो बेवास्ता गरेको आरोप लगाए। 'उपत्यका कंक्रिटमय बनाउने भए उपत्यका बाहिरबाट आएकाहरू आफ्नै थलो फर्कन्छन्, तर हामी काठमाडौंवासी कहाँ जाने?,' स्थानीय शान्ताराम शाक्यले भने, 'म बाँच्न चाहन्छु, मलाई अक्सिजन उपलब्ध गराइदेऊ। स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार मेरो पनि छ।'
स्थानीयले यसअघि शिलान्यासकै क्रममा टावर नबनाउन महानगरपालिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको लेखा समिति, वातावरण मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगसँग समेत आग्रह गरे पनि कसैले नसुनेको बताए। बुधबार भने वातावरण मन्त्रालयले टावरको वातावरणमा पर्ने प्रभावबारे मूल्यांकन गर्न वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको हो।
'हामीलाई बेवास्ता गरियो, महानगरले त झन् केही पनि सुनेन,' स्थानीय गीता शर्माले भनिन्, 'हामीले टावर बनाउन हुँदैन भन्दाभन्दै स्थानीयसँग कुनै छलफल, सल्लाह सुझाव नलिइ महानगरले जबरजस्ती टावर निर्माण अगाडि बढायो।' उनले निर्माण कम्पनीसँग महानगरपालिकाका कर्मचारीले रकम लिएर काम अघि बढाएको आरोप समेत लगाइन्। पैसामा बिकेर काठमाडौंवासीले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार समेत खोसेको उनको धारणा थियो। उनले इन्भार्नमेन्ट इम्प्याक्ट एसेसमेन्ट (इआइए) समेत नगरी टावर निर्माण अघि बढाएको दाबी गरिन्।
सुनुवाइमा स्थानीय जनप्रतिनिधिको उपस्थिति हुनुपर्ने भए पनि आफूलाई जानकारी नदिएको तर अन्य माध्यमबाट थाहा पाएर आएको बताउँदै सांसद् भीमसेनदास प्रधानले सबैको साझा ऐतिहासिक सहरमाथि अनेकौं ठाउँबाट प्रहार भइरहेको दाबी गरे। 'पुर्खाले आवश्यक ठाउँमा पार्क, चोक, इनार, पोखरी र खुल्ला जमिन राखे पनि सबै मासिँदै लगिएको छ,' सांसद् प्रधानले भने, 'अब भने उपत्यकाका खुल्ला जग्गाजमिनमा कंक्रिट ठड्याउने होइन संरक्षण गरी पार्क बनाउनुपर्छ। त्यसैले काठमाडौं टावर पनि बनाउनु हुँदैन।' राजधानीमा व्यापारिक भवन, सपिङ मल चाहिनेभन्दा बढी भएकाले टावर आवश्यक नभएको भन्दै निर्माण रोकिनुपर्ने र नरोके कानुनी प्रक्रियामा जाने बताए।
महानगरले टावर निर्माण गर्न बसपार्कमा रहेका भौतिक संरचना भत्काउने र हटाउने गरिरहेको छ। महानगरले नागरिकलाई बताएअनुसार पटक पटक सूचना निकालिरहेकाले स्थानीयसँग छलफल नगरेको हो। इआइए पनि प्रक्रियामा रहेकाले निर्माणसम्बन्धी काम थालिएको महानगरले जनाएको छ।
इआइए गरी प्रतिवेदन स्विकृत नभएसम्म निर्माण सुरु गर्न नपाउने कानुनी व्यवस्था छ। महानगरले पहिलो चरणमा आएका स्थानीय विरोधका आवाजसँगै दोस्रो चरणमा कसरी जाने छलफल गर्ने जनाएको छ। महानगरको उद्देश्य जसरी भए पनि टावर निर्माण गर्ने भएकाले स्थानीयका विरोध समाधान गरी काम अघि बढाउने जनाएको छ।
सार्वजनिक–निजी साझेदारीमा महानगरले करिब ७ अर्ब रुपैयाँ लगानीमा करिब २४ रोपनी क्षेत्रफलमा १२ तले व्यापारिक टावर निर्माण गर्ने तयारी गरिरहेको हो। टावरको शिलान्यास गत कार्त्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए।
प्रकाशित: ९ भाद्र २०७३ ०२:१३ बिहीबार