७ वैशाख २०८१ शुक्रबार
समाज

मेसिनको प्रयोगले मजदुर समस्यामा

सडक खन्न डिलासैनी गाउँपालिका नजिक राखिएको स्काभेटर। तस्बिरः बिरा गडाल/नागरिक

बैतडी – बैतडीका ग्रामीण बस्तीमा डोजरले धमाधम सडक काटने क्रम तिब्र बनेको छ। स्थानीयतहले गर्ने काममा समेत मेसिन लगाएर डाँडाकाँडा चिर्दै डोजरले सडकको ट्रयाक खोलिरहेका दृश्य देखिन्छन्।  हरेक वडा र बस्तीलाई जोड्ने सडक सञ्जालको ट्रयाक डोजरले खनिरहेका छन्।

बिगतका वर्ष अधिकांश सडकमा मजदुरले काम पाउथे। उपभोक्ता समितिले समेत डोजर लगाएर सडक खन्न थालेपछि मजदुरको रोजगारी खोसिएको छ। अधिकांश गाउँपालिकाले आफैं डोजर किनेर सडक खन्न थालेका छन्।

विस्तृत वातावरणीय प्रभाव मुल्यांकन नगरी जताभावी सडक खन्ने क्रम बढेपछि भू–क्षय, पहिरो र प्राकृतिक सम्पदाको विनाश भइरहेको छ। उपभोक्ता समिति, वडाध्यक्ष, गाउँ र नगरपालिकाका प्रमुखले सडकको कुनै सर्भे र इआईएबिना आफ्नो चाहना अनुसार गाउँघरमा सडकको ट्रयाक खोल्न खोजेकाले डोजरले समस्या निम्ताएको स्थानीय बताउँछन्।

जिल्लाका १० वटा स्थानीयतहमध्ये अधिकांशले आफंै स्काइभेटर, डोजर ट्याक्टर खरिद गरेका छन्। स्काइभेटरले छिटो विकास निर्माणका काम हुने भएकाले मेसिन खरिद गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। गाउँपालिकाले मात्र होइन कतिपय वडाध्यक्षले समेत डोजर किनेर सडक खन्दै आएका छन्।

केही वर्ष अघिसम्म ठूला ठेकेदार कम्पनीसँग मात्र मेसिन हुन्थ्ये तर दुई–तीन वर्षयता भने जिल्लामा थुप्रै स्काइभेटर, डोजर भित्रीएका छन्। निर्माण व्यवसायीसँग मात्रै होइन, अहिले स्थानीयतहले विकास बजेटबाट डोजर लगायतका इक्विपमेन्टहरू खरिद गर्न थाले छन्।

जिल्लाका १० स्थानीयतहको चालू आर्थिक वर्षमा तीन अर्ब १० करोड ६० लाख १६ हजार रुपैयाँ बजेट छ। सोही बजेटबाट स्काभेटर खरिद गरी गाउँगाउँ सडक पुर्याउने भन्दै डाँडाकाँडा चिरीदै आएका छन्। पहाडी धरातल मेसिनले हल्लिदा पहिरोको संभावना बढदै गएको छ। अधिकांश स्थानीयतहले जंगल क्षेत्रमा इआइई नगरी सडक निर्माण गरेका छन्। सामुदायिक वन क्षेत्रमा मनपरी सडक खन्दा वन क्षेत्रसमेत नासिँदै गएको जिल्ला वन कार्यालयले जनाएको छ।

नगर तथा गाउँपालिकाले मेसिन किनेर सडक खन्दा मजदुरी गरेर गुजारा गर्दै आएका स्थानीय मारमा परेका छन्। गाउँमा हुने विकास निर्माणका काममा मेसिन प्रयोग हुन थालेपछि अधिकांश मजदुर भारतीय सहरमा ज्यालामजदुरी गर्दै आएका छन्। ‘गाउँमा काम पाइदैन,’ पुर्चौडी नगरपालिका–३, न्वादेउका प्रेमसिंह धामीले भने, सबै काम मेसिनले गर्छन् हाम्रो रोजीरोटी खोसिएपछि भारत पस्न बाध्य छौं।’

उपभोक्तामार्फत गर्ने  काममा पनि स्काइभेटरको प्रयोग गरी स्थानीयतहका प्रमुख प्रमुखले आपूm निकटका व्यक्ति र ठेकेदारलाई काम दिँदा मजदुरी गर्न नपाएको स्थानीय बताउँछन्। जिल्लाका स्थानीयतहले करिव २९ सडकमा स्काइभेटरको प्रयोग गर्दै आएका छन्। मजदुरले गर्न सक्ने काममा पनि मेसिन प्रयोग गर्न थालेपछि एकातिर मजदुर मारमा परेका छन् भने अर्कोतिर ठूला मेसिनको प्रयोगले भू–क्षयको संभावना बढदै गएको छ।

प्रकाशित: २४ चैत्र २०७४ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App