‘काम गर्न केको लाज?’

शनिबार, २४ चैत २०७४, १० : ४३ रूपबहादुर विश्वकर्मा

काठमाडौंको क्षेत्रपाटी चोकबाट ढल्को जाने मोडमा पिनास उपचार केन्द्र एन्ड पोली क्लिनिकको साइनबोर्ड छ। त्यसको ठीकमुनि तीखो सुई लिएर एक वृद्ध ‘डाक्टर’ बस्छन्। उनी बिरामी मान्छेको होइन, ‘बिरामी’ जुत्ता–चप्पलको उपचार गर्छन्! क्लिनिककै कम्पाउण्ड पर्खालको आडमा उनले पुराना जुत्ता सिलाउने तथा पालिस गर्ने पेसा गरिरहेका छन्।

आफू बस्ने स्थानभर उनले पर्खालको भित्तोमा पुराना भित्तेपात्रो तथा पत्रिका टाँसेर कोठाझैं सिंगार्ने कोशिश गरेका छन्। त्यही भित्तामा लहरै झुन्ड्याएका छन्, छालाका काला तीन/चार जोर जुत्ता। ती ‘सेकेन्ड ह्यान्ड’ जुत्ता हुन्। रत्नपार्कबाट किनेर ल्याइएका । पुराना जुत्ता–चप्पल मर्मत गर्नुका साथै उनले थोरै फाइदा खाएर सेकेन्ड ह्यान्ड जुत्ता पनि बेच्ने गर्छन्।

तर, ‘नाफा गर्ने चुत्थो, साउँ पनि फुत्क्यो’ भन्ने उखान जस्तो भएको छ, उनको यो व्यापार। ‘भोलि पैसा दिन्छु भन्दै जुत्ता लिएर जान्छन्। तर, फर्केर आउँदैनन्,’ उनले पीडा सुनाए, ‘यसरी चार जनाले जुत्ता लगिसके। तर, दुई महिना भइसक्यो फर्केर आएका छैनन्।’

यसअघि पनि उधारोमा सामान लगेर पछि पैसा दिएको विश्वासमा जुत्ता दिएको तर अन्तिमपटक धोका दिएको उनको भनाइ छ। यसैगरी उधारोमा काम लगाउनेहरूले पनि उनलाई ठग्ने गरेका छन्।

सडकमा बस्नुका सास्ती कति छन् कति! ‘जड्याँहाहरू आएर जुत्तामा पालिस लगाउँछन्। तर, पैसा दिँदैनन्,’ उनले दुखेसो गरे, ‘पैसा माग्यो भने यहाँ बस्न मन छ कि छैन भनेर थर्काउँछन्।’ पैसा दिनेहरू पनि लाग्दो ज्याला दिन पनि बार्गेनिङ गर्छन् । सक्दो पैसा घटाउन खोज्छन्।

पंक्तिकार उनीसँग कुरा गर्दैगर्दा एक महिला झोलाभरि पुराना जुत्ताहरू लिएर आइपुगिन्। आउनेबित्तिकै सय रूपैयाँ थमाइन्। र, झोलाबाट च्यातिएका, उप्केका चार जोर जुत्ता निकालिन्। अनि भनिन्, ‘एकजोरचाहिँ तुरून्त अहिल्यै बनाइ दिनुप-यो, अहिले लगाएर जाने जुत्ता छैन।’ तर, बिहानको साढे ८ बजिसक्दा पनि ‘बोहनी’ नभएका कारण चियासमेत खान नपाएको भन्दै उनले चिया खाएर मात्र मर्मत गर्ने बताए।

तर, ती महिलाले बरू चिया खाने खर्च मै दिन्छु भन्दै थप पचास रूपैयाँ दिँदै अहिल्यै जुत्ता मर्मत गर्न कर गरिन्। त्यसपछि खुसी हुँदै उनी जुत्ता सिलाउन थाले। बाँकी तीन जोर जुत्ता पछि लिन आउने गरी सिलाएको एकजोर जुत्ता लिएर ती महिला आफ्नो बाटो लागिन्।

‘यी महिला पनि एक महिनापछि आएकी हुन्। दुई सय रूपैयाँ बाँकी थियो, बल्ल–बल्ल डेढ सय दिएर गई। अब यी चार जोरको पैसा कहिले आउने हो कहिले?’ उनले भने।

यति मात्र हैन, सडकमा बस्नुका सास्ती कति छन् कति! ‘जड्याँहाहरू आएर जुत्तामा पालिस लगाउँछन्। तर, पैसा दिँदैनन्,’ उनले दुखेसो गरे, ‘पैसा माग्यो भने यहाँ बस्न मन छ कि छैन भनेर थर्काउँछन्।’ पैसा दिनेहरू पनि लाग्दो ज्याला दिन पनि बार्गेनिङ गर्छन्। सक्दो पैसा घटाउन खोज्छन्।

‘२० रूपैयाँको काम ग¥यो भने १० रूपैयाँ मात्र दिन्छन्, ५० रूपैयाँ दिनुपर्ने ठाउँमा २० रूपैयाँ मात्र फालेर हिँड्छन्,’ मुखको कालो मास्क अलि माथि सार्र्दै उनले विवशता व्यक्त गरे, ‘के गर्नु? जति दिन्छन्, त्यति थाप्छु हजुर!’ तर सबै ग्राहक उस्तै नहुने र भनेको ज्याला दिने असल र इमान्दार पनि आउने गरेको उनले सुनाए।

यो कथा हो, काभ्रेको पनौती नगरपालिका वडा नम्बर ९ का ५७ वर्षीय सन्तबहादुर सार्की (नाम परिवर्तन) को।

पहिले अन्य काम गर्ने गरेका उनले राजधानीको सडकमा बसेर जुत्ता सिलाउन थालेको दुई वर्ष मात्र भयो। यसअघि उनले भक्तपुर, ललितपुरलगायत जिल्लाका इँट्टा भट्टामा थुप्रै वर्ष काम गरे। ‘त्यतिबेला एक हजार इँट्टा बनाएको ज्याला जम्मा २१ रूपैयाँ पाइन्थ्यो,’ उनले भने।

दुई रूपैयाँ ज्यालमा काम गरेको अनुभव पनि छ, उनीसँग। बाह्र÷तेह्र वर्षकै उमेरदेखि जीविकाका लागि उनले अर्काको काममा जोतिनुपरेको थियो। ‘दिनभर मल बोकेको ज्याला जम्मा दुई रूपैयाँ पाइन्थ्यो,’ उनले विगत सम्झिए।

जीविकाको दुःखले उनलाई बूढेसकालसम्म आइपुग्दा पनि छाडेको छैन। पछिल्लो समय उनले हाते ट्रयाक्टर चलाउने गरेका थिए। तर, उनको छात्ती दुख्न थाल्यो। त्यसपछि उनले त्यो काम छाडे। ‘अब बलको काम गर्न नसक्ने भएँ,’ उनी सुस्केरा हाल्दै भन्छन्, ‘त्यही भएर यो पुख्र्याैली पेसा सुरु गरेको।’

उनी माइतीघरमा कोठा भाडामा लिएर बस्दै आएका छन्। उनी त्यो कोठाको मासिक चार हजार रूपैयाँ भाडा तिर्छन्। छोरासँगै कोठामा बस्दै आएको उनले बताए । उनका छोराले माइतीघरमै मोटरसाइकलको सिट बनाउने काम गर्छन्। उनी भने जुत्ता सिलाउन दैनिक क्षेत्रपाटी जाने गरेका छन्। उनी बिहान बसमा जान्छन् भने फर्कदा पैदल । हिँडेर आउँदा करिब पौने घन्टा लाग्ने उनले बताए।

बिहान ६/७ बजे काम गर्न आइपुग्ने उनी बेलुका पनि ६/७ बजेतिरै फर्कन्छन्। ‘ठूलो पसल भए पो! बाटाको व्यापार हजुर, कुनै ठेगानै हुँदैन। दिनमा कहिले तीन/चार सय मात्र हुन्छ, भात खान पनि मुस्किल हुन्छ । कहिले छ÷सात सय रूपैयाँसम्म आम्दानी हुन्छ,’ उनले भने। महिनामा पाँच/छ हजारसम्म बचाएर घरमा पठाउने गरेको उनले बताए।

पनौतीमा उनको दुई तले पक्की घर छ। ‘विदेशको कमाइले बनाएको घर हो हजुर,’ पक्की घर बनाउन सकेको कारण प्रष्ट्याउँदै उनले सुनाए, ‘चार वर्ष मलेसियामा बसेको छु।’ उनीसँग तीन रोपनी जमिन पनि छ। तर, त्यो जमिन आठ÷नौ वर्षदेखि फाइनान्समा धितो छ। रिनु गर्दै राखिएको उनले बताए। ‘छोराको बिहे गर्दा ऋण लाग्यो हजुर! काठमाडौंमा घर भएकासँग नाता गाँसियो। चारवटा त गाडी ल्याइयो। उनीहरूसरह हुनै प-यो,’ उनले भने, ‘साढे दुई लाख रूपैयाँ ऋण छ।’

जीवनमा पहिलोपटक एमालेमा भोट!

उनका चार छोरीमध्ये एउटीको बिहे भइसकेको छ। माइली छोरीले सात पढेर छाडिन् भने साइँली छोरी कक्षा १२ मा पढ्दै छिन्। कान्छी छोरी भने एक विदेशी संस्थाको सहयोगमा गाउँकै बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्दै छिन्। ‘भजिताहरू नेता छन् हजुर। उनीहरूले नै गाउँका दलित, गरिब समुदायका ३०/४० जना बालबालिकालाई यस्तो छात्रवृत्ति जुटाइदिएका हुन्,’ उनले सुनाए।

सन्तबहादुरको पढ्ने उमेर अर्काको मल बोकेरै बित्यो। उनका लागि ‘कालो अक्षर भैंसी बराबर’ छ। त्यसैकारण अहिलेको युगमा पनि उनको हातमा मोबाइल छैन। भन्छन्, ‘मोबाइलको नम्बर नै थिच्न आउँदैन।’

यसैकारण सन्तानमा अरूले नपढे पनि दुई छोरी (साइँली र कान्छी) ले पढेकामा उनी औधी खुसी छन्। तिनै छोरीलाई जागिर लगाइदेलान् कि भन्ने ठूलो आशाले उनले जीवनमा पहिलोपटक एमालेलाई भोट दिएका छन्। यसअघि उनले कांग्रेसमा मात्र भोट हाल्दै आएका थिए। स्थानीय तहको चुनावसम्म पनि उनले कांग्रेसलाई नै भोट दिएका थिए।

केही गर्ला भन्ने विश्वासले एमालेमा भोट हालेको उनले बताए। खासगरी १२ पढेकी छोरीलाई जागिर लगाइदिन्छन् भन्ने आशाले एमालेलाई भोट दिएको उनी बताउँछन्।

नाम बताउन नसके पनि आफूले भोट हालेकै एमाले उम्मेदवारले चुनाव जितेको उनको भनाइ छ। ‘चुनावका बेला त एमाले नेताहरूले विभिन्न आश्वासन दिएका थिए। अब हेर्नु छ, उनीहरूले मेरी छोरीलाई कुनै जागिरको व्यवस्था गर्छन् कि गर्दैनन्?’
०००

आफ्ना सबै सुख–दुःख सुनाएपछि उनले खुसी हँुदै फोटोसमेत खिचे। त्यसलगत्तै उनले भने, ‘आफ्नो दुःख आफैसँग छ । सरकारले केही दिनेवाला छैन। आफूलाई गिराउने काम मात्रै हुन्छ। त्यही भएर यो कुरा पत्रिकामा नछापौं होला हजुर!’

अचम्म मान्दै मैले सोधें, ‘एक्कासि तपाईँमा यस्तो विचार किन आयो?’ उनले जवाफ दिए, ‘यही सुन्धारा टेबालमा मेरा सम्धी (छोराको ससुरा) को घर छ। बालाजुमा छोरीको घर छ। सालीहरूका घर पनि काठमाडौंमै छन्। भतिजाहरू नेता छन्।’

अनुरोध गर्दै उनले अगाडि भन्दै गए, ‘यसरी बाटामा बसेर बिजोगले काम गरेको पत्रिकामा देखे भने उनीहरूले के सोच्लान्? मलाई घृणा हुन्छ हजुर। पत्रिकामा छापिएपछि सारा दुनियाँले थाहा पाउँछन् । अनि यस्तो बाटामा बस्नेको छोरीसँग पनि के बिहे गर्नु भन्छन्। त्यही भएर यो कुरा पत्रिकामा नछापौँ। मेरो इज्जतको कुरा छ हजुर!’

अनि तपाईं यसरी जुत्ता सिलाउने काम गर्नुहुन्छ भन्ने कुरा अहिलेसम्म आफन्तहरूलाई थाहा छैन र? उनले भने, ‘काठमाडौंमा जुत्ता पसल छ भन्ने मात्र थाहा छ। तर, यसरी सडकमै बिजोग गरेर बसेको छ भन्ने थाहा छैन हजुर।’

उनको अनुरोधलाई मैले अस्वीकार गर्न सकिनँ। र, ‘ढुक्क हुनुस्, म तपाईँको इज्जत जाने काम गर्दिनँ’ भन्दै म आफ्नो बाटो लागेँ।
 ०००

पुरानो बसपार्कमा जुत्ता सिलाउने काम गर्दै आएका सर्लाहीका गगनदेव रामको सोच भने फरक रहेछ। उनी भन्छन्, ‘काम गरेर खान केको लाज? चोरी–डकैती पो गर्नु हुँदैन।’ आफ्नो कामप्रति आफूलाई कुनै हिनताबोध नभएको धारणा राख्दै उनले भने, ‘मलाई त ज्याला मजदुरी गर्नुभन्दा आफै मालिक हुन पाइने यही काम ठीक लाग्छ।’

आफ्ना दुई दाइहरूले गाउँमै साहु महाजनका खेतबारीमा काम गरेको पनि उनलाई चित्त बुझेको रहेनछ। ‘दिनभर काम गरेको जम्मा तीन सय रूपैयाँ दिन्छन्,’ उनले सुनाए, ‘किचकिच त्यस्तै हुन्छ, त्यस्तो काम गर्नुभन्दा त यही जुत्ता सिलाउने काम धेरै राम्रो छ।’
 
आफ्नो कामप्रति हिनताबोध नभए पनि सायद आफ्नो जातप्रति अझै उनी गर्व गर्न सक्ने भएका रहेनछन् सायद। सुरुमा उनले आफू चौधरी भएको बताएका थिए। सायद चमार समुदायभन्दा हेपिइन्छ भन्ने त्रासले हो कि?

म पनि तराइकै भएकाले सोधें, ‘चौधरीहरूले पनि यस्तो काम गर्छन् र?’ उनले प्रत्युत्तर दिए, ‘सीप भएपछि जसले पनि गर्छ। कपाल काट्ने काम ठाकुरको हो। तर, अहिले कपाल काट्ने काम उनीहरूले मात्र गर्छन् त?’

बसपार्कमा लाइन लागेका बसहरू देखाउँदै उनले भने, ‘ल हेर्नुस्, यो गाडी कुन जातले बनाउँछ? अनि यो गाडी कुन जातकाले चलाउँछ होला ? त्यो गाडीमा को होला? उ त्यो गाडीमा कुन जातको ड्राइभर होला, भन्नुस् त! लुगा सिलाउने काम कसको हो? अहिले लुगा सिलाउने काम कुन–कुन जातले गर्छन्?’ उनले आफ्नो भनाई पुष्टि गर्ने प्रयास गर्दै भने, ‘हो, यो (चौधरीले जुत्ता सिलाउने) काम पनि यस्तै हो।’ उनको भाषण सुनेर म त वाल्ल!

तर, वास्तवमा उनी चौधरी भने होइन रहेछन्। अन्तिममा उनकै मुखबाट खुस्काएँ। सुरुमा किन ढाँट्नु भएको? उनले हास्दै भने, ‘ढाँटेको होइन हजुर, यहाँ राम (उनको थर) भन्दा कसैले बुझ्दैन। त्यही भएर म सबैसँग आफूलाई चौधरी नै भन्ने गर्छु।’ यसबारे उनले थप कुरा गरेनन्।
०००

उनले काठमाडौंका सडकमा बसेर जुत्ता सिलाउन थालेको २५ वर्ष बितिसकेको छ। उनले आफ्नो ओंठ देखाउँदै भने, ‘सुरुमा काठमाडौं छिर्दा भर्खर मोज (जुँगा) आएको थियो, अहिले ४६÷४७ वर्षको भइसकेँ।’ उनले पहिले दुई रूपैयाँमा खाने फिका चियाको मूल्य अहिले १० रूपैयाँ पुगिसकेको छ। उनी यही काठमाडौंमा महिनाको जम्मा पाँच सय रूपैयाँ भाडामा फ्यान, पलङ भएको कोठामा सुतेका छन्। ‘तर, अहिले त यस्तो कोठा सात÷आठ हजारमा पनि पाउँदैन हजुर,’ उनले विगत सम्झिँदै भने, ‘पहिले काठमाडौं कति खुला थियो, अहिले त घरैघर, मान्छे नै मान्छे, धेरै परिवर्तन भइसक्यो।’

काठमाडौं त परिवर्तन भयो। तर, तपाईंको जीवन काठमाडौंले परिवर्तन ग-यो कि गरेन त? हास्दै भन्छन्, ‘जीवन त केही परिवर्तन भएको छैन हजुर, उही जहान परिवार पाल्ने काम भइरहेको छ त्यत्ति हो।’

तर, उनले यसो भने पनि काठमाडौंमा जुत्ता सिलाएकै कमाइबाट उनी गृह जिल्ला सर्लाहीमा घरघडेरी जोड्न सफल भएका रहेछन्। उनको घर सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १५ मा हो। अहिले त्यहाँ उनको सवा दुई कठ्ठा जमिन छ। त्यो आफ्नो कमाइ र घरमा श्रीमतीले पशुपक्षी पालेर जम्मा भएको आम्दानी मिलाएर त्यति जग्गा जोड्न सफल भएको उनले बताए।

‘बुबाको जमिन जम्मा १० धुर मात्र थियो। हामी चार भाइलाई बाँड्दा भागमा जम्मा सवा दुई धुर परेको थियो,’ उनी सुनाउँछन्। पहिले बुबासँग १०/१२ कठ्ठा जमिन भएको तर छोराछोरीको विवाह गर्दा महाजनबाट चर्काे ब्याजमा लिएको ऋण तिर्न नसक्दा बेच्नु परेको गगनदेव बताउँछन्।  

सुरुमा छोराछोरी नभएको, आफू र श्रीमती मात्र भएकाले कमाई बचत भएको र जग्गा जोड्न सफल भएको उनको भनाइ छ। उनले आजभन्दा आठ/दश वर्ष अगाडि यो जग्गा जोडेका हुन्।  
०००

२५ वर्षको अवधिमा उनले काठमाडौंका धेरै ठाउँ चहारिसकेका छन्। चाबहिल, गौशाला, बानेश्वर, कोटेश्वर, ग्वार्काे, लगनलेख, जावलाखेल अनि अहिले रत्नपार्क अर्थात् बसपार्क। पहिलेको पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बन्ने भएपछि वीर अस्पताल अगाडि खुलामञ्चमा सारिएको बसपार्कमा उनी बस्न थालेका हुन्। पुरानो बसपार्क सरेको जति भयो त्यत्ति नै भयो, उनी पनि यहाँ बसेर जुत्ता सिलाउन थालेको।

‘करिब तीन वर्ष पुग्न लाग्यो होला,’ उनी भन्छन्, ‘सुरुमा त म एक्लै थिएँ, अहिले हामी तीन जना भइसक्यौं।’ नगरपालिकाले लखेट्ने नै यो पेसाको प्रमुख समस्या भएको उनको गुनासो छ।

उनको कोठा थापाथलीमा छ। उनी काम गर्ने ठाउँसम्म दैनिक हिँडेर आउने–जाने गर्छन्। हास्दै भन्छन्, ‘गाडीमा जाउँ भने जाममा परेर आधा घण्टा लाग्छ। हिँडेर गयो भने १५ मिनेटमै पुग्छु। भाडाको पनि बचत।’

उनी बिहान सात बजेदेखि साँझ सात बजेसम्म जुत्ता सिलाउन बसपार्कमा बस्छन्। कान्छो छोराले कोठाबाट काम गरेकै ठाउँमा खाना ल्याइदिन्छन्। दिनमा पाँच सयदेखि १२ सय रूपैयाँसम्म आम्दानी हुने गरेको गगनदेव बताउँछन्। थरिथरिका ग्राहक हुन्छन्।

‘कोही १० रूपैयाँको काम गर्दा खुसी भएर १५/२० रूपैयाँ दिने खालका पनि छन् त कोही १० रूपैयाँ दिन पनि किचकिच गर्छन्,’ उनी सुनाउँछन्, ‘थरिथरिका मान्छे आउँछन् हजुर, कोही थर्काउने त कोही माया गर्ने।’

कोठा भाडा, खाना खर्च कटाएर मासिक १५/१६ हजार रूपैयाँ घरमा पठाउने गरेको गगनदेव बताउँछन्। घरमा श्रीमती, जेठो छोरो, बुहारी र कान्छी छोरी बस्छन्। श्रीमतीले गाईभैंसी, बाख्रा र कुखुरा पालेकी छन् । जेठो छोरोले भने खासै कमाइ नगर्नेे गगनदेव गुनासो गर्छन्।

‘छोरोले जति पढ्छ, त्यति पढाउँछु’

कान्छो छोरोलाई उनले एक वर्षदेखि पढाउन आफूसँगै काठमाडौंमा राखेका छन् । जेठो छोरोले ९ पढेर छाडेकाले कान्छो छोरोलाई राम्रोसँग पढाउन उनले काठमाडौं ल्याएका हुन्। उनको कान्छो छोरो सुवोधकुमार राम अहिले दरबार हाइस्कुलमा कक्षा ६ मा पढ्छन्। ‘गाउँमा ८ मा पढ्थ्यो, यहाँको स्कुलले दुई कक्षा घटाएर ६ मा भर्ना लियो,’ गगनदेवले भने, ‘उहाँ (सर्लाही) र यहाँ (काठमाडौं) को पढाइ त फरक परिहाल्छ नी!’ अब उनको एउटै उद्देश्य छ– कान्छो छोरोले जति पढ्छ, उति पढाउने।

‘अब म आफ्नो कमाइबाट घरजग्गा केही जोड्ने पक्षमा छैन। यही छोराको पढाइमा लगानी गर्छु,’ उनले भने, ‘यो मेरो कुरा हो, अब पढ्ने नपढ्ने त छोराको कुरा हो।’ पढाउने मन हुँदाहुँदै जेठो छोरोले बीचैमा पढाइ छाडेकामा उनलाई दुःख लागेको रहेछ। भन्छन्, ‘मेरो काम जसरी हुन्छ, पढाउने हो तर छोरा नै पढ्दैन भने मेरो के लाग्छ र! कुटेर हँुदैन, मार्न मिलेन।’

तर, उनी कान्छो छोरोले पढाइमा ध्यान दिन्छ भन्नेमा आशावादी छन्। ‘जुन विषय लिएर पढे पनि म उसलाई पढाउँछु,’ गगनदेव भन्छन्, ‘मेरो कमाइले पुगेन भने एक कठ्ठा जग्गा बेचेर भए पनि पढाउँछुु।’
०००

गगनदेवकै लाइनमा जुत्ता सिलाउन बसेका छन्, एकजना कालो वर्णका व्यक्ति। झट्ट हेर्दा मधेशी मूलकै मान्छेजस्ता देखिन्छन्। तर, होइनन्।
‘दिनमा कति कमाइ हुन्छ त दाइ?’
‘खाने बाटो मात्रै हो।’
‘तपाईंको नाम के हो त दाइ?’
‘राजेश।’
‘राजेश के त?’
‘यही काम (जुत्ता सिलाउने) गर्ने!’
‘भनेपछि सार्की समुदायको?’
‘हो।’
‘थर के त?’
‘सुर्खेती।’

उनको घर भक्तपुरको साँगा नगरपालिका वडा नम्बर ५ मा छ। उनका सबै छोराछोरी हुर्किसकेका छन्।

श्रीमती बितेको धेरै वर्ष भइसकेको उनले बताए। त्यसैले जुत्ता सिलाएको कमाइ कसैलाई दिनु नपर्ने उनको भनाइ छ।

‘मेरो खर्च पुगेन भने उल्टै घरबाट पठाउँछन्,’ उनले भने। डेरा कहाँ हो भन्ने मेरो प्रश्नमा उनले भने, ‘कहिले लजतिर गइन्छ, कहिले साथीहरूकोमा बसिन्छ। अलि बढी खाको बेला सडकमै पनि सुतिन्छ।’

सुर्खेतीका अनुसार बच्चा पाउने क्रममा काठामाडौंकै थापाथलीस्थित प्रसूति गृहमा १५/१६ वर्षअघि उनकी श्रीमतीको मृत्यु भएको थियो। त्यही बेलादेखि आफू बढी पिउने भएको उनले बताए।

बीचमा धेरै वर्ष छाडेर फेरि जुत्ता सिलाउने काम सुरु गरेको सुर्खेतीले बताए। ‘म यहाँ बस्न थालेको भर्खर एक महिना भयो,’ उनले भने।

घरमा कहिलेकाहीं जाने गरेको उनले बताए। ‘एक÷दुई दिन बस्दा त छोरा–बुहारीले केही भन्दैनन्। तर, धेरै दिन बस्न थालियो भने...!’ उनी खासै खुल्न चाहेनन्, ‘अब धेरै कुरा नगरौं सर!’







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad