coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यालय बन्द हुँदा विद्यार्थी मारमा

काठमाडौं- सरकारी अनुदान र विभिन्न दाताले दिएको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही थालेपछि राजधानीको जोरपाटीस्थित बुद्ध आवासीय माध्यमिक विद्यालयका पनि विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ।

महिनादिनदेखि विद्यालय बन्द हुँदा ३ सय ५० विद्यार्थी पढाइबाट वञ्चित छन्। उनीहरुले विद्यालय खोलाएर पठनपाठन सुचारु गराउन स्कुल प्रशासनसँग पटकपटक अनुरोध गर्दै आएका छन्।

छोरीलाई सानैदेखि सोही स्कुलमा आवासीय पठनपाठन गराउँदै आएकी जाँगु शेर्पालेे आर्थिक विवादका कारण स्कुले नानीहरुलाई खानबस्नसमेत समस्या परेको गुनासो गरिन्। कक्षा ७ मा अध्ययनरत आलाँगी शोर्पाकी आमा जाँगुले अख्तियारले छानबिन गर्दा स्कुलै बन्द गर्नु उचित नभएको बताइन्। उनले नानीहरुको पढ्ने अधिकार सुनिश्चित गर्न सरकार आफैंले पहल गर्नुपर्ने माग गरिन्।

'स्कुलका अध्यक्ष, प्रिन्सिपल र अन्य व्यक्तिले गरेको आर्थिक हिनामिनाको असर नानीहरुमा परेको छ,' उनले नागरिकसँग भनिन्, 'हाम्रा नानीहरुले छात्रावासमा सडेगलेका अस्वस्थकर खाना खाइरहेका छन्।' जिल्ला शिक्षा अधिकारी र स्कुल प्रशासनको गैरजिम्मेवारीले पठनपाठन ठप्प भएको उनले आरोप लगाइन्।

दिनहुँ स्कुल आउने र फर्कने गर्नुपर्दा सास्ती भएको कक्षा १० की शिवानी लामाले गुनासो गरिन्। 'स्कुलभित्रको विवादका कारण हाम्रो पढ्ने अधिकार खोस्न मिल्दैन,' शिवानीले नागरिकसँग भनिन्, 'दोषीलाई राज्यले कारबाही गरोस् तर हाम्रो स्कुल बन्द नहोस्।'

शिवानीका बुबा पदम लामाले स्कुल व्यवस्थापनभित्रको खराब व्यक्तिलाई सरकारले कारबाही अगाडि बढाएर स्कुलमा नानीहरुको पठनपाठन गराउने वातावरण तयार पार्न आग्रह गरे।

आन्दोलनरत शिक्षक विनोद राउतले व्यवस्थापन समिति अध्यक्ष र प्रिन्सिपलबीच विवादले शिक्षक तलब रोकिएको जनाए। उनले चार महिनादेखि तलब नपाउँदा समस्या आएको र भोको पेटमा पठनपाठन गराउन मुस्किल परेको बताए। सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित बौद्ध एकडिेमीमा व्यवस्थापन समिति र  विद्यालय प्रशासनबीचको विवादले स्कुलका २४ शिक्षकले तलब नपाएको बताइएको छ।

जिल्ला शिक्षा अधिकारी शंकरप्रसाद गौतम यसबारे सोध्दा निजी शैक्षिक गुठीअन्तर्गत सञ्चालित स्कुल भएकाले जिल्लाको भूमिका त्यति नभएको भन्दै पन्छिए। 'यस्तोमा जिल्ला शिक्षा कार्यालयको खासै भूमिका हँुदैन,' गौतमले भने, भने, 'गुठियार र स्थानीय मिलेर समाधान गर्नुपर्छ।'

स्कुलकी प्रिन्सिपल राधिका दाहालले आफू अहिले बिरामी भएकाले बोल्न नमिल्ने जवाफ दिइन्।

नयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोनामवाङ शेर्पाले जिल्ला शिक्षाको निर्देशन उल्लंघन गर्दै व्यवस्थापन समिति अध्यक्ष र प्रिन्सिपलको संयुक्त हस्ताक्षरमा आर्थिक कारोबार गर्नुपर्ने माग गर्दै पुराना निर्णयलाई नमानेपछि स्कुल खाता रोक्का भएको छ। खाता रोक्का हुँदा २४ शिक्षकले चार महिनादेखि तलब पाएका छैनन्।

२७ वर्षअघि हिमाली र दुर्गमका नानीहरुलाई छात्रावासमै राखेर पठनपाठन गराउने  लक्ष्यसहित अखिल नेपाल हिमाली बौद्ध संघले दातृ निकायको सहयोगमा खोलेको यो स्कुल हाल व्यवस्थापन समितिका पदाधिकारीको आपसी विवादका कारण सञ्चालनमै चुनौती थपिएको हो।

क्यानाडा र फ्रान्सका दातृ निकायको आर्थिक सहयोगमा सञ्चालित स्कुलमा सुरुका दिनमा राम्रो व्यवस्थापन भए पनि पछिल्लो समय आर्थिक हिनामिना बढ्दै गएपछि विवाद चुलिएको हो। अख्तियारले सबै खाता लगेर छानबिन गरिरहेको छ भने पूर्व र वर्तमान व्यवस्थापन समितिको मुद्दा पुनरावेदन अदालतमा विचाराधीन छ।

अख्तिारले सोमबार स्कुल व्यवस्थापन समितिका अध्यक्ष वाङ्गेल शेर्पा र अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष सोनामछिरिङ शेर्पालाई अख्तियारका अनुसन्धान अधिकृतलाई १० लाख रुपैयाँ घुस दिँदादिँदै नियन्त्रणमा लिएको थियो।

'दरबारमार्गमा रहेको शेष मलको रेड कार्पेट रेस्टुरेन्टबाट सोमबार हाम्रा अनुसन्धान अधिकृतहरुलाई सोनाम र वाङ्गेलले १० लाख रुपैयाँ दिएर अनुसन्धान प्रभावित पार्न खोज्दा अनुसन्धान टोलीले स्थलगत नै नियन्त्रणमा लिएको हो,' प्रवक्ता गणेशराज कार्कीले नागरिकसँग भने, 'राष्ट्रसेवक अनुसन्धान अधिकृतले अख्तिायारमा उजुरी दिएका आधारमा अनुसन्धान टोलीले स्थलगतमै पुगेर नियन्त्रणमा लिएर कारबाही अघि बढेको छ।'

प्रकाशित: ९ भाद्र २०७३ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App