४ वैशाख २०८१ मंगलबार
अन्य

भूमिकाको भाउ

ज्ञाननिष्ठ ज्ञवाली
‘विधागत विशिष्टताका आधारमा कृतिको संक्षिप्त मूल्यांकन सम्प्रेषणयुक्त भाषाशैली, मार्मिक एवं गहन विचारको सान्दर्भिक प्रस्तुति र कृति लेखकका महत्वपूर्ण ऐतिहासिक तथ्यहरूको समेत सूत्रात्मक जानकारी प्रस्तुत गरी लेखिएको सटीक एवं सारपूर्ण भूमिका नै उत्कृष्ट भूमिका हो’ (भूमिका सिद्वान्त, २०६३, पृ.२१)।

वि.सं.२०६१ देखि भूमिकाका सम्बन्धमा विविध प्रकारले खोज अनुसन्धान गरेपछि यस पंतिकारले २०६३ सालमा पुस्तक प्रकाशन गरेर माथिको निष्कर्ष निकालेको हो । झन्डै १४ वर्षको अन्तरालमा भूमिकाका सम्बन्धमा धेरै कामहरू भए ।

तर, यसलाई विधागत विशिष्टताका आधारमा अध्ययन अध्यापन गर्ने गराउने चासो कतैबाट पनि देखिएन।साहित्यका र साहित्येतर लाखौँ पुस्तकहरू छापिए । ती सबैमा कुनै न कुनै प्रकारका भूमिका लेखिए, लेखाइए । तर, यसको आधिकारिक वा औपचारिक अध्ययन भने फेरि पनि भएन । हुने लक्षण पनि देखिएन।

चाहे लेखक आफैले लेखोस् चाहे अरु कसैलाई लेखाओस् अथवा प्रकाशकले वा सम्पादकले प्रकाशकीय वा सम्पादकीय लेखोस् । यी सबै भूमिका नै हुन् । पाठकलाई कृति पढ्नका लागि बनाइएका ढोका हुन् । अझ भनौँ न दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक, वार्षिकजस्ता अनेक प्रकारका पत्रपत्रिकाहरूमा लेखिएका सम्पादकीय पनि एकप्रकारका भूमिका नै हुन्।

यसप्रकार भूमिकालाई साहित्यक कृतिभित्र रहने विशेष प्रकारको लेखा मात्र नमानेर जुनसुकै विषय वा क्षेत्रसँग सम्बन्धित कुनै पनि कृतिलाई महत्व प्रदान गर्नका लागि प्रयोग गरिने विशाल क्षेत्रमा विस्तार भएको विधा मान्नुपर्छ । भूमिकाले जुनसुकै विधाका कृतिलाई पनि छाताले जस्तै ओढाएर राख्न सक्ने सामाथ्र्य देखाउँछ । यसैकारण यसलाई विशाल फूलबारीको एउटै रूप मान्न सकिन्छ।

निबन्धकार डा. तारानाथ शर्माले नसुनिएका ध्वनि (२०६१) निबन्ध संग्रहको ‘भूमिकालेखन र भूमिकालेखक’ निबन्धमा पारिजातको शिरीषको फूल उपन्यासले मदन पुरस्कार प्राप्त गर्नका लागि निबन्धकार शंकर लामिछानेको भूमिकालाई कारण मानेका छन् । शर्मा लेख्छन्, ‘शंकर लामिछानेले पनि शिरीषको फूलको अति राम्रो भूमिका लेखिदिए।

साहित्यका र साहित्येतर लाखौँ पुस्तकहरू छापिए । ती सबैमा कुनै न कुनै प्रकारका भूमिका लेखिए, लेखाइए ।  तर, यसको आधिकारिक वा औपचारिक अध्ययन भने फेरि पनि भएन । हुने लक्षण पनि देखिएन।

त्यस उपन्यासमा शून्यवादको प्रतिपादन भएको छ भनेर लामिछानेले भूमिकामा विश्लेषणात्मक र विद्वतापूर्ण व्याख्या नगरिदिएका भए पारिजातलाई शिरीषको फूलले मदन पुरस्कार प्राप्त गराउन सक्ने थिएन भन्नेहरू धेरै छन्, जसभित्र म  पनि पर्छु । लेख्नेले त लेख्छ, प्रतिभा पनि प्रकट हुन्छ । तर, समयमै र उपयुक्त तरिकाले कसैले त्यसको आधिकारिक, चित्तबुझ्दो र प्रभावशाली परिचयद्वारा चर्चा गरिदिएन भने स्रष्टा र सिर्जना दुवै ओझेलमा पर्दा रहेछन् । स्रष्टा पारिजात र सिर्जना शिरीषको फूल दुवैको महत्व राख्ने काममा लामिछानेको भूमिकालाई नै जस दिनुपर्छ’ (पृ.९०)।

के त्यसो भए विधागत विशिष्टता प्राप्त गरेको वा कुनै पदीय मर्यादामा उच्च रहेको व्यक्तिसँग भूमिका लेखाइएन भने कृतिको महिमा घट्छ त ? यो प्रश्न आजका सन्दर्भमा गम्भीर रूपमा उठ्न सक्छ, उठाउनुपर्छ । कृति उत्कृष्ट भएन वा छैन भने भूमिकाको प्रशंसाले मात्र उत्कृष्ट हुन्छ भन्न सकिँदैन । मात्र के भन्न सकिन्छ भने ‘सुनमा सुगन्ध’ भनेझैँ कृति उत्कृष्ट छ भने उत्कृष्ट भूमिकाले सुगन्धको काम भने पक्कै गर्छ।

फेरि उत्कृष्ट वा कृति सुहाउँदो भूमिका लेखाउन पनि उस्तै समस्या देखिन्छ । कुनै व्यक्तिलाई कस्तो प्रकारको भूमिका कसरी लेखाउने भन्ने द्विविधा लेखकमा त हुन्छ नै । भूमिका लेखकका पनि आफ्नै समस्या देखिन्छन्।

ती साझा समस्यालाई डा. तारानाथ शर्माले नसुनिएका ध्वनि कृतिमै यसरी उजागर गरेको पाइन्छ, ‘भूमिका लेख्ने म जस्ताको भन्दा लेखाउनेहरूको संख्या बढी छ । साँच्चै भन्ने हो भने नेपाली साहित्य संसारले मलाई भूमिका लेखकका रूपमा उत्पन्न भएको जीव स्वीकार गरेको हो कि जस्तो लाग्छ । मैले भूमिका लेख्नु नपरेको कुनै महिना हुँदैन, कहिले त दिनको एउटा लेख्नुपर्ने हुन्छ । म पनि पेट भएको प्राणी हुँ, मैले पनि परिवार पाल्नुपर्छ।

तर, भूमिका लेखाउन झुम्मिने स्रष्टाहरू मेरा समस्या कुनै देख्दैनन् । उनीहरू मलाई यन्त्र मानवका रूपमा ग्रहण गर्न रूचाउँछन् । र, विनाज्याला शोषण गर्छन् । आजसम्म सयौ भूमिकाहरू मैले लेखिदिएको छु । तर, पारिश्रमिक भने दुई जनाले भन्दा बढीले कहिल्यै दिएका वा दिने विचार गरेका छैनन् । बरु अवधि तोकेर यस समयभित्र तिमीले भूमिका लेखेर दिनैपर्छ भन्ने तिनको कठोर आग्रह हुन्छ र त्यस समयमा मैले खप्की खानुपर्ने हुन्छ’ (पृ.९०)।

नेपाली साहित्यमा मोतीराम भट्टद्वारा भानुभक्तकृत भाषा रामायण (१९४४) कृतिमा लेखिएको गद्य–पद्य मिश्रित भूमिकालाई पहिलो मानिएको छ । यसै विन्दुबाट प्रारम्भ भएको भूमिका लेखनको परम्परामा हालसम्म कैयौँ भूमिका लेखिएका छन् । तिनको केही संकलन भएको छ । र, संकलन हुने क्रम हाल बढिरहेको छ । नेपाली साहित्यमा मात्र नभएर अंग्रेजी साहित्यमा प्रिफेस शब्द बढी चलेको पाइन्छ । अन्य भाषामा पनि भूमिकाको महत्वपूर्ण भूमिका देखिन्छ।

हिन्दी साहित्यका अध्येता डा. हरिमोहनले साहित्यक विधाएँ : पुनर्विचार (सन् १९९७) कृतिमा भूमिकाको स्वरूप र विशेषताबारे चर्चा गर्ने क्रममा लेखेका छन्, ‘भूमिका एक साहित्यक विधामा रचिएको कथेतर गद्य रूप हो, जसले कुनै कृतिको प्रस्तावना, त्यसको महत्व, उद्देश्य आदिमा प्रकाश पार्छ अनि भूमिका लेखकको विचारधारा, मान्यता, दृष्टिकोण आदि समेत प्रस्तुत हुन्छ।

यसमा कृतज्ञता ज्ञापन, पहिलेको काम, मौलिकता, आशीर्वाद र मंगल कामना पनि प्रस्तुत गरिन्छ’ (पृ.३१०) ।यसरी विविध किसिमले भूमिकाका सम्बन्धमा चर्चा परिचर्चा भए पनि यसको सैद्वान्तिक अध्ययन भएको पाइँदैन । केही नेपाली विद्वान्हरूले पनि यसलाई आ–आफ्नै ढंगले परिभाषित गरेका छन्।

हरेक ठाउँमा हरप्रकारले नभई नहुने, सबैले प्रयोग गर्ने भूमिकाको आफ्नै महŒव र भाउ छ । साहित्यका कथा, कविता, (फुटकर, खण्डकाव्य, महाकाव्य) उपन्यास, निबन्ध, अझ भनौँ हाइकु, तान्का, गीत, गजल, जीवनी लगायतका कृतिहरू प्रकाशित छन् । ती सबैमा कुनै न कुनै प्रकारका भूमिकाको भूमिका देखिन्छ । सबै विधालाई चाहिने भूमिका अग्रस्थानमा आसन जमाएको देखिए पनि यसको अध्ययन नहुनु र यसलाई कुनै विधाभित्र नपारिनु अनौठो नै मान्नुपर्छ।

अहिलेका भूमिकाहरू कवितात्मक छन् । भूमिका लेखकहरू निबन्धात्मक (आत्मपरक) प्रस्तुतिका भूमिका पनि लेख्छन्, लेखेका छन् । कुनै भूमिकामा कथाका अंश राखिएका पाइन्छन् । कुनै भूमिका समालोचनात्मक गुणले भरिएका पाइन्छन् । कुनै भूमिकामा प्रशंसा नै प्रशंसा गरिएको पाइन्छ । कति भूमिका त कृतिभन्दा लामा पनि छन् । कति भूमिका पुस्तक व्यवसायका निम्ति पनि लेखिएका छन् । जे होस, भूमिका विविध रूप रङका छन् । भूमिका जहाँ जहिले जुन रूपमा जुन कृतिमा पनि कुनै न कुनै रूपमा रहने भएकाले यसको सामाथ्र्यलाई कम आक्न मिल्दैन।

मूलतः अहिलेका भूमिकाहरूको अध्ययन गर्दा भन्न सकिने कुराहरू यी हुन् । साहित्यिक कृितहरूमा भूमिका लेख्दा निकै विचार पु¥याउनपर्ने देखिन्छ । भूमिका मूलकृतिको समालोचना नभएर पाठकलाई कृति पढ्न उत्साह जगाउने खालको हुनुपर्छ । यो गद्य–पद्य दुवै भाषामा हुनु सक्छ । भूमिकाले पाठक र रचनाकारलाई दुःख पाउने अवस्था सिर्जना गराउनु हुँदैन।

भूमिकामा आवश्यक प्रशंसा, कृति लेखकका सकारात्मक पक्ष प्रस्तुत गरी दुर्बल पक्षलाई हटाउन शिष्ट शैलीमा सल्लाह दिनु राम्रो हुन्छ । कृति लेखकले सकेसम्म पाण्डुलिपि माथि नै अन्तरक्रिया गरेर आफूलाई राम्रा लागेका सल्लाह सुझावमा परिमार्जन गरी पुनः भूमिका लेखाएर पनि कृति प्रकाशन गर्न सक्छ।

भूमिकामा कडा आलोचना नभई सरल, संक्षिप्त र कृतिप्रति पाठकीय जिज्ञासा जगाउने विचार भएमा राम्रो मानिन्छ । अनावश्यक गन्थन र कुराको पोको प्रस्तुत गरेर भूमिका लेख्दा पाठकलाई कृतिभित्र पस्न झन्झट लाग्ने सम्भावना रहन्छ।

वि.सं. २०७३ मा प्रकाशित हास्यव्यंग्य निबन्धका सशक्त स्रष्टा नरेन्द्रराज पौडेलको विमोचनको बिगबिगी कृतिमा मन्तव्य, प्रकाशकीय र मेरो भन्नु गरी तीन प्रकारका भूमिका देखिन्छन् । २०७३ सालमा प्रकाशित कवि सुनील पुरीको शहरको समाचार कविता संग्रहको अग्रभागमा दुई शब्द शीर्षकअन्तर्गत सत्यमोहन जोशी, कृष्णचन्द्रसिंह प्रधान, तुलसी दिवस, मञ्जुलका भनाइहरू भूमिकाका रूपमा छन् । त्यसपछि डा. महेश्वर भारतीको प्रकाशकीय भूमिका रहेको छ । कृतिको अन्त्य भागमा डा. बेन्जु शर्मा, डा. बलदेव शर्मा अधिकारी र व्याकुल माइलाका भनाइहरू भूमिकाका निम्ति आएका छन् ।

यस कृतिमा लेखकीय भूमिका भने राखिएको छैन ।वि.सं. २०७४ मा प्रकाशित कवि डिल्लीराज अर्यालको रहर खण्डकाव्यले पुरस्कार प्राप्त गरेको छ । यस कृतिमा लेखकको मात्र भूमिका छ । ‘मेरो आफ्नो भनाइ’शीर्षकको भूमिकामा लेखकले आफूले यो खण्डकाव्य लेखनको रचनागर्भलाई भूमिकामा प्रस्तुत गरेका छन् । यसमा उनले भानुभक्तको रामायण लेखनाथको तरुणतपसी महाकाव्यका पद्यांश र आफ्नै खण्डकाव्यको पद्यलाई भूमिकामा समेत सान्दिर्भिक रूपमा उल्लेख गरेका छन् । यस कृतिले पुरस्कार–सम्मान पाउँदा भूमिका हेरेर मात्र दिइएको भन्ने चाहिँ होइन।


२०७४ कात्तिकमा प्रकाशित डा. हेमनाथ घिमिरेको देशको माटो कविता संग्रहमा आशीर्वादात्मक, समीक्षात्मक र स्रष्टा परिचयात्मक तथा लेखकीय भूमिका गरी चार रूपका भूमिकाहरू प्रस्तुत भएका छन्। 

वि.सं. २०७४ फागुनमा प्रकाशित डा. अशोक थापाको किताबै किताब, पुस्तक समीक्षा सिद्वान्त र प्रयोग नेपाली साहित्यको इतिहासमै सर्वथा नौलो खालको कृति हो । यसमा लेखकीय भूमिकामात्र रहेको छ । यसमा लेखनले कृति लेखनदेखि प्रकाशनसम्मको यात्रालाई दुई पृष्ठमा खँदिलो पाराले प्रस्तुत गरेको पाइन्छ।

यसैगरी २०७४ सालमै प्रकाशित शान्ता शाक्यको समीक्षाको परिवृत्तमा नेपाली उपन्यास, तीर्थ ब. श्रमिकको आमा, रुद्र अधिकारीको समयको घाउ, दिलीप योन्जनको अमर, रत्नप्रसाद अनमणिको अनामणिका भूमिकाहरू जस्ता कृतिहरूमा डा. शैलेन्दुप्रकाश नेपालका समीक्षात्मक एवं परिचयात्मक भूमिकाहरू रहेका पाइन्छन्।

त्यस्तै वि.सं. २०७४ चैतमा प्रकाशित कवि शिवगोपाल रिसालको फर्केर आएँ आत्मवृत्तात्मक आध्यात्मिक खण्डकाव्यमा ‘यो पनि इतिहास हो’ शीर्षकको लेखककै मात्र भूमिका रहेको छ । यसमा लेखकले कृतिभित्रको विषयवस्तुलाई दुई पृष्ठको भूमिकामा प्रकाश पारेका छन्।

जीवनमा घटित तीनपटकका प्रलयकारी घटनालाई खण्डकाव्यको विषय बनाइएको भन्ने संकेत यस भूमिकामा पाइन्छ । यसका साथै कविता, काव्य वा साहित्यभित्र अध्यात्म हुनुपर्ने भन्ने काव्यकारको मान्यता पनि भूमिकामै आएकाले कृति आध्यात्मिक रहेछ भन्ने कुरा पाठकलाई जानकारी हुन्छ।

यसरी हेर्दा हरेक प्रकारले अनेक क्षेत्रमा जेजस्तो रूपबाट पनि अट्न सक्ने भूमिकालाई नेपाल साहित्यको मात्र नभएर सबै पक्ष र क्षेत्रको शक्तिशाली विधाका रूपमा प्रमाणित गर्न सकिन्छ। यस्तो अपरिहार्य, अत्याज्य निकै भाउ भएको विधाका रूपमा रहेको भूमिकाको व्यापक अध्ययन–अनुसन्धान गरी एक विशिष्ट विधाका रूपमा स्थापित गराउनु आधिकारिक निकायको कर्तव्य देखिएको छ ।
 

प्रकाशित: २४ चैत्र २०७४ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App