coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कारविरुद्ध सडकमा विद्यार्थीहरू

बलात्कारविरुद्धको र्‍यालीमा धरानका विद्यार्थीहरू । तस्बिर : रोहित राई

धरान –  पछिल्लो समय बलात्कार एवम् महिला हिंसाको घटना वृद्धि हुँदै गएको भन्दै धरानका विभिन्न कलेजका विद्यार्थीहरूले बलात्कारविरुद्ध सडकमा उत्रिएका छन्।

विद्यार्थीहरूले बलात्कारीलाई फाँसी दिन माग गर्दै शनिबार धरानमा दबाब एवं चेतनामुलक र्‍याली निकालेका हुन्। उनीहरूले बलात्कार र हिंसाबाट आफ्नै छोरीचेलीहरू असुरक्षित भएको भन्दै पुरुषले नै महिलाको सुरक्षामा जिम्मेवार बन्नुपर्नेमा जोडदिए। धरान १४ विजयपुरस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका विद्यार्थीहरूको नेतृत्वमा बलात्कार र हिंसाविरुद्ध र्‍याली निस्केको हो । बलात्कारीलाई कडा कारबाहीको लागि दबाबमूलक निकालिएको र्‍यालीमा धरानको विरेन्द्र मेमोरियल कलेज र धरान उच्चमाविका विद्यार्थीहरू पनि सहभागी थिए।

र्‍याली प्रविधि क्याम्पसबाट शुरु भएको थियो । लक्ष्मी चोक, छाताचोक हुँदै भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा पुगेर र्‍याली कोणसभामा परिणत भएको थियो । र्‍यालीमा विद्यार्थीहरूसँगै धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीसहित महिला अधिकारकर्मीहरू पनि सहभागी थिए ।

कोणसभालाई सम्बोधन गर्दै उपमेयर भण्डारीले आफ्नै दाजुभाई, बुबा, सुरक्षाको जिम्मेवारी पाएको प्रहरीबाट बलात्कृत भइरहेको भन्दै कहीकतै पनि महिलाहरू सुरक्षित नभएको धारणा राखिन्। अब छोरी बचाउ अभियानको आवश्यकता भइसकेको भन्दै उनले यो अभियानमा पुरुषहरूको पनि सक्रियता र साथको खाँचो रहेको उपमेयर भण्डारीको भनाई थियो। ‘तपाई हाम्रो छोरी चेलीलाई सुरक्षित बनाउन अभियान गर्नुपर्छ। विद्यार्थीहरू जाग्नु भएको छ, यो जागरण देशभर हुनुपर्छ । महिलालाई सुरक्षित बनाउने जिम्मा पुरुष दाजुभाईको पनि हो,’उपमेयर भण्डारीले भनिन्।


महिलालाई सम्मानको भाव र नजरले हेर्न सबै पुरुषहरूलाई आग्रह गरेकी उपमेयर भण्डारीले नजन्मदै छोरीको गर्भमा भ्रुण हत्या गर्ने प्रवृत्तिप्रति पनि चिन्ता जताइन् । उनले भनिन्,‘छोरीमाथि जन्मनै नपाई हिंसा हुन्छ, गर्भमा छोरी भएको थाह पाएपछि गर्भमा नै भ्रुण हत्या गरिन्छ, यो परिपाटीको अन्त्य हुनुपर्छ । यसमा पुरुष दाजुभाईहरूले साथ दिनुपर्छ,’उनले भनिन्।

सोही कोणसभामा बोल्दै प्रविधि क्याम्पसका स्ववियु सभापति सौरव सञ्जेलले महिलालाई समान व्यावहार र सम्मान गर्नुपर्ने धारणा राखे । ‘समाजमा परिवर्तन ल्याउनुपर्छ, हामी पुरुष युवाहरू त्यसको लागि तयार हुनुपर्छ,’उनले भने । स्ववियुकी कोषाध्यक्ष पुजा डाँगीले एउटी महिला बलात्कृत हुदा मानसिक, शारीरिकरुपमा उनी मात्र नभई पुरा परिवार नै समाजको अघि पीडित हुने बताइन् । ‘पीडक खलेआम घुमिरहेका हुन्छन्, तर पीडित र उसको परिवार भने समाजको अघि खुलेर हिड्न सक्दैनन्, पीडामाथि पीडा महिलामाथि थपिन्छ,’उनले भनिन्।

प्रकाशित: २४ चैत्र २०७४ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App