coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

५४ वर्षअघिको तस्बिरमा देख्दा...

कृष्णलक्ष्मी प्रजापती (६०) उसबेला ६ वर्षकी मात्र थिइन्, बाबुको काँधमा बसेर भक्तपुरको पोर्टर स्क्वायरमा जात्रा नियाल्दै गर्दा। विदेशबाट आएका कुनै फोटोग्राफरले उनको  तस्बिर कैद गरे। आफ्नो फोटो खिँचिएको न उनलाई थाहा भयो न त उनका पितालाई नै। त्यही गुमनाम तस्बिर केही वर्ष अघि फेला प-यो इन्टरनेट सञ्जालमा।

भक्तपुर सूर्यविनायक भुलाञ्चास्थित आफ्नो माइतीघरमा अघिल्लो साता भेटिएकी कृष्णलक्ष्मीले ५४ वर्षअघिको आफ्नो तस्बिर पहिलोपल्ट नियाल्न पाइन्। सुरुमा त उनले आफैँलाई चिन्न सकिनन्। आफूलाई बोक्ने पितालाई मात्र चिनिन्। जब उनका बुबा कृष्णभक्त (८४)ले ‘यो तिमी नै हौ’ भने तब कृष्णलक्ष्मी खित्का छाडेर हासिन्।

बालखकालको आफ्नो तस्बिर र अहिलेका बुबाको अनुहार नियाल्न थालिन् उनी। कृष्णभक्तले भने एक वर्षअघि नै आफ्नो पुरानो तस्बिर देखिसकेका रहेछन्। उनकी नातिनीले इन्टरनेटमा कतै भेटेर देखाएपछि उनले पुरानो तस्बिर देखेका हुन्। उनले आफ्नो अनुहार भन्दा पनि आफ्नी जेठी छोरीको अनुहार देख्न पाउँदा खुसी लागेको उनले सुनाए।

भक्तपुर सूर्यविनायक भुलाञ्चास्थित आफ्नो माइतीघरमा अघिल्लो साता भेटिएकी कृष्णलक्ष्मीले ५४ वर्षअघिको आफ्नो तस्बिर पहिलोपल्ट नियाल्न पाइन्। सुरुमा त उनले आफैँलाई चिन्न सकिनन्। आफूलाई बोक्ने पितालाई मात्र चिनिन्। जब उनका बुबा कृष्णभक्त (८४)ले ‘यो तिमी नै हौ’ भने तब कृष्णलक्ष्मी खित्का छाडेर हासिन्।

पाँच सन्तानका पिता हुन् कृष्णभक्त। कृष्णलक्ष्मी उनको पहिलो सन्तान हुन्। त्यसैले उनी धेरै माया गर्थे। जता जाँदा पनि काँधमा बोकेर लाने गर्थे। माटाका भाडाका काम गर्दा उनी उपत्यकाका विभिन्न गाउँमा पुगे। माटाका विभिन्न आकृती तयार पारे। खेतीको काम गर्न जाँदा पनि छोरीलाई कतिपटक खर्पनमा समेत बोकेर लाने गरेको उनले सुनाए। सानैदेखि सोझो स्वभावकी कृष्णलक्ष्मी जात्रा भने पछि हुरुक्कै हुने गरेको उनलाई झल्झली याद आउँछ।

‘उ सानैदेखि जात्रा मन पराउँथिइन,’ ८४ वर्षिय कृष्णभक्तले भने, ‘त्यसैले मैले काँधमा बोकेर लगेको थिए।’ उनी त्यसबेला बेला ३० वर्षका थिए। माटोको काम गरेर दिनचर्या चलाउने प्रजापती समुदायका उनलाई पनि जात्रामा भने खुबै रुची थियो।

जात्रामा रुची भएकैले कृष्णलक्ष्मीले बाल्यकालमा बुबाको काँधमा बसेर  थुप्रे जात्रा नियालेकी थिइन्। उनलाई अझै जात्रा हेरेर धित मरेको छैन। त्यसैले त उनी अचेल पनि जात्रा आउने बित्तिकै दौडेर जात्रास्थल पुगिहाल्छिन्।

‘अब फेरि जात्रा आउँदैछ,’ उनले भनिन्, ‘यो हेर्दा निकै रमाइलो लाग्छ।’ सानो बेला बाबुको काँधमा बसेर जात्रा नियालकी कृष्णलक्ष्मी अहिले भने नातिनातिना बोकेर जात्रामा पुग्ने गरेकी छिन्।

भक्तपुरमा आउने हरेक जात्राले उनलाई लोभ्याउँछ। यहाँ गथामुंग चन्हे, गुलाधर्म,  रक्षाबन्धन, गाइजात्रा, सकिमना पुन्ही, बिस्केट, तःदिन, चासु, सिठीपर्व धुमधामसँग मनाइन्छ। यसैगरी नागपञ्चमी, बैयागु ख्व, गणेश चौथी, यन्हा पुन्ही, दसैँ, तिहार, हरिबोधनी एकादशी, बालाचर्तुदशी, योमरी पुन्ही, ध्यचाकु सल्हुँ, स्वास्थानी व्रत, श्रीपञ्चमी, सिलाचन्ह्रे, होली पुन्ही, पाहाँचहे्र, मातातीर्थ औँसी, अक्षय तृतियालगायत पनि हर्षोल्लासका साथ मनाइन्छ।

‘यो मध्येपनि बिस्केट र गाइजात्राको रमाइलो बिछट्टै राम्रो लाग्छ,’ उनले भनिन्, ‘सानोमा त जात्रा आउने दिन कुर्दा पनि रमाइलो लाग्थ्यो।’ विभिन्न ठाउँका मानिस परम्परागत पहिरनमा एकै ठाउँमा देख्दा खुसी मिल्ने उनले बताइन्। ‘अहिले पनि जात्रा उस्तैउस्तै  छ,’ उनले भनिन्, ‘तर जात्रा हेर्नको पहिरन भने फेरिएको छ।’ जात्राको अवसरमा आफन्तको कहाँ गएर भोज खानुको रमाइलो बेग्लै रहने उनले बताइन्। सानो उमेरमा पढ्न नपाएपनि आफूले मिहेनत गर्न नछाडेको उनले सुनाइन्। ‘बुबाको काममा सघाउँथे,’ उनले भनिन्, ‘बुबा पनि मलाई निकै माया गर्नु हुन्थ्यो।’

कृष्णलक्ष्मीको २४ वर्षको उमेरमा विवाह भयो। उनका तीन छोरी र एक छोरा भए। स्नताकसम्म अध्ययन गरेका उनका तीन छोरीको विवाह भइसक्यो । नातिनातिना पनि चारजना भइसके। उनका छोरा इन्जिनियर छन्। ‘मैले नपढेपनि सन्तानको पढाइलाई ध्यान दिए,’ उनले भनिन्, ‘अहिले खुसीको  जीवन जिउँदैछु।’

जात्रा भक्तपुरको  ढुकढुकी हो। जात्रा चलुन्जले भक्तपुर बाँच्छ।  कृष्णलक्ष्मी र उनका बुबा दुवै जात्राको रौनक हेर्ने सुनाउँछन्।  त्यसो त कृष्णभक्त जात्रा हेर्न धेरै टाढासम्म जान सक्दैनन्। तर, उनी जात्रा आफ्नै घरसम्म आउने आशमा छन्। ‘जात्रा खुसीको लहर हो,’ उनले भने, ‘बाहिर निस्केपनि घर भित्र बसेपनि यसले सबैलाई छुने छ।’

नाचगानको राजधानी भनेर चिनिने भक्तपुर यो साता ‘बिस्केट जात्रामय’ बन्दै छ। रंगीबिरंगी कपडामा सजिएका भक्तपुरका नरनारीले बिस्केटको उपलक्ष्यमा तान्त्रिक विधिअनुसार उत्सवमा मनाउने छन्। चैत २७  बाट सुरु उत्सव ९ दिन आठ रात चल्दै बैशाख ५ गते सकिनेछ।  यसक्रममा टौमढीमा भैरवको रथ तानिन्छ भने भेलुखेलमा लिंगो डठयाइन्छ। कृष्णलक्ष्मी यो वर्षपनि जात्रा नियाल्ने छिन्। तर, उनी बुवासँग हैन, नातिनीसँग काँधमा बोकेर जात्रा हेर्नेछिन्।

प्रकाशित: २४ चैत्र २०७४ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App