निलो स्वच्छ आकाश, हरियाली वन, कलकल बग्ने नदी, ठूलो बाँसको झ्याङ, चराचुरुङ्गीको चिरबीर, आहा! कति रमाइलो ठाउँ। यहीँ रमाइलो परिवेशमा थियो डल्लुको गाउँ, डल्लुको घर। एकदमै चञ्चले स्वभावको छ डल्लु। निकै जिज्ञासु डल्लु भर्खर नौ वर्ष मात्र लागेको छ। ऊ कक्षा तीनमा पढ्छ। डल्लुको एउटी सानी बैनी छिन्, सरु, जसलाई ऊ धेरै माया गर्छ। उसको बाबा आफ्नै खेतमा काम गर्नुहुन्छ। आमा घर र खेतको काममा व्यस्त रहनुहुन्छ। उसको सानो बिरालो छ, झिल्के जो सरु पछिको उसको खेल्ने साथी हो।
डल्लुलाई कथा सुन्न धेरै मन लाग्छ । ऊ खूब कथा सुन्छ र आफूलाई त्यहि कथाको पात्र सम्झन्छ।
आज डल्लु धेरै खुसी छ, ‘आमा, आज म छिट्टै स्कूल जान्छु। खाना दिनुहोस् न।’
‘हैन आज तँलाई के भको छ ? छिटो स्कूल जान्छ¬ भन्छस् त । के भयो हँ?’ आमाले डल्लुलाई सोध्नु भयो।
‘सीता मिसले आज परीको कथा भन्नुहुन्छ । परी कस्तो हुन्छन् होला है आमा?’ डल्लुले सोध्यो।
‘ए तँलाई कथा सुन्न हतार भको? ल ल आइज खाना खान।’ आमाले हाँस्दै भन्नुभयो। खाना खाएर सरु र झिल्केलाई बाईबाई गरेर डल्लु फटाफट विद्यालय गयो।
पहिलो घन्टी गणित विषय पढाइ हुन्छ। गणित पढिरहँदा दोश्रो घन्टीको नेपाली विषयको पालो कहिले आउला जस्तो भएको छ डल्लुलाई। डल्लुसँगै रामु, वीरु, सानु र कक्षाका अरु साथी पनि कथा सुन्न उत्साहित छन्।
‘आज त हामी परीको कथा सुन्ने, आहा! कति राम्री हुन्छन् होला है परीहरु?’ सानुले भनी। ‘अँ उनीहरुको त पखेटा पनि हुन्छ । चरा जस्तै उड्छन् रे। मेरो हजुरआमाले भन्नुभको।’ सुनाउँदै थियो वीरु।
यत्तिकैमा सीता मिस कक्षामा आउनु भयो । सबैले उठेर मिसलाई नमस्कार गरे। मिसले सबैलाई बस भन्नुभयो। ‘कथा सुन्ने हो आज तिमीहरु?’ मिसले सोध्नुभयो।
सबैले एउटै स्वरमा ‘हो’ भने। मिसले कथा सुरु गर्नुभयो, ‘परीहरु परीको देशमा बस्छन्। परीको देश बादलभन्दा पारि छ । परीको देशमा सबै परी मात्र हुन्छन्।’
‘तिमीहरुलाई थाहा छ, परीका पनि बाबाआमा हुन्छन् । स्कूल हुन्छ ।’ मिसले भन्नुभयो ।
‘त्यसो भए उनीहरु के खान्छन्?’ डल्लुले सोध्यो। ‘हामीले जस्तै खाना खान्छन्।’ मिसले भन्नुभयो, ‘तिमीहरुलाई थाहा छ, उनीहरुको पखेटा हुन्छ। चरा जस्तै उड्छन्। उनीहरुसँग जादुको छडी पनि हुन्छ। छडीबाट परीहरु जादु गर्छन्। फूलमा, पातमा, पुतलीमा रंगहरु भर्छन्। परीहरु हाम्रो वरिपरि हुन्छन् । परीले सधैं हाम्रो मद्दत गर्छन्।’ मिसले भन्नुभयो।
‘हो, मैले पनि कार्टुनमा यस्तै देखिथेँ।’ सानुले भनी।
‘परीहरुले राम्रो काम गर्नेलाई सपनामा आएर पुरस्कार पनि दिन्छन्, थाहा छ तिमीहरुलाई?’ मिसले सोध्नुभयो।
सबैले ‘अहँ थाहा छैन’ भने। ‘हामीलाई पनि पुरस्कार दिन्छन् त? डल्लुले सोध्यो। ‘अँ दिन्छन् नि, तिमीहरु पनि अरुको मद्दत गर। ज्ञानी बन अनि परीले पुरस्कार दिन्छन्।’ मिसले भन्नुभयो। सबै जना दंग परे। यत्तिकैमा घन्टी बज्यो। सबैले ताली बजाए।
‘अब हामीले के ग-यौँ भने परी सपनामा आउँछन् होला है?’, डल्लुले साथीहरुलाई सोध्यो। ‘राम्रो काम’ सानुले भनी।
उनीहरु गफ गर्दै घर जाँदै थिए। उनीहरुले बाटोमा बुढो मान्छे रोइरहेको देखे। सबैले बूढो मान्छेलाई सोधे, ‘बुवा के भयो हजुरलाई?’
‘हेर न बाबु नानी हो, मेरो पैसाको सानो झोला थियो, त्यो झोला नै हरायो। म राम्रोसँग आखाँ पनि देख्दिनँ। झोला नभेटेर मैले खाना पनि खान पाइनँ।’ बूढो मान्छेले भन्यो।
‘हामी खोजिदिन्छौँ हजुरको झोला।’ सबैले एकै स्वरमा भने। ‘बुवालाई भोक पनि लागेको होला। हाम्रो खाजा जम्मा गरेर दिऔं न।’ डल्लुले साथीहरुलाई भन्यो। सबैले खाजा जम्मा गरेर बूढो मान्छेलाई दिए र झोला खोज्न थाले। अलि पर खाल्टोमा सानुले बूढो मान्छेको झोला भेट्टाई र बूढो मान्छेलाई दिई। बूढो मान्छेले सबैलाई धन्यवाद दिए।
सबै आ–आफ्ना घर गए। डल्लुले आजको कथा र बाटाको सबै कुरा बाबा र आमालाई सुनायो। बाबाआमा धेरै खुसी हुनुभयो र स्याबासी दिनुभयो। डल्लु खाना खाएर सुत्न गयो। नभन्दै उसले सपनामा परीलाई देख्यो। परीले उसलाई स्याबासी दिएको देख्यो। ठूलो गुडिया पुरस्कार दिएको पनि। डल्लु दंग प-यो। भोलि सबैलाई सुनाउँछु र अब सधैं सबैको मद्दत गर्छु भनी मनमनै सोच्दै ऊ फेरि सुत्यो।
प्रकाशित: २४ चैत्र २०७४ ०५:५९ शनिबार