coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जोखिमपूर्ण भवनमा तेब्बर बढी कैदीबन्दी

जोखिमयुक्त भवन परिसरभित्र आफन्तसँग भेटघाटमा कैदीबन्दी । तस्बिरः महेश्वर

उदयपुर – ४ दशकअघि बनेको ५० जना क्षमताको उदयपुर कारागारमा अहिले सय भन्दा बढी कैदीबन्दी कोचिएर बस्नु परेको छ। नयाँ भवन नबन्दा २०४५ र २०७२ को भूकम्पको धक्काले जीर्ण भइसकेको भवनमा झण्डै तेब्बर बढी १ सय २३ जना कैदीबन्दी राखिएका छन्। 

५ महिला कैदी र ४ बन्दी गरी ९ महिला तथा ४५ पुरुष कैदी र ६९ बन्दी गरी ९ महिला र १ सय १४ पुरुष राखिएको कारागार भवन कतिखेर भत्केर कैदीबन्दीको ज्यान लिने भन्ने त्रासले कारागार प्रशासन दिनरात त्रसित भएर बस्नुपरेको छ। जीर्ण भवन कुनबेला भत्किने भन्ने चिन्तासँगै क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापन गर्न धेरै कठिनाई भएको कारागार प्रमुख मुकुन्द ढकाल बताउँछन्। 

उनका अनुसार बढी कैदीबन्दीको संख्या धेरै र महिला कैदीकक्ष नहुँदा थप समस्या छ। महिला कैदीबन्दी राख्ने कोठा नभएका कारण भान्सा कोठा र कार्यालय सञ्चालन कोठालाई महिला कैदीबन्दी बनाइएको छ। सुरुमै महिला कैदीबन्दी राख्ने गरी भवन नबनाइएका कारण भान्सा कोठा र कार्यालय सञ्चालन कक्षलाई महिला कैदीकक्ष बनाउनुपरेको हो। २०३७ सालमा निर्माण भएको ढुंगामाटोको कारागार भवन भूकम्पको धेरैचोटीको धक्काले कैयौं ठाउँ चर्केको छ भने जुनसुकै बेलामा पनि भत्किने जोखिम रहेको ढकालले बताए। 

नयाँ भवनका लागि कारागार प्रशासनले पटक पटक विभागसँग आग्रह गरे पनि सुनुवाई नभएको ढकालको गुनासो छ। नयाँ भवन बनाउनका लागि आवश्यक जग्गा कारागारकै स्वामित्वको रहे पनि विभागले भवन बनाउने स्वीकृति नदिएकाले जोखिमपूर्ण भवनमा कैदीलाई राख्नुपरेको बाध्यता रहेको ढकालले सुनाए । ‘दशकौंअघि बनेको ५० जना क्षमताको भवन भत्केर जीर्ण र जोखिमपूर्ण छ’ ढकालले भने ‘नयाँ भवन बनाउन विभागसँग कतिपटक माग गरियो तर, अहिलेसम्म बजेट व्यवस्था भएन।’ 

ढकालका अनुसार कारागारको स्वामित्वमा परिसरभित्रै १ बिघा १४ कठ्ठा जग्गा छ । तर, त्यहीभित्रको १ कठ्ठा जमिनमा पुरानो भवन छ । बाँकी सबै जग्गा खाली छ। जग्गा प्रशस्त भए पनि भवन बनाउन नपाउँदा जीर्ण भवनमा तेब्बर बढी कैदीबन्दीलाई जोखिम मोलेर राख्नुपरेको छ । कारागारको मुख्य समस्या भवन भएको तथा खानेपानी, शौचालय, गोदाम र र भान्सा कोठा अभाव हुनुका साथै व्यवस्थापकीय समस्या रहेको उनले बताए। 

हिजोआज गर्मी बढेसँगै कारागारमा थप समस्या बढ्ने गरेको छ। जाडो मौसममा धेरै समस्या नदेखिए पनि गर्मीयाममा भवन अभावको प्रत्यक्ष असर देखिने गरेको उनले बताए। गर्मी मौसममा साँघुरो बन्दीगृहमा अत्याधिक कैदीबन्दी राख्नुपर्दा सुत्ने, टहलाउने र आराम गर्नै नसक्ने समस्या आइपर्ने गरेको चौकीदार मनोज राईले बताए। उनका अनुसार फागुन चैतदेखि गर्मी बढेसँगै कैदीबन्दीमा विभिन्न रोग देखिने गरेको छ।

प्रशस्त खानेपानी र शौचालयको व्यवस्था राम्रो नहुँदा गर्मीमा कैदीबन्दीहरूमा विभिन्न रोग देखिने र एकजनालाई देखिएको रोग तत्काल अन्यमा संक्रमण भएर धेरैजना विरामी हुने गरेको राईले बताए। ‘साँघुरो कोठामा कोचाकोच भएर बस्नुपर्दा जाडोमा सामान्य कठिनाई भए पनि गर्मीमा धेरै समस्या छ’ राईले भने ‘धेरै मान्छे भएकाले सुत्न, नुहाउन तथा लुगा धुन र टहलाउने ठाउँनै हुन्न ।’ 

प्रकाशित: २४ चैत्र २०७४ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App